
काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनीविरुद्ध दुव्र्यवहारको उजूरी परेको र साइबर अपराधमा समेत छानविन भइरहेकाले पक्राउको तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरी स्रोतका अनुसार राउतलाई सोधपुछका लागि चाँडै नै नियन्त्रणमा लिइनेछ । बिहिबार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको चेकजाँचका क्रममा महिला प्रहरीसँग विवादपछि राउतले फेसबुक लाइभमार्फत् प्रहरीको आलोचना गर्दै आक्रोश पोखेकी थिइन् । प्रहरीविरुद्ध गाली गरेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि एयरपोर्टमा भएको सिसिटीभी फुटेज बाहिर ल्याएको थियो ।
घटनापछि राउतको पक्ष विपक्षमा प्रतिक्रियाहरु आएका थिए । आफूमाथि राउतले दुव्र्यवहार गरेको भन्दै चेकजाँचका क्रममा रहेकी महिला प्रहरी रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी छिन् । यसबारे अनुसन्धान भएपछि राउतलाई नियन्त्रणमा लिने तयारी भइसकेको छ ।
प्रहरीले ‘तँ’ भनेपछि आस्था राउत आक्रोशित (भिडियो सहित)
राउतमाथि साइबर अपराधको समेत मुद्दा चल्न सक्छ । फेसबुकमा उनले पोष्ट गरेको भिडियो पछि हटाएपनि सुरक्षित भई बाहिर पुगिसकेको छ । भिडियोमा उनले निकै आक्रोशित भई प्रहरीलाई गालीगलौज गरेकी थिइन् ।
त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको चेकजाँचमा ज्याकेट खोल्न भनी सुरक्षाकर्मीले आग्रह गर्दा गायिका आस्था राउतको विवाद भएको थियो ।