• ‘बहाव’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

    म्यूजिक खबर
    प्रकाशित: २३ चैत्र २०७९, बिहीबार

    काठमाडौं । भोली शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् ।

    एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए । ‘फिल्मको विषयवस्तु नयाँ छ । नेपाली दर्शकका लागि यसले फरक स्वाद दिनेछ । फिल्मले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ’, उनले भने ।

    पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे । ‘यस्तो फिल्मले समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ । फिल्मले समाजको वास्तविक कथा बोलेको छ’, उनले भने ।

    निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका फिल्म भन्दा फरक शैलीमा बनेको जनाए । उनले आफूले जापानी फिल्म हेरेको अनुभव गरेको खुलाए । ‘फिल्म हेरिरहँदा जापानी फिल्म हेरेको अनुभव गरें । कथावस्तु फरक भएकाले पनि मलाई हेर्न मजा लाग्या’, उनले भने ।

    कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताए । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गरे । अर्का कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मनपरेको बताए ।

    अभिनेत्री लुनिभा तुलाधरले फिल्मले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन् । उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ फिल्म बन्नुपर्ने सुझाव दिइन् ।

    फिल्मका अभिनेता कमलमणि नेपालले फिल्ममा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताए । कोरोना महामारीको समयमा काम गरे पनि राम्रो सिर्जना दर्शकमाझ ल्याएको जनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु