बरिष्ठ गायिका दिलमाया खातीलाई सम्झँदा…. (बायोग्राफी)

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा,
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

स्वर सम्राट नारायण गोपाल र बरिष्ठ गायिका दिलमाया खातीको स्वरले सु–सज्जित भएको कालजयी गीत हो यो । यस गीतका गायक नारायण गोपाललाई हामीले गुमाएको त धेरै वर्ष भइसक्यो । २०८० साल असोज १५ गते रातीदेखि गायिका दिलमाया खातीलाई समेत हामीले गुमाउनु पर्यो । नेपाली गीतसङ्गीतको स्वर्ण काल मानिएको साठीको दशकको एक उज्ज्वल नक्षत्र गायिका खातीकोे ८४ वर्षको उमेरमा निधन भएको हो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपुरणीय क्षती तुल्याएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनै सुप्रसिद्ध गायिका दिलमाया खातीको बाल्यकाल, संघर्षदेखि सफलता र निधनसम्मको प्रसंगलाई सम्झौं ।

बाल्यकाल, सांगीतिक यात्रा
दार्जिलिङको घूम पहाडमा सन् १९३९ को अक्टोबर ६ अर्थात् विसं १९९६ को श्रावण २३ गते उहाँको जन्म भएको हो । माता अतिरूपा खाती र पिता नन्दलाल खातीका तीन सन्तानमध्ये सबैभन्दा कान्छी सन्तान हुनुहुन्छ । दिलमाया खातीले पाँच वर्षको उमेरदेखि गाउन सुरु गर्नुभएको हो । उहाँले सुरुसुरुमा हिन्दी गीतै गाउनुहुन्थ्यो । ५ वर्षको उमेरदेखी नै गीत गुनगुनाउने बानी थियो । १० वर्षको उमेरमा त दार्जिलिङका मन्चमै उक्लिएर गीत गाउन थालिसक्नु भएको थियो ।

विसं २०१९ (सन् १९६२) मा घुम्नको लागि नेपाल आउनुभयो । त्यतिबेलासम्म दार्जिलिङमा मात्र होइन नेपालसम्मै उहाँको गायनको हल्ला पुगिसकेको थियो । घुम्न आएकै बेला गीत उहाँले नचिनेका ३ व्यक्तित्वले गीत गाएर सुनाउन अफर गर्नुभयो । गीत सुनेपछि रेडियो नेपाल लिएर जानु भयो । दिलमायालाई त्यतिबेला बल्ल थाहा भयो उहाँहरु ३ जना त रेडियो नेपालका नातिकाजी, शिव शंकर र तारादेवी पो हुनु हुँदो रहेछ । त्यसपछि गायिका दिलमाया नेपालमा धेरै दिन बस्नुभयो ।

वि. सं २०१९ मै रेडियो नेपालमा राष्ट्रिय सङ्गीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जित्नुभयो । नेपालमा शिव शंकरको सङ्गीतमा उहाँले पहिलो नेपाली गीत ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ गाउनुभयो । ‘हिमालको काखमा’ गीतले तत्कालिन समयमा दिलमाया खातीलाई नै नै ख्याति दियो । उहाँको परिचय अझ व्यापक बन्यो । तर पछि यो गीत रातादेवीको स्वरमा रेकर्ड भएर आयो ।

त्यसपछि उहाँले पन्नाकाजीसित ‘मनमा तिम्रो प्रित होस्’ बोलको एक युगल गीत गाउनु भयो, जसमा माधव प्रसाद खनालको शब्द अनि शिव शंकरको सङ्गीत रहेको थियो । उहाँलाई चिनाउने पहिलो गीत ‘सावन फर्की फेरि झर्यो माया लगाई निष्ठुरी फर्केन, चुडाई लग्यो यो मन मेरो जोडी दिने त्यो पापी आएन’ हो । गोपाल योञ्जनको शब्द र कर्म योञ्जनको सङ्गीतमा रहेको यो गीतले रेडियो नेपालको प्रतियोगिताम यो गीतले तीनै विधामा पुरस्कार प्राप्त गर्यो । यो गीत आज पनि उतिकै लोकप्रिय रहेको छ ।

त्यतिबेला, अरुणा लामा र दिलमाया खातीलाई प्रतिस्पर्धी गायिकाको रुपमा समेत लिनु गर्नुहुन्थ्यो । तत्कालिन समयमा अरुणा लामा र दिलमाया खातीलाई प्रतिस्पर्धी गायिकाको रुपमा चिनिन्थियो । सांगीतिक प्रतियोगितामा कहिले दिलमाया खाती प्रथम हुन्थिन् भने कहिले अरुणा लामा ।

त्यसपछि उहाँलाई नेपालमा नै बस्ने आग्रह हुन थाल्यो । धेरै रचनाकारहरूबाट आ–आफ्नो गीत गाइदिनेका लागि अनुरोध भयो । तर उहाँ भने आमा बिरामी छ भन्ने बहना गरेर पनि घर फिर्नुभयो । कान्छी छोरी भएकीले होला उहाँलाई परिवारले नेपालमा बस्ने अनुमति दिनुभएन । अनि उहाँ आफैलाई पनि किन हो घरकै मायाले तान्यो । दार्जिलिङ फर्किनु भयो र उतै शिक्षण पेशा गरि बस्न थाल्नु भयो । धेरै लामो समय शिक्षण पेशामा आबद्ध उहाँ अविवाहित हुनुहुन्थ्यो ।
अविवाहित नै रहेकी दिलमायाको सुमधुर स्वर सुनेर राजकपुर समेत प्रभावित भएका थिए । उनलाई गायनका लागि बम्बै आउनका लागि पनि प्रस्ताव गरिएको थियो । तर उहाँले त्यो प्रस्तावलाई स्वीकार गर्नु भएन ।

उहाँले थुप्रै वरिष्ठ गायक गायिका एवं संगीतकारसँग काम गर्नु भएको छ । संगीतकार एवं गायक गोपाल योञ्जन, कर्म योञ्जन, पन्नाकाजी, नारायण गोपाल, मिरा राणा, तारादेवीसँग उहाँले गीत गाउनु भएको छ । तारादेवीसित गाउनु भएको एउटा गीत हो ‘रातमा निँद मलाई लाग्दैन’ । नेपाली गीत–सङ्गीतको स्वर्ण काल मानिएको साठीको दशकको एक उज्ज्वल नक्षत्र हुनुहुन्छ उहाँ ।

यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उहाँले सहकार्य गर्नु भएको छ ।

नारायण गोपालसित युगल स्वरमा दुई गीतहरू
गायिका दिलमा खातिले स्वर सम्राट नारायण गोपालसित दुई गीतहरु गाउनु भएको छ । त्यस बेला चर्चाको शिखरमा पुगेका नारायण गोपालले दिलमायासित युगल स्वरमा गीत गाउन इच्छुक रहेको बताएपछि सन् १९७२ मा दुवैजना कलकत्ता गएर दुईवटा गीत रेकर्ड गर्नुभयो । यी दुई गीतमध्ये एक थियो– बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ जसमा सङ्गीत नारायणगोपालकै रहेको थियो भने शब्द रत्नशमशेर थापाको रहेको थियो । नारायणगोपाल र दिलमायाको स्वरमा रहेको र रेकर्ड भएको अर्को गीत हो – ‘तिमी देख्दा रहर होला लागेर आउँछ’ यो गीतमा शब्द तथा सङ्गीत गोपाल योञ्जनको रहेको छ । यी दुवै गीतहरू आफ्नो–आफ्नो ठाउँमा एउटा नौलो प्रयोग समेटिएका गीतहरू थिए, जसलाई मानिसहरूले औधी नै रुचाए । ‘बिछोडको पीडा’ प्रायः सबै उमेर समूहका मानिसहरूले मन पराउने गीतको रूपमा कालजयी बनेर रहेको छ ।
केही गीत कृष्ण खातीसित पनि गाउनु भयो । पछिबाट कमल दर्नालको सङ्गीतमा पनि गाउनु भयो।

छोटो सांगीतिक यात्रा, २०५६ मा पुनरागमन
दिलमाया खातीले वि. सं. २०१८ सालदेखि २०३० सालसम्म जम्मा १२ वर्ष मात्र गीत गाउनुभयो । २५ वर्षसम्म ओझेलमा रहनुभयो । उहाँका गीतहरू प्रचुर सङ्ख्यामा छैनन् । थोरै छन् तर प्रायः सबै अजर अमर छन् । त्यसपछि निकै लामो समयसम्म ओझेलमा नै बसेपछि दिलमाया खाती विक्रम संवत २०५६ सालदेखि पुनः गीतियात्रामा सरिक हुनुभयो । लामो समय दार्जिलिङमै रमाएकी र सांगीतिक धरातलमा हराएकी उहाँको संगीतमा पुनरागमन भयो । नरेन्द्रराज प्रसाईंले काठमाडौं ल्याई रत्नबहादुर खड्कीको सङ्गीतमा छल गयौ हेर्दा हेर्दै मलाई एक्लो पार्यौ, रमाएर बाँच्दै थिएँ रुँदै हिँड्ने पार्यौ गीत गाउन दिनुभयो । त्यसपछि उहाँले बुलु मुकारुङ, आलोकश्री लगायतको सङ्गीतमा पनि केही गीत गाउनुभयो । ‘शिखा’ गीतिक्यासेट मार्फत उहाँ आफ्नो स्वर र भाकाले नेपाली साङ्गीतिक धरातलमा छाउनु भयो । यसरी २५ वर्षसम्म गीतका शब्द र सङ्गीतलाई पोल्टामा राखेर ओझेलमा बस्नुभएकी दिलमायालाई एक्कै चोटि काठमाडौँको एउटा विशाल सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारणमा देख्दा सबै खुशी भएका थिए ।

प्राप्त पुरस्कारहरू र सम्मानहरू
गायिका खातिले थुप्रै सम्मान तथा पुरस्कार पाउनु भएको छ । ति मध्ये – देवकोटा सम्मान, शिखा सुर सम्मान, लहनी नेपाल सम्मान, गुञ्जन सम्मान र भुपाल सङ्गीत पुरस्कार, नारायणगोपाल सङ्गीत कोषद्वारा नारायण गोपाल स्मृति सम्मान र सन् २०१९ मा गो।दु।नि।स। दार्जिलिङ्द्वारा विशिष्ट सङ्गीत सम्मान, सप्तरङ्गी अजम्बरी सम्मान आदी । गायिका खातीलाई गत भदौको अन्तिम साता संगीत साधक स्व.गोपाल योञ्जनको ८० औँ स्मृति दिवसको अवसरमा सम्मान गरिएको थियो । गोपाल योञ्जन प्रतिष्ठानद्वारा भारतको दार्जिलिङस्थित मिरिकमा आयोजित कार्यक्रममा ८५ वर्षीया खातीलाई एक लाख ६० हजार रुपैयाँसहित गोपाल योञ्जन स्मृति स्रष्टा सम्मान प्रदान गरिएको थियो ।

निधन
यसरी प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतमा ठूलो योगदान पु¥याउनु भएकी बरिष्ठ खातीलाई २०८० साल असोज १५ गते रातीदेखि हामीले सदाका लागि गुमाउनु पर्यो । नेपाली साङ्गीतिक आकाशकी चम्किलो तारा वरिष्ठ गायिका दिलमाया खातीकोे असामयिक निधनले नेपाली साङ्गीतिक जगतलाई मर्माहत तुल्याएको छ । उहाँको निधनले नेपाली साङ्गीतिक क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ । नेपाली साङ्गीतिकको क्षेत्रमा उहाँबाट पुग्न गएको योगदान सधैँ स्वर्ण अक्षरले लेखिने छ । उहाँको आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु