काठमाडौं । नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ बिहीबारबाट नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ। नेपालको ७७ वटै जिल्लामा विभिन्न समयमा छायांकन गरिने टेलिचलचित्र प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने जानकारी निर्माण पक्षले दिएको हो।
मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले मौलिकतालाई जोड दिइने बताए।छायांकनको अनुभव सुनाउँदै उनले भने, ‘सुरुको चार भाग खिच्न हामी जुम्ला र मुगुमा पुगेका थियौं। त्यहाँको मौलिकताको प्रसंशा गरेरै सक्दिनँ। त्यहाँको रितिरिवाज, रहनसहनले प्रभावित पारेको छ। हामीले मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं।’
कार्यक्रममा अतिथिको रुपमा उपस्थित भएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रसंशा गरेका थिए। ‘पर्यटन बोर्डले गर्नुपर्ने काम कलाकारहरुले गर्नुभएको छ, यो त हाम्रो लागि निकै राम्रो कुरा हो। पर्यटन बोर्डले गर्न सक्ने सहयोग गर्नेछ,’ रेग्मीले भने।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विज्ञ राजेन्द्र मानन्धरले कोरोनाको अवस्थामा पनि देशको पर्यटनलाई उठाउन मद्दत गर्ने भन्दै टेलिचलचित्र टिमलाई शुभकामना दिए।
जुम्ला र मुगुमा चार भाग खिच्नकै लागि १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिए। ‘नेपालको पर्यटन, संस्कृति, प्राकृतिक बिबिधता, भाषा, जात, धर्म तथा बिभिन्न पर्वहरुको प्रचार तथा त्यसको संरक्षणका लागी बज्रलिंक मिडियाले यसअघि पनि काम गर्दै आएको छ। यसपटक हामी हाम्रो नेपालको पर्यटनलाई देशव्यापी बनाऔं भनेर हाम्रो तर्फबाट सोचेर यो टेलिचलचित्र निर्माण गरेका हौं,’ उनले भने।
टेलिचलचित्रका प्रत्येक भाग ३० मिनेट बराबरका हुनेछन्। ३० मिनेटमा एक भाग समेटिने टेलिचलचित्र प्रत्येक जिल्लामा ३ देखि ५ भागसम्म छांयाकन हुने बताइएको छ।
टेलिचलचित्रमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमशृंखला, ताल, नदिनाला, मन्दिर, गुम्बा, चैत्य, प्रमुख जात्रा, पर्व, मेला, लोकनृत्य, जाति विशेषका बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीतसंगीत, व्यवस्थित पर्यटक लक्षित होटल तथा लज, यातायाको सुविधाको लागि राजमार्ग, विकास निर्माणका काम आदि समेटिने बताइएको छ।
टेलिचलचित्रमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कविता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ। प्रवेश पोखरेल र गोकुल रावतले खिचिरहनु भएको छ भने रबिन भट्ट र सौखिन तिमल्सिनाको सम्पादन रहने टेलिचलचित्रमा कर्मा डी लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ। कथा लेखनमा रेशम बुढाथोकी छन्।