ओझा–पोखरेल काण्डः घरेलु हिंसाविरुद्धको उजुरी अन्ततः सहमतिमा टुंगियो

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार
shilpa pokharel-chhabi ojha

काठमाडौं । नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको असार २९ गते गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । म्युजिक भिडियोमा मात्रै सिमित भएकी शिल्पालाई चलचित्र ‘लज्जा’ मार्फत् शिल्पालाई सिने क्षेत्रमा डेब्यू गराएका आफ्ना श्रीमान ओझाविरुद्ध नायिका पोखरेलले घरेलु हिंसाविरुद्धको मुद्दा प्रहरीमा दर्ता गराउन पुगिन् । मिडियाभरि ‘ओझाको कुटाइबाट नायिका शिल्पाको कानको जाली फुट्यो’ भन्ने समाचारले स्थान पाए । अन्ततः निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलको झगडा सहमतिमा टुंगिएको छ ।

बुधबार मात्रै नायिका पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् । शिल्पाले दिएको उजुरीको आधारमा प्रहरी कार्यालयमा भएको छलफलपछि विवाद टुंगिएको हो । पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । बिहिबार काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको छलफलमा पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेको डीएसपी होविन्द्र बोगटीले जानकारी गराए । छलफलका क्रममा ओझाले शिल्पासँग माफी समेत मागेका थिए । शिल्पा र छवीको विवाद मिलेसँगै प्रहरीमा परेको उजुरी पनि टुंगिएको छ ।

यसअघि शिल्पाले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा उक्त विषय भने प्रवेश नै भएन । त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले छलफलै नभएको बताईएको छ । प्रहरी परिसरमै सञ्चारकर्मीसँग कुरा गर्दै छवि ओझाले शिल्पासित झगडा भएको स्वीकारे पनि कुटपिट भएको भने अस्वीकार गरे । उनले चार आनाको मुर्गीमा १२ आनाको मसला थपियो भन्दै आफुलाई लागेको आरोपको खन्डन गर्ने प्रयास गरे । यद्यपि, दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन बस्दिनन् भन्ने चाहिँ प्रष्ट भने भएको छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु