काठमाडौं । डी सिने अवार्डको १३ औं र १४ औं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । रसियन कल्चर सेन्टरमा आयोजित समारोहमा अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री दीपाश्री निरौलालाई छायाछवि रजत सम्मान प्रदान गरिएको थियो ।
२०७७ सालमा प्रदर्शन भएका सात फिल्मलाई पाँच विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त वर्ष रिलिज भएको एभरेस्ट सूर्य बोहरा निर्देशित ‘श्री’ सर्वोत्कृष्ट फिल्म घोषित भयो । ‘हिरो रिटर्न्स’बाट सविन श्रेष्ठ सर्वश्रेष्ठ अभिनेता, ‘लक्ष्मीपूजा’बाट जान्ह्वी बस्नेत सर्वश्रेष्ठ अभिनेत्री घोषित भए । ‘गुड फ्रेन्ड’बाट अजय स्याङतानले नृत्य निर्देशक, ‘हिरो रिटर्न्स’बाट रोशन श्रेष्ठले सहअभिनेता विधामा अवार्ड प्राप्त गरे ।
१४ औं संस्करणको डी सिने अवार्ड २०७८ अन्तर्गत १३ विधामा अवार्ड बाँडियो । यस वर्षको अवार्डमा ‘म यस्तो गीत गाउँछु’ले फिल्मसहित ६ विधामा अवार्ड जित्न सफल भयो । यो फिल्मबाट सुदर्शन थापाले सर्वश्रेष्ठ निर्देशक, पल शाहले अभिनेता, पूजा शर्माले अभिनेत्री, बनिश शाह र मिलन श्रेष्ठले सम्पादन र अर्जुन पोखरेलले संगीत विधामा अवार्ड उचाले ।
‘चिसो एस्ट्रे’बाट दीन्स पाल्पालीले लेखन, ‘हेल्लो जिन्दगी’बाट सम्राट बस्नेतले द्वन्द्व निर्देशन, ‘आकाशे खेती’बाट रामजी लामिछानेले नृत्य निर्देशन, ‘लप्पनछप्पन २’बाट पुरुषोत्तम प्रधानले छायांकन, ‘हेल्लो जिन्दगी’बाट गायिका प्रविशा अधिकारी र गायक राजनराज सिवाकोटीले गायन, ‘हेल्लो जिन्दगी’बाटै एभरेस्ट सूर्य बोहराले जुरी अवार्ड प्राप्त गरे ।
समारोहमा फिल्म, संगीत र साहित्यका क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान प्रदान गरिएको थियो । कुवेर गिरीले चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे ।