• डा. दाहालद्वारा लिखित दुई कृति ‘अनुभवका अनुभुतिहरु’ र ‘माया’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७६, बुधबार
    Dr.Durga Dahal

    काठमाडौं । अमेरिकामा रहेका कवि तथा प्राध्यापक डा.दुर्गा दाहाल ‘अनुभव’ ले एकैपटक दुई कृति ल्याएका छन् । डा. दाहालद्वारा लिखित कविता संङ्ग्रह ‘अनुभवका अनुभुतिहरु’ र गीति एल्बम ‘माया’ को शनिबार (२६ माघ) एक कार्यक्रमकाबिच एकसाथ सार्वजनिक गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. तुलसी दिवसले डा.दाहाल नेपाली भाषा, साहित्य र संस्कृतिप्रति समर्पित भएको व्यक्तित्व रहेको बताए । डा.दिवसले दाहालको व्यवहार र आचरणमा पाइएको कवितात्मक सरलता तथा मानवियताबाट आफू प्रभावित भएको बताएका थिए । साहित्यकार डा. दिवसले देश बुझ्न र थाहा पाउन देशबाट टाढा रहनुपर्नेे बताउँदै कवि दाहाल अमेरिकामा बसेर पनि नेपाली भाषा र साहित्यमा समर्पण भएको बताउँदै दाहालले सबै नेपालीले अनुभुति गरेको कुरा किताबमा समेटेको तथा कवितामा विम्बहरु धेरै प्रयोग नगरिए पनि अनुभुति र संवेदना प्रसस्त पाइएको समेत बताए ।

    कार्यक्रममा राजनीतिक विश्लेषक शोभाकर पराजुलीले आफूले कविता नलेखेपनि साहित्यनुरायी भएको बताउँदै डा. दाहालकै प्रेरणबाट कविता लेख्ने प्रयास गरेको समेत बताएका थिए । सोहि कार्यक्रममा डा. दाहालका कवितामा टिप्पणी गर्दै प्रा.डा लक्ष्मण गौतमले डा. दाहालमा युवकत्व भाव र सकारात्मक सोच तथा आत्मवल भएको व्यक्ति रहेको बताएका थिए । उनले दाहालका कविता जीवन दर्शन दिने तथा भावना र अनुभुतिहरुको छोटा–छोटा कविता बनेर किताबमा समेटिएको बताउँदै कवितामा देश दुखेको पाइएको समेत बताएका थिए ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित उक्त विमोचन कार्यक्रममा अनेसासका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा अनेसासका पूर्वअध्यक्ष मोहन सिटौला, कथाकार हिरण्य कुमारी पाठक, गीतकार उन्नती बोहोरा ‘शिला’, लगायतको आतिथ्यता रहेको थियो भने नियात्राकार युवराज नयाँघरेले डा दाहालको परिचय, मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले शुभकामना मन्तव्य, गीता कार्कीले कृतिमाथि कवितात्मक टिप्पणी गरेकी थिइन् ।

    कवि तथा गीतकार डा. दाहालले ‘अनुभवका अनुभूतिहरु’मा आफ्नो मानसपटलमा आएका कुरा उतारेको तथा छन्दबाट मुक्त भएर पोखिएका कविता भावना अनि मन मस्तिष्कका दिनप्रतिदिनका भाव कविताका रुपमा आएको बताए । उनले कविताहरुमा कमल र गुराँसका फूल नभएर मानव मनका कुरा सन्देश दिन खोजिएको बताएका थिए ।

    आसाममा जन्मिएका कवि दाहालले आफू सामान्य परिवारबाट आएको तथा सामान्य मानिस भएको बताउँदै नेपालमा रहँदा काठमाण्डौंका थुप्रै कलेजमा प्राध्यापन गर्दा साहित्य सिर्जनामा समय दिन नसकेको र अब निरन्तर सिर्जनामा लागिरहने बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु