• एभरेष्ट सुर्य बोहोराले चलचित्र ‘बा’ बनाउने

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

    काठमाडौं । केही अगाडि ‘भैरे’ फिल्म प्रदर्शनमा ल्याएका एभरेष्ट सूर्य बोहोराले अब भने चलचित्र ‘बा’ बनाउने भएका छन् । कुशे औसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर बोहोराले चलचित्र विकास बोर्डमा ‘बा’ नामको चलचित्र दर्ता गरेका छन् ।

    कोरोनाको प्रभाव कम भएपछि आउदो मंसिरबाट छायाँकन थालिने यस चलचित्रमा बाबुको संघर्ष, त्याग, बलिदान र सम्पर्णका विषय कथाको रुपमा समेटिनेछ । कोरोनाका कारण देश लकडाउनमा रहे तापनि निर्देशक बोहोरा भने निरन्तर सृजनशील कार्य र पीडितहरुको सेवामा जुटिरहेका छन् । त्यसकै फलस्वरुप उनले ‘बा’ को कन्सेप्ट तयार पारेका हुन् ।

    निर्देशक कै ब्यानर एभरेष्ट सूर्य बोहोरा फिल्मस्को ब्यानरमा निर्माण हुने ‘बा’को प्रदर्शन भने अर्को वर्षको कुशे औसी अर्थात बाबुको मुख हेर्ने दिन लक्षित गरिएको छ । पटकथा सहलेखनमा निर्देशक बोहोरालाई अभिमन्यु निरवीले साथ दिएका छन् । लम्जुङ र मनाङका विभिन्न स्थानमा छायाँकन हुने फिल्मका कलाकारको छनौट कार्य भइरहेको निर्देशक बोहोराले जानकारी दिए ।

    ‘आमालाई धर्ती मान्नेले बाबुलाई कहिल्यै आकाश मानेनन्’, निर्देशक बोहोरा भन्छन्, ‘वर्षौदेखि मलाई यो कुराले झक्झक्याइ रहेको छ । त्यसैले बाबुको योगदान र महत्व फिल्ममा दर्शाउन खोजेको छु ।’ उनले आफ्नो फिल्म आफ्ना बा र संसारभरिका बाप्रति समर्पित हुने बताए ।

    बोहोरा निर्देशित पछिल्लो फिल्म ‘हेलो जिन्दगी’ को हाल लण्डनको क्रियटिभ फाइभ र नेपालको सिनेजोन स्टुडियोमा पोस्ट प्रोडक्सन कार्य अन्तिम चरणमा पुगेको छ । निर्देशक बोहोरा अन्तर्राष्ट्रिय उडान खुल्नासाथ यो फिल्मको बाँकी दुई गीत छायाङ्कनका लागि टोलीसहित लण्डन उड्ने योजनामा छन् । ‘बा’ को सुटिङअघि नै हेलो जिन्दगी’ लाई अन्तरर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य उनको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु