
मुस्ताङ। मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा हालै एक जापानी म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ। उक्त म्युजिक भिडियोमा दुई जना नेपाली बाल कलाकारले पनि अभिनय गरेका छन्। छायांकन सम्पन्न गरी विदेशी कलाकार तथा प्राविधिक टोली आफ्नो देश फर्किसकेको छ।
तर, यस घटनाले नेपालको विदेशी छायांकन अनुमति प्रक्रियामा रहेको एउटा महत्वपूर्ण नीतिगत कमजोरीलाई फेरि उजागर गरेको छ।
म्युजिक भिडियोका लागि छुट्टै अनुमति व्यवस्था छैन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य शाखाले विदेशी छायांकनका लागि हाल चलचित्र र डकुमेन्ट्री गरी दुई प्रकारका आवेदन फाराम मात्र उपलब्ध गराउँदै आएको छ। म्युजिक भिडियो, वेब सिरिज, विज्ञापन वा अन्य व्यावसायिक श्रव्यदृश्य सामग्रीका लागि छुट्टै आवेदन वा वर्गीकरणको व्यवस्था छैन।
यही कारणले मुस्ताङमा छायांकन गरिएको जापानी म्युजिक भिडियोले पनि डकुमेन्ट्री शीर्षकअन्तर्गत अनुमति लिनुपरेको हो। यससँगै जापानी म्युजिक भिडियो निर्देशक टाकु हिराकोचीको परियोजना पनि प्रशासनिक रूपमा डकुमेन्ट्रीका रूपमा दर्ता भएको छ।
विधेयकमा पनि स्पष्ट व्यवस्था छैन
हाल छलफलमा रहेको नयाँ चलचित्रसम्बन्धी विधेयकमा समेत म्युजिक भिडियो, विज्ञापन, वेब सिरिजलगायतका श्रव्यदृश्य सामग्रीको छुट्टै वर्गीकरण वा अनुमति प्रक्रियाबारे स्पष्ट व्यवस्था गरिएको छैन।
यसका कारण नेपालमा छायांकन गर्न आउने विदेशी निर्माता तथा निर्देशकहरू आफ्नो वास्तविक परियोजनाको प्रकृतिअनुसार नभई उपलब्ध सीमित श्रेणीमध्ये कुनै एक रोज्न बाध्य हुने अवस्था रहेको सरोकारवालाको भनाइ छ।
सुधारको आवश्यकता
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र तथा श्रव्यदृश्य सामग्री छायांकनको आकर्षक गन्तव्य बनाउने लक्ष्य राखिएको अवस्थामा अनुमति प्रक्रियालाई समयानुकूल र व्यवहारिक बनाउनु आवश्यक देखिन्छ। म्युजिक भिडियो, विज्ञापन, वेब सिरिज, ओटीटी सामग्रीलगायतका छुट्टै विधालाई कानुनी रूपमा स्पष्ट वर्गीकरण गरी अनुमति प्रणालीलाई व्यवस्थित बनाउन सके विदेशी लगानीकर्ता तथा सर्जकलाई सहज हुने र नेपालको प्रशासनिक विश्वसनीयता पनि थप सुदृढ हुने अपेक्षा गरिएको छ।