पतायाको समुन्द्र किनारमा रोमान्टिक आयुष्मान र शिल्पा

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । चलचित्र सानो मनको टोली यतिबेला थाईल्यान्डको राजधानी बैंककमा छ । सो चलचित्रको शिर्ष गीत सहित केही दृष्यको अहिले त्यहाँ छायांकन भइरहेको छ । यो चलचित्रको युनिट यसै साता त्यहाँ गएको हो । चलचित्रको शिर्ष गीत सानो मनको आधा भन्दा बढी थाईल्याण्डको पताया र आसपासमा छायाँकन सम्पन्न गरेको यसका निर्माता राजेन्द्र मानन्धरले जानकारी गराएका छन् । पतायाको समुन्द्र किनारमा रोमान्टिक गीतको छायांकन गरिएको छ । गीतमा चलचित्र अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन् ।

यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । हालै मात्र छायांकन स्थलबाट निर्माण पक्ष केही तस्बिरहरु पठाएका छन् । रोहितजोन क्षत्रीको स्वर रहेको यो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।

पतायाको छायाँकन सकेर सानो मन युनिट यतीबेला बैंकक पुगेको छ । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायांकन सुरु गरिएको पनि निर्माता मानन्धरले जानकारी गराए । गीतको बाँकी छायांकन पछि फिल्मका थप दृष्यहरु छायांकन गरेर आफुहरु १५ जेठमा काठमाडौं फर्कने पनि निर्माता मानन्धरले जानकारी गराए ।

यो चलचित्रको छायांकन आलोक शुक्लले गरिरहेका छन् । बर्मेली नेपालीहरुको सहयोगमा आफुहरुले त्यहाँ चलचित्रको छायाँकन गर्न सफल भएको पनि निर्माता मानन्धरले बताए ।

निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाईरहेको छन् ।  यो चलचित्रमा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेण्ट र हाईटेक इन्टरटेन्मेण्टको ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरुमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजिब श्रेष्ठ र रमेश कुमार मित्तल रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु