चिरन्जिवीलाई ‘सर्वोत्कृष्ट पप गायक’को अवार्ड

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७७, बुधबार

काठमाडौं । गायक चिरन्जिवी भण्डारीले ‘सर्वोत्कृष्ट पप गायक’ को अवार्ड चुम्न सफल भएका छन् । सातौं नेशनल क्यापिटल अवार्ड–२०७७ को आइतबार नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा भण्डारीले बदमाश गीतबाट सर्बोत्कृष्ट पप गायक’को अवार्ड प्राप्त गरेका हुन् ।

माननिय सुचना तथा सञ्चार एवं प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चिरन्जिवीले बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बरिष्ठ कलाकार उत्तम केसी, गायिका सिन्धु मल्ल र गीतकार प्रकाशबाबु थापाको हातबाट अवार्ड ग्रहण गरेका हुन् ।

यस्तै क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका बने । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने गायिका मन्जु पौडेल, गायक गणेश गुरुङ, राज सागर र प्रकाश गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु