विकासको निकास खोज्दै सर्वनाममा कलाकारहरु

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

काठमाडौं । सर्वनाम थियटरको हलभित्र प्रवेश गर्दै गर्दा नाटकका पारखीहरु रङ्गमञ्चका कलाकारतर्फ हेरिरहेका थिए । हाँस्य जगतका हस्तीहरु केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, गायक यमन श्रेष्ठ, गोरखा समाज सेवा केन्द्रका कोषाध्यक्ष विष्णु पोखरेलदेखि मिडियाकर्मी एवं रङ्गमञ्चका पारखीहरुले हलको शोभा बढाइरहेका थिए । रङ्गमञ्चको यात्रामा कलाकारहरु आफ्नो कला प्रस्तुत गरिरहेका थिए । करिब दुई घन्टाको दृश्यहरुले काल्पनिक भन्ने कुरालाई नै बिर्साइदिएको थियो । नाटक ‘विकास भर्सेस निकास’ नाटक थिएन, एउटा समाजभित्रका पात्रहरुको कथा मात्र थियो ।

मुलुकमा संक्रमणकाल होइन, विकास चाहिएको छ । विकास मात्र होइन निकास पनि चाहिएको छ । सडकमा माग्नेदेखि सदनका नेतृत्वसम्म सबैले विकासको नाममा जनतालाई अल्मल्याएको गुनासो गर्दै कलाकारहरु उत्रिएका छन् । एउटा नेपाली मुलुकले उत्पादन गरेको डाक्टर अमेरिका पुगे पनि अन्ततः काठमाडौं फेर्कर गोरखाको गाउँसम्म विकासका लागि निकास खोज्दै हिंड्दा भोगेका समाजका हरेक पाटो नाटक ‘विकास भर्सेस निकास’मा उतारिएको छ । काठमाडौं हुँदै अमेरिका र अमेरिका हुँदै गोरखाको गाउँसम्म पुग्दा विकासमा नाममा भएका अप्ठ्यारा बाटोहरुलाई हरेक दृष्टिकोणबाट निकास दिन खोजिएको सन्देशमूलक नाटक ‘विकास भर्सेस निकास’ हो भन्ने नाटकका पात्रहरुको जीवन्त अभिनय प्रमाणित गर्छ ।

काठमाडौंको डिल्लिबजार कालिकास्थानमा अवस्थित सर्वनाम थियटरमा नाटक ‘बिकास भर्सेस निकास’ मन्चन भैरहेको छ । गोरखाका रङ्गकर्मी राम बाबु रेग्मीको लेखन तथा निर्देशन रहेको नाटकमा टेलिचलचित्र भद्रगोलका ‘काकु’ दिपक आचार्यको मुख्य भूमिका रहेको छ । असार १३ गतेदेखि मन्चन सुरु गरिएको यो नाटक असार २८ गतेसम्म मन्चन हुनेछ । रङ्गकला गोरखाको प्रस्तुति रहेको नाटकको बिषयबस्तु अहिलेको नेपालको वर्तमान परिस्थितिलाइ जस्ताको तस्तै रुपमा प्रस्तुत गरिएकोले दर्शकको राम्रो प्रतिकृया पाएको निर्देशकले बताए ।

‘यो नाटक मैले रत्नपार्कमा हिड्दा देखिरहेको दृश्यदेखि गोरखाको गाउँहरुमा सडक नाटक गर्नको लागि घुमिरहदा मेरो मनमा गडेको बिषय बस्तुलाई एउटा काल्पनिक कथाको रुपमा चित्रण गर्न खोजेको हुँ’ निर्देशक रेग्मीले भने । राम बाबुका अनुसार देशको नीति नियम तथा सामाजिक सोच लाई फरक दृष्टिकोणबाट नाटकमा प्रस्तुत गरिएको छ । झट्ट सुन्दा विकासे नाटक जस्तो बिषय देखिए पनि यसको सेन्टीमेन्टको लागि आफुले यो कथा छानेको रेग्मीले बताए ।

नाटक हेरिसकेपछि हाँस्य कलाकार केदार घिमिरेले हेर्दा सहज भए पनि कठिन कथावस्तुलाई पस्किएको बताउँदै दुई घन्टाको समयलाई क्षणभरमै सकेको बताए । कथा नौलो होइन, प्रस्तुतिकरणले बाँधिदिएर नयाँपन दिइएको हो तर सामाजिक संरचनाभित्र नै कलाकारहरुले कला प्रस्तुत गरेको पाएँ, घिमिरेले भने । त्यस्तै हाँस्य कलाकार जितु नेपालले नेपालदेखि अमेरिका हुँदै गाउँसम्मको कथाले समाज परिवर्तनको कुरा होइन काम गर्नुपर्ने बताउँदै भने– ‘विदेशमा क्याटलग हेरेर ट्वाइलेट जानुपर्ने अवस्था भइसक्यो हाम्रोमा सबैभन्दा शौचालयलाई हेलाँ गरिएको पाइयो ।’

त्यस्तै गायक यमन श्रेष्ठले अमेरिकामा आफूले भोगेको जिन्दगीदेखि गाउँसम्मको यात्रामा नेपाली समाजको रुपान्तरण कहाँ छ भन्ने कुरा नाटकले पुष्टि गरेको बताए । त्यस्तै गोरखा समाज सेवा केन्द्रका कोषाध्यक्ष विष्णु पोखरेलले कथाले समाज परिवर्तनको सम्वाहक बनेर उभिएको बताए । उनले जीवन्त अभिनय गर्ने कलाकारहरुको नाटकलाई सबैले माया गरेर हेरिदिने र यसबाट समाजमा सन्देश फैलाउन सके नाटकको महत्व पुष्टि हुने बताउँदै नाटकका लागि ५० हजार सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

नाटकमा दिपक आचार्य ‘काकु’, प्रकाश कट्टेल, अजय रेग्मी, मिलन गुरुङ्ग, विक्रम माझी, गौरब सापकोटा, सन्दिप घिमिरे, उमाकान्त सापकोटा, अमृता श्रेष्ठ, सुरज के सी, ससांक उप्रेती, प्रियना आचार्य र प्रेम अर्यालको अभिनय रहेको छ । विपुल थापामगरको संगित संयोजन तथा हुम बिसीको मञ्च परिकल्पना रहेको नाटक हरेकदिन बेलुका ५ः३० बजेदेखी तथा शनिबार अतिरिक्त शो दिउसो १ बजे देखी पनि मन्चन भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु