बुलबुलको टिजरमा यस्तो देखिए स्वस्तिमा र मुकुन

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७५, शनिबार

काठमाडौं । स्वस्तिमा खडकालाई टेम्पो ड्राईभरको भूमिकामा अभिनय गराएर चर्चामा आएको चलचित्र बुलबुलको टिजर युट्युव मार्फत संसारभर सार्वजनिक भएको छ । ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ ।

चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भुमिकामा देखिदै आएकी नायिका स्वस्तिमा खडकाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । साथै देखिएका नवनायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ । टिजर मार्फत चरित्र चित्रण र चलचित्रको स्वाद कस्तो छ भनेर छनक दिन खोजेको देखिन्छ । छोटो दृश्यमै दुवै कलाकारले फरक फरक भाव र फरक रसमा सरल तर प्राकृतिक तवरले आफनो अभिनय कौशल देखाउन सफल भएकाछन् । टिजर हेर्दा चलचित्रमा केही न केही खँदिलो र पृथक कुरा छ भन्ने अनुमान गर्न सकिन्छ । यस अघि हेर्दै आईएको अन्य चलचित्रका टिजरमा जस्तो धेरै कुरा देखाउन खोज्ने भन्दा पनि एकै दृश्यबाट धेरै आयाम प्रस्तुत गर्न खोजेको देखिन्छ ।

आगामी फागुन ३ गते भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आउने चलचित्र बुलबुलको खुद्राखाद्री मायाले बोलको गीत पनि यतिखेर बजारमा दिनप्रतिदिन लोकप्रिय हुँदैगएको छ । चलचित्रका निर्देशक विनोद पोडेलले पटकपटक बुलबुल चलचित्र मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र चलचित्र उद्योगले एक सशक्त नवनायक पनि पाउने दावी गर्दै आएका छन् । नायिका स्वस्तिमा खडकाले स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन् ।

चलचित्रका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु क्रमश सार्वजनिक हुँदै जाने र चलचित्रमा रहेको अर्को एक दमदार गीत पनि छिटै सार्वजनिक गरिने बताए । बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायाँकन सुसन प्रजापतिले गरेका छन् ।

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल ,बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएकाछन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

निर्माण टोलीले अझैपनि बुलबुल शव्दको अर्थ कसरी लगाईएको छ भन्ने कुरा रहस्यमै राखेको छ । टिजरमा देखिएको अभिनयको गहिराई हेर्दा चलचित्र बुलबुल धेरैको लागि प्रतिक्षारत चलचित्र नहोला भन्न सकिन्न ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु