काठमाडौं । गीतसंगीत क्षेत्रमा यतिबेला एकातिर आफ्नो सिर्जना लुटेर खाए, रोयल्टी पाइएन भन्दै मुद्दा मामिलाको तय भइरहेको चर्चा छ भने अर्कोतिर कलाकारले पारिश्रमिक बढाए भन्ने चर्चाले महत्वपूर्ण स्थान पाइरहेको छ । कलाकारले आफ्नो कामको पारिश्रमिक लिने र आफ्नो सिर्जनाको मूल्य तोक्ने अधिकार आफैंसँग हुन्छ । सिर्जनामा लागेका व्यक्तिहरुले आफ्नो रेट बढाउँदै जाँदा गीतसंगीत उद्योगमा पनि नयाँ तरङ्ग पैदा हुनु राम्रो कुरा हो । स्रष्टाहरुको आम्दानीको स्रोत बलियो हुनु, सिर्जना पनि अब्बल हुनुले उनीहरुको ‘रेट’ले गुणस्तरको पनि मापदण्ड तय गर्छ ।
पछिल्लो समय स्रष्टाहरुको भाउ बढ्नाले बजारमा पनि पहिलेको तुलनामा सिर्जनाहरु कम हुन थालेका छन् । कुनै समय कलाकारको भीड लाग्दा स्टुडियोको संख्या बढेको थियो तर अहिले कलाकारको सिर्जनाको भाउ महङ्गो हुँदा संख्यात्मकता भन्दा गुणात्मकता बजारमा बिक्री भएको हो कि भन्ने देखिन्छ । केही स्टुडियोहरु बन्द हुने क्रममा छन् भने पहिला जस्तो स्टुडियोमा भीडभाड पनि कम भइरहेको देखिन्छ ।
कलाकारहरुले पहिले पहिले पनि मेरो रेट यति भनेर हल्ला फिजाउँने गरेका थिए । प्राय गरेर गीतसंगीतमा भन्दा पनि चलचित्र क्षेत्रका कलाकारले आफ्नो रेटको अफवाह फैलाउने गरेका थिए भने चलचित्र निर्माताहरुले मेरो चलचित्रले यति करोड कमायो भन्ने गर्थे । तर गीतसंगीतमा केही समय पहिला एक लाख लिएकी विष्णु माझी यतिबेला दुई लाख लिने भइसकेकी छन् । हल्लामा मात्र हो कि वास्तविकतामा हो भन्ने मापन गर्नका लागि त आन्तरिक राजश्व कार्यालयले करको दायारामा ल्याउनु पर्ने देखिन्छ ।
पछिल्लो उदाहरण गायिका विष्णु माझीले एउटा गीतमा स्वर दिए वापत दुई लाख लिने घोषणा गरेकी छन् भने संगीतकार एवं संगीतसंयोजक आशिष अबिरलले एउटा संगीत संयोजन वा संगीत गरेवापतको मूल्य एक लाख लिने घोषणा गरेका छन् । लोकदोहोरी क्षेत्रमा मात्र नभएर गीतसंगीतको क्षेत्रमा महंगो कलाकारका रुपमा यी दुई व्यक्तिको नाम अहिले चर्चामा छ । यिनीहरुको बजारमा हल्ला भएजस्तै भित्रि रुपमा महंगो रेट लिएर काम गर्नेहरु यहाँ धेरै छन् । अब यी दुई कलाकारलाई आन्तरिक राजश्व कार्यालयले करको दायारामा ल्याएर पारिश्रमिक अनुसारको कर बुझाउन लगायो भने आफ्नो भाउ बढ्ला कि घट्ला ? यिनीहरु त्यतिबेला के भन्लान् ?
संगीतकार तथा संगीत संयोजक आशिष अबिरल कर कार्यालयले बोलाएमा आफू हाजिर हुने र आफ्नो सिर्जनाको सार्वजनिक प्रयोग बजारमा भइरहेको हुँदा ती सिर्जनाको सम्पत्ति खोजिदिन सरकारले पहल गरोस् भन्ने माग पहिला अघि सार्ने बताउँछन् । ‘मेरा सिर्जनाहरु मेला, महोत्सव, होटल, सार्वजनिक यातायात, रेडियो, टेलिभिजनमा बजिरहँदा मलाई कति रोयल्टी आयो ? सरकारले मेरो सिर्जनाको अधिकार कति दिएको छ र मेरो पारिश्रमिकको मूल्यको कर लिने आँट गर्छ ?’ अबिरलले भने – संगीतमा मेरो लगानीको मूल्य सरकारले उठाइदिन्छ भने म जति भने पनि कर बुझाउन सधैं तयार छु ।’ आशिष अबिरलका अनुसार बरु धेरै दिन लागोस् थोरै सिर्जना होस् तर सबैले ‘वाह’ भनिदिउन् ।