गायिका निरा छन्त्यालको अन्तिम गीत ‘घर मेरो खोटाङको चिसापानीमा’

म्यूजिक खबर
प्रकाशित: १ माघ २०८०, सोमबार
Binod Dhakal_Nira Chhantyal

काठमाडौं । छोटो समयमा नै लोकप्रियता हासिल गरेकी गायिका निरा छन्त्याल जहाज दुर्घटनामा निधन भएको एक वर्षपछि उनको स्वरमा रेकर्ड भएको अन्तिम गीत ‘घर मेरो खोटाङको चिसापानीमा’ सार्वजनिक भएको छ । गायक विनोद ढकाल र गायिका निरा छन्त्यालको स्वरमा रहेको गीत ‘घर मेरो खोटाङको चिसापानीमा’ लाई गायक ढकालले स्वर्गीय निरा छन्त्यालप्रति समर्पण गरेको बताएका छन् । गायिका छन्त्यालको प्रथम पुण्य तिथीको अवसर पारेर यस गीतलाई बजारमा ल्याएको बताउँदै गायक ढकालले गीत रेकर्ड हुनेवित्तिकै भएको उनको निधनले भिडियो निर्माण रोकिएको हुँदा ढिलो सार्वजनिक भएको समेत बताए । नवीन योगीको शब्द सिर्जनामा रहेको गीत ‘घर मेरो खोटाङको चिसापानीमा’ लाई गायक ढकालले नै संगीत सिर्जना गरेका छन् । महेशविक्रम पाण्डेको संगीत संयोजन रहेको गीतलाई अडियो ल्याबले बजारमा ल्याएको हो ।

‘घर मेरो खोटाङको चिसापानीमा’ गीतको म्यूजिक भिडियोसमेत निर्माण गरिएको छ । मिलन श्रेष्ठद्वारा निर्देशित भिडियोमा रिना गुरुङ, विनोद ढकाल, रविन्द्र रिमाल, आशिका खातीले अभिनय गरेका छन् । विशाल गोंबाको छायाँकन रहेको यस भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु