‘छ माया छपक्कै’ को प्रमोसनल गीत ‘बिच्च बिच्चमा’

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म छ माया छपक्कैको प्रमोसनल गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको हिट तीज गीत ‘बिच्च बिच्चमा’लाई ‘छ माया छपक्कै’ को प्रचारमा प्रयोग गरिएको हो ।

गायक दुर्गेश थापाको स्वरमा रहेको पप शैलीको तीज गीत ‘बिच्च बिच्चमा’ को संगीतमा रमाइला टुक्का जोडेर फिल्म हेर्न दर्शकलाई आग्रह गरिएको छ । गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ ।

गीतको भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् । यो गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । यस वर्षको तीजमा सर्वाधिक घन्किएको गीतमध्येको एक हो, ‘बिच्च बिच्चमा’ ।

यही असोज २४ गतेबाट प्रदर्शनमा आउने ‘छ माया छपक्कै’ को यसअघि ‘जूनको जुनेली’ गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसले यूट्युबमा राम्रो भ्यूज पाएका छन् ।

अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको फिल्म हो यो ।

राजनीतिक पृष्ठभूमीमा प्रेम बुनिएको यो फिल्मका कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु