• ‘निलम्बित भएको खबर ग्रुप म्यासेजमा देखें, कोट र आइडी फिर्ता ल्याउनुस् भनियो’

    म्यूजिक खबर
    प्रकाशित: १८ जेष्ठ २०८१, शुक्रबार

    –सबिता पोखरेल
    काठमाडौं । यतिबेला गायक बालचन्द्र बराल उनी सदस्य रहेको संस्था ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ बाट निलम्बन भएको खबरले सांगीतिक क्षेत्र तरंगित भएको छ । सामाजिक सञ्जालमा पनि यो विषयले राम्रै स्थान पाएको छ । नैतिक बैचारिक मात्रै नभई राजनीति दृष्टीकोणले समेत यो विषयमा छलफल भइरहेको छ । कुरो गृह मन्त्रालय सम्म पुगेको छ । सामाजिक सञ्जाल र यूट्यूब कमेन्टमा भने यो विषयमा प्रतिक्रियाहरु पक्ष र विपक्षमा उतिकै रुपमा विभक्त भएका छन् । गायक बरालको निलम्बनको खबरलाई मेन स्ट्रिमका मिडियामा समेत प्राथमिकता सहित समाचार सम्प्रेषण भइरहेका छन् । भिडियो कन्टेन्ट बनाउनेहरुले पनि प्रतिष्ठानको बोलीलाई जनस्तरमा पु¥याएका छन् ।

    यहि प्रसंगमा म्यूजिक खबरसँग गायक बालचन्द्र बरालको प्रतिक्रिया यस्तो छ : 

    “म आवद्ध रहेको गौरबशाली संस्था ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ बाट अचानक मेरो नाम रहेको ‘निलम्बनको पत्र’ ग्रुप म्यासेन्जरमा आयो । यो खबरले म दुःखी छु । निलम्बन हुनु कसैलाई पनि राम्रो होइन । चित्त बुझाउन सकेको छैन । चित्त बुझाउने ठाउँ पनि भेट्दिन । किन चित्त बुझाउन सकेको छैन भन्ने विषयमा सरसर्ती यहाँ केहि कुराहरु उल्लेख गर्दछु ।

    मैंले करिब २१ दिन अघि ‘भाइरल बिराज र बालचन्द्रको ¥याप दोहोरी ब्याटल, मिना बेहोश’ शीर्षक राखेर युट्युबमा भिडियो अपलोड गरें । लगभग दुई हप्तासम्म त्यो भिडियोले राम्रो मात्रै प्रतिक्रिया पायो भन्दा पनि हुन्छ । तपाईंले अहिले पनि युट्युबको कमेन्टमा ति प्रतिक्रिया हेर्न सक्नु हुन्छ । केहि नराम्रा प्रतिक्रिया देख्नुभयो भने अहिले निलम्बनको खबर पछि आएका प्रतिक्रिया हुन् ती । त्यतिन्जेल ‘लोकदोहोरी प्रतिष्ठान’ले कुनै प्रतिक्रिया दिएन । गलत भएको भए त्यतिबेलै मलाई कसी लाउनु पर्ने होइन र ? कारबाही गर्नु पर्ने होइन र ? संगीत पारखीले ‘फरक शैली र फरक स्वाद’ लाई रुचाएको महशुष गरें । अनि दोस्रो भाग गर्ने जोश आयो । १३ दिनअघि दोस्रो भाग पनि गरें । ‘बिराज र बालचन्द्र भाग २ बिराज र शंकर मिलेर बालेलाई कुटे’ शीर्षक राखिएको उक्त भिडियोलाई पनि उस्तै माया पाएको महशुष गरें ।

    होला, संस्थागत रुपले मैंले गल्ती गरें होला । संगीत पारखीका लागि र व्यक्तिगत रुपमा मैंले गल्ती गरे जस्तो लाग्दैन । संस्थागत रुपमा गल्ती भए एउटा गल्ती गर्दैमा मेरो गल्ती औंल्याइदिनु पर्ने थियो । त्यस्तो केहि भएन । दोहोरीमा बिकृती अरुले भित्र्याए, आपत्तीजनक प्रस्तुति दिए, त्यसमा प्रस्तुति अनुसारकै प्रतिक्रिया पनि त्यस्तै छन् । त्यसैले मलाई लाग्छ ‘जनता जनार्दन’ भनेको यहि होला । राम्रो नराम्रो छुट्याउने काम सुन्ने जोकोहिले गर्न सक्छन् । त्यो आम दर्शक श्रोताबाट भइरहेको छ । अरुले गरेको गल्ती गरेपछि बहश हुन पुग्यो । दबाबले हुनुपर्छ प्रतिष्ठानले त्यसको सजाय मलाई दियो ।

    यहि समयमा, लोकदोहोरीमा बिकृती भित्र्याउने अरु भिडियो अपलोड भए । शब्दमा विप लगाइएका, असुहाउँदो ‘ड्रेसअप’ भएका ती भिडियो हेर्दा मलाई पनि पाच्य हुँदैन । लोकदोहोरीमा भित्रिएको यहि बिकृतीका विषयमा संस्थागत बहश भयो । बहशपछि नै हुनुपर्छ– ४ दिन अघि संस्थाका महासचिव शिव हमालको मलाई ‘कल मी’ भन्ने म्यासेज आयो । मैंले उहाँलाई कल गरें । उहाँले अध्यक्षज्यू रिसाउनु भाको छ । उहाँलाई फोन गर भन्नु भयो । अरु केहि भन्नु भएन । मैंले अध्यक्ष रिता थापाज्यूलाई फोन गरें । शिव दाईले भनेर फोन गरेको, हजुर मसँग रिसाउनु भाको छरे भनें । उहाँले तपाईंको विषयमा त कुरै भएको छैन भन्नु भयो । आपत्तीजनक प्रस्तुति दिएका अन्य व्यक्तित्वको विषयमा कुरा भएको हो, भन्नु भयो । अनि संस्था भित्रै दोहोरो चरित्र निर्वाह गरिंदो रहेछ भन्ने महशुष पनि भयो । समस्या नै हो भने सुल्झाउने तिर लाग्नु भन्दा कसरी उल्झाउने भन्ने तिर संस्थाका व्यक्तित्वहरु लागेको हो कि भन्ने लागेको छ ।

    केहि दिन अघि, संस्थाको मिटिङ बसेछ । मलाई स्पष्टीकरण मागियो । स्पष्टीकरण दिन भनेर अफिस गएँ । अफिस बन्द रहेछ । त्यहिंबाट शिब हमाल दाईलाई फोन गरें । सिसी क्यामेरामा म गएको कैद भएको होला, हेर्न सकिन्छ । शिब दाईले अफिसमै बसेर कुरा गरौंला भन्नु भयो । बीचमा कुनै समन्वय भएन । यो दोष मेरो मात्र होइन होला भन्ने लाग्छ ।

    अचानक हिजो १ बजे तिर ग्रुपमा म्यासेज आयो – निलम्बन भएको । ‘कोट र आइडी’ अफिसमा ल्याएर छाड्नु भन्ने म्यासेज पनि आएको छ । अर्को कुरा युट्युबमा गाउँदा मेरो ‘हाँसो’लाई पनि नराम्रो भनेर छलफलको विषय बनाइन्छ । तर हाँस्ने शैली आ–आफ्नो हुन्छ । फेरि विषय अनुसार रुन पाइन्छ भने हाँस्न पनि त पाइएला भनेर यो आरोपको पनि खण्डन गर्दछु ।

    मलाई थाहा छ – बिकृतीले लोकदोहोरी उधों गतीमा हिंड्छ । तर मेरा प्रसंगमा मैले दौरा शुरुवाल नै लगाएको छु । सबैलाई पाच्य हुने शब्दकै प्रयोग गरेको छु । प्रस्तुतिलाई आम श्रोताले त रुचाएकै छन् । धेरैले तपाईंको गल्ती छैन, नआत्तिनुहोला भनेर फोन, म्यासेज गर्नु भएको छ । सांगीतिक क्षेत्रकै धेरै व्यक्तिले समेत मलाई गलत गरिस् भन्नु भएको छैन ।

    यति भनिरहँदा फेरि पनि भन्छु –‘संस्थागत रुपमा गल्ती गरें होला’ ! त्यसका लागि माफी माग्ने वातावरण पनि मिलाउनु पथ्र्यो । वातावरण मिलाउन म आफैंले पनि प्रयास गरेकै हुँ । अझै पनि भन्छु -संस्थाले ‘युट्युबको कन्टेन्ट हटा’ भन्छ भने त्यो हटाउन पनि तयार छु । पहिला पनि तयारै थिएँ । सबैखाले आरोप स्वीकार्दै क्षमायाचना र भूलसुधारको प्रण गर्ने थिएँ, अझै गर्ने नै छु । बाँकी त भगवानरुपी दर्शक/श्रोताले नै जान्नुहुनेछ ।”
    (गायक बालचन्द्र बरालसँगको कुराकानीमा आधारित)

    लोकदोहोरीको मर्म बिपरीत गीत गाएको आरोपमा गायक बराल प्रतिष्ठानबाट निलम्बित

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु