शिक्षामा संगीत र जीवन

म्यूजिक खबर
प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार
Narayan Gopal_taradevi


– प्रकाश सायमी

नयाँ बन्ने चलचित्रमा नायिकाको निम्ति अन्तर्वार्ता दिन आएकी मीनाक्षी आनन्दलाई तत्कालिन शाही नेपाल चलचित्र संस्थानका महाप्रबन्धक उत्तमलाल श्रेष्ठले सँगैको कोठामा रहेका चलचित्रका संवाद लेखक चेतन कार्कीसँग परिचय गराइदिए ।
मीनाक्षीले चेतन कार्कीलाई ‘हाय् ! भनिन् । परिचयको औपचारिकता पछि चेतनले हाँस्दै अंग्रेजीमा सोधे, ‘तिमीले मलाई चिन्यौ मिस आनन्द रु तिमीलाई मैले दश वर्ष अघि सेन्ट मेरिज्मा बायोलोजी पढाएको थिएँ ।’
मीनाक्षीले त्यसपछि जुरुक्क उठेर आफ्ना पुराना गुरुलाई आदरले नमस्ते गरिन् । त्यो नमस्तेले मीनाक्षी र चेतन कार्की दुवैलाई गुरु शिष्याको अद्भुत संसारको चक्रमा हुत्याइदियो ।
त्यो भेटघाट पछि मीनाक्षीले शाही नेपाल चलचित्र संस्थानका दुई सफल फिल्म सिंदूर र जीवन रेखा मा अभिनय गरिन् । गुरु शिष्याको त्यो सम्बन्ध पछि चलचित्र निर्माण नियन्त्रक र नायिकाको रूपमा बदलियो र त्यही सम्बन्धमा कायम रह्यो ।
लेखक एवम् चलचित्रकर्मी चेतन कार्की कुनै समय जावलाखेलस्थित सेन्ट मेरिज् स्कूलमा विज्ञान पढाउँथे । उनले मीनाक्षी आनन्द जस्तै अन्य धेरै छात्राहरूलाई बायोलोजी पढाए । पछि ‘फिसरी’का हाकिम भएर पोखरा गए । पोखराबाट उनको साहित्यिक, सांस्कृतिक जीवनको उदय हुँदै आयो ।
आज हामी उनलाई नेपाली चलचित्र विश्वास, भुमरी, पहिलो प्रेम का निर्देशकका रूपमा चिन्छौं भने परिवर्तन, कान्छी, मायाप्रीति जस्ता चलचित्रका लेखक र नारायणगोपाल, प्रकाश श्रेष्ठ, विमला राई आदिका स्वरमा रेकर्ड भएका राम्रा गीतका गीतकारका रूपमा पनि सम्झ्न्छौं । चेतन कार्कीले पढाएकै समयमा गोपाल योञ्जन सेन्ट मेरिज् स्कूलमा संगीत पढाउँथे ।
नेपाली भाषा, कला र संस्कृतिमा राम्रो चेतना भएका योञ्जन दार्जीलिङमा हुँदा त्यहाँको आर्ट एकेडेमी अफ म्युजिकसित आवद्ध थिए । त्यहाँ उनी अम्बर गुरुङको नेतृत्वमा कलाकार एवम् वाद्यवादकका रूपमा काम गर्थे । आर्ट एकेडेमीमा उनीबाहेक शरण प्रधान, रञ्जित गजमेर, कर्म योञ्जन, शान्ति ठटाल पनि आवद्ध थिए । सो आर्ट एकेडेमी भङ्ग भएपछि शरण प्रधानले दार्जीलिङकै सेन्ट रोबर्टस्मा गणितको शिक्षक भएर काम गरे भने शान्ति ठटाल सिक्किमको गान्तोकतर्फ हान्निइन् ।
तीमध्ये गोपाल योञ्जन गीतकार नगेन्द्र थापाको निम्तामा उच्च शिक्षा अध्ययन गर्न नेपाल आए । यो बीसको दशकको कुरा थियो । यही समयमा हो गोपालले सेन्ट मेरिजमा संगीत पढाएको ।
योञ्जनले सेन्ट मेरिज पछि पद्म कन्या कलेजमा पनि अध्यापन गरे । योञ्जन जस्तै कैयन् संगीतकार, गीतकार एवम् कलाकार शुरूमा आफ्नो प्रतिभा प्रस्फुटनको अरू बाटो नहुन्जेल स्कूल वा कलेजमै पढाउँथे । तर कोही कोहीले भने जीवनभर नै आफ्नो ज्ञान दान गरेर विताएका छन् । त्यसमध्ये गीतकार एवम् नाटककार मनबहादुर मुखिया, कवि एवम् गीतकार भीमदर्शन रोका, गीतकार दुर्गालाल श्रेष्ठ, नाटककार वासु शशी आदि प्रमुख रहे ।
कवि भीमदर्शन रोका र कवि दुर्गालाल श्रेष्ठले पढाएको स्कूल कन्या मन्दिरकी विद्यार्थी डा। गीता सायमी आफ्ना गुरु भीमदर्शन रोकाको पढाइको तारीफ त गर्छिन् नै रोकासरको हस्तलेखनको उनी विशेष प्रशंसक हुन् । उनी भन्छिन्, “रोका सरले कालोपाटीमा लेखेको ह्यान्डराइटिङ फोटो खिचेर ल्याउन मन लाग्थ्यो, त्यतिबेला अहिले जस्तो मोबाइलको चलन भइदिएको भए दिनदिनै उहाँका ह्यान्डराइटिङ खिचेर ल्याउँथें होला । ‘हाल त्रिवि शिक्षण अस्पतालको प्याथोलोजी विभागमा कार्यरत चिकित्सक गीता आफ्ना गुरु रोकाको पढाउने शैली अत्यन्त सम्मोहक मान्छिन् र भन्छिन– “त्यस्ता गुरु अहिले कहाँ !’
डा। गणेश गुरुङ पोखरामा स्कूल पढ्दा आफूलाई गायक नारायणगोपालले पढाएको सम्झ्ना गर्दै भन्छन्, ‘तर नारायणगोपाल पढाउनमा साह्रै अल्छी लाग्दो भएकोले हामीले उहाँको नाम नै लद्दू सर राखिदिएका थियौं ।’ डा. गुरूङको भनाइमा त्यतिवेला नारायणगोपाल र उनकी पत्नी पेमाला विवाह पछि पोखरामा बसेका थिए र दुवैले अंग्रेजी नै पढाउने गरेको उनी सम्झ्न्छन् ।
गायक संगीतकार नारायणगोपालले पोखराको अमरसिंह उच्च माविमा कहिलेकाहीं इतिहास पनि पढाए । काठमाडौंका रैथाने नारायणगोपालले २०२६ मा दार्जीलिङ सिमानाकी पेमाला लादेनसित अन्तरजातीय विवाह गरेपछि पारिवारिक असहमतिका कारण भागेर पोखरा जानु परेको थियो । केही वर्ष पोखरामा पढाएर फर्केपछि नारायणगोपालले सांस्कृतिक संस्थानमा तबलावादकका रूपमा जागीर खाए ।
साहित्यकार पारिजात ललितपुरस्थित मदन स्मारक स्कूलमा पढाउथिन् । सो स्कूलको प्रार्थना गीत पनि उनले लेखेकी थिइन् जसमा श्री पाण्डेले संगीत दिएकी थिइन् । पछि पारिजात सर्लाहीको मलंगवातिर एउटा स्कूलमा शिक्षक भएर गइन् जुन स्कूलमा केही समय कवि एवम् निबन्धकार ईश्वरवल्लभले पनि पढाए । राजनीतिज्ञ रामहरि जोशीले स्थापना गरेको मलंगवाको सो स्कूलमा पढाउने काम गर्दा गर्दै ईश्वरवल्लभ दार्जीलिङको शारदा माध्यमिक विद्यालयमा पुगेका थिए । ईश्वरवल्लभले दार्जीलिङमा पढाएका धेरै विद्यार्थी अहिले नेपाली संगीत जगतका स्वनामधन्य छन् । शरण प्रधान, रञ्जित गजमेर, पिटर जे कार्थक, दिव्य खालिङ त्यसमध्ये केही स्मरणीय नाम हुन् ।
पहिले पहिले दार्जीलिङमा नेपाली र संस्कृत पढाउने शिक्षक नेपालबाट वा बनारसबाट लैजाने चलन थियो । तर, नेपालमा २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि दार्जीलिङबाट नेपालमा शिक्षक झ्किाउने चलन शुरू भएको कुरा बाल विद्यागृहका पूर्व प्रधानाध्यापक अर्जुन गिरी बताउँछन् । गिरी आफ्ना दाजु बसन्त गिरीले ललितपुरको एकान्तकुनास्थित बैकुण्ठ निवासमा स्थापना गरेको अरनिको बोर्डिङ स्कूलमा दार्जीलिङबाट आएका धेरै शिक्षकशिक्षिकाले पढाएको सम्झ्ना गर्छन् । उनी गर्वका साथ भन्छन्, “अरनिको स्कूल त त्यतिवेला संघर्षरत कलाकारको लागि स्टेपिङ स्टोन नै थियो ।!
संगीतकार गोपाल योञ्जन, गायक नवीनकिशोर राई, गायक भक्तराज आचार्य, नृत्यकार देवदत्त ठटाल आदिसित अरनिको स्कूलमै सहकार्य गरेका गिरीका अनुसार कलाकारले पढाएका राजधानीका प्रख्यात स्कूलहरूमा सेन्ट मेरिज्, कान्ति ईश्वरी माध्यमिक विद्यालय, भानुभक्त उच्च मावि, आदर्श विद्या मन्दिर आदि पर्दछन् ।
दार्जीलिङमा गीतकार अगमसिंह गिरी प्रधानाध्यापक रहेको भानुभक्त उच्च माविको नामबाट प्रभावित भएर दार्जीलिङबाटै आएर डीएन प्रधानले स्थापना गरेको पानीपोखरीको भानुभक्त मेमोरियल स्कूलमा बीस र तीसको दशकमा धेरै लामो समयसम्म कलाकारले संगीत र नृत्यजस्तो अलग्गै विषय नपढाए पनि विषयगत कक्षा पनि लिने गरेको कुरा त्यही स्कूलका पूर्व शिक्षक, गायक एवम् संगीतकार शैलेश सिंह बताउँछन् ।
भानुभक्त स्कूलमा गायक शैलेश सिंह बाहेक संगीत पढाउनका निम्ति संगीतकार दीपचन्द्र मोक्तान, नारद हार्तम्छाली, सिके रसाइली आदि आवद्ध थिए ।
नेपाली संगीत जगतमा धेरै नाम चलेका कलाकार, गायकगायिका पढेको भानुभक्त मेमोरियल स्कूलका एक विद्यार्थी हुन्, संगीत नाटक प्रज्ञा प्रतिष्ठानका वर्तमान उपकुलपति शम्भुजीत बास्कोटा । बास्कोटाले भानुभक्त मेमोरियल स्कूलबाटै एसएलसी उत्तीर्ण गरेका हुन् । उनी भन्छन्, “यो स्कूलमा हामीलाई गायक संगीतकार सीके रसाइलीले म्युजिक पढाउनुहुन्थ्यो । उहाँले नै मलाई रेडियो नेपालमा गीत गाउने मौका पनि दिनुभएको थियो । त्यसैले म उहाँलाई अहिले पनि गुरुबा भन्ने गर्छु ।”
रेडियो नेपालमा वाद्यवादकका रूपमा र विशेष रूपमा गितार र मेन्डोलिन बाजाका निम्ति ख्याति कमाएका सीके रसाइलीले गायनमा शम्भुजित बाहेक आजका चर्चित गायक उदीतनारायण झ, रचना जिसी, शान्ति मानन्धर, रत्ना सिंह, अञ्जु सिंहलाई पनि मौका दिएका हुन् ।
एक जना शिक्षकका हिसाबले अलग्गै छवि बनाएका रसाइलीले नेपाली भाषामा बनेका कयौं राम्रा गीतमा धेरै थरी अरू बाजाको अभावमा मेन्डोलिनबाटै विशिष्ट प्रभाव उत्पन्न गरेका छन् । अरुणा लामाको प्रसिद्ध गीत पोहोर साल खुशी फाट्योमा उनले बजाएको मेन्डोलिनले करामत गरेको छ भने प्रेमध्वज प्रधानले गाएको मलमली घुम्टो भित्र बोलको गीतमा उनको गितारको धुन सजावटले अम्बर गुरुङको संगीत र रत्नशमशेर थापाको शब्दमा सुगन्ध थपेको छ ।
भानुभक्त मेमोरियल स्कूलमा मात्र होइन, रेडियो जगतमै “गुरुजी” नामबाट परिचित संगीतकार सीके रसाइली शिलाङबाट नेपाल आएका हुन् । २०१२ सालमा भारतको इलाहावादबाट संगीतमा स्नातक गरेका रसाइली शिलाङमा पनि स्कूलमै पढाउँथे । नेपाली गीति आकाशमा हरिभक्त कटुवालको पहिलो गीत रेकर्ड गराउने श्रेय पाएका रसाइलीले अल इन्डिया रेडियोबाट कटुवालको रचनामा गाएको गीत यसप्रकार छ,
सपनामा आज मैले देखें उनलाई फेरी
मुस्काउँथिन् घरीघरी मलाई मात्र हेरी
संगीतलाई पाश्र्वभूमिमा राखेर शिक्षण पेशा अपनाएका धेरै गायक कलाकारमध्ये सीके रसाइलीका समकालीनमा संगीतकार, गीतकार शरणकुमार प्रधान पनि एक थिए । नेपाली गौरव गर्छ आफ्नै पनमा घमण्ड त होइन है, मान्छे सबै एउटै रगतको विचार किन बेग्लाबेग्लै जस्तो कालजयी गीतका रचनाकार एवम् संगीतकार शरणकुमार प्रधान संगीतजगतमा शरण प्रधान नामबाट चिनिन्छन् । उनले बीसको दशकमा स्थापना गरेको संगम नामक समूहमा उनी बाहेक रञ्जित गजमेर पनि आवद्ध भएका कारण ‘शरण–रञ्जित’ नामबाट यी संगीत गर्थे ।
२००० सालमा दार्जीलिङमा जन्मेका शरण प्रधानलाई टर्नबुल हाईस्कूलमा कवि ईश्वरवल्लभले समेत पढाएका थिए । पछि उनी आफैं पनि विज्ञान र गणितका राम्रा शिक्षक भए । हाल बनारस हिन्दू विश्वविद्यालयमा नेपाली विभागसित आवद्ध डा। दिवाकर प्रधानले गत वैशाख २० गते शरण प्रधानको ४१औं वार्षिक पुण्यतिथिका दिन उनको सम्झ्नामा फेसबूकमा लेखे्, ‘सेन्ट रोबर्टस्मा हामीलाई गणितका किसिम किसिमका सूत्र सुल्झउन सिकाउने शरण प्रधानका गीतले झ्न् धेरै कुरा सिकायो । शरण गुरुबाका कारण नै उनकी पत्नी गायिका अरुणा लामालाई पनि जीवनभर गुरुआमा नै भनियो । दुवै गुरुबा र गुरुआमामा सततः प्रणाम !’
नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पु¥याउने धेरै कला साधकले शिक्षण पेशालाई ‘पार्ट टाइम जब’ मात्र होइन, आराधनाको एक पक्ष मानेका छन् । रेडियो नेपालकी प्रथम गायिका रानूदेवी अधिकारी जीवनभर नै शिक्षाको बीउ छर्दै हिंडिन् । १९९३ साल मंसीर ११ गते वीरगञ्जमा जन्मेकी अधिकारी २००७ सालको क्रान्तिको समयमा प्रजातान्त्रिक रेडियो नेपालबाट “आज देशको क्रान्तियुद्धमा हाम्रो एक प्रकाश होस्, लड्दा लड्दै मरे मरौंला यो एउटा नारा होस्” गाएर आन्दोलनमा होमिएकी थिइन् ।
जुनेली राज हजुर गम्किन्छ बास हजुर, चरी भुर्र उडी घरमा मेरो जा, मेरो मुटुको माझ्मा जस्ता गीत गाएर ख्याति कमाएकी रानूदेवीले २०२३ सालपछि गायनलाई निरन्तरता दिन नपाए पनि शिक्षण पेशामा उनी जीवनभर लागिन् । तीर्थप्रसाद अधिकारीसित विवाह गरेर विराटनगर गएपछि रानूदेवीले विराटनगरको आदर्श बालिका विद्यालयमा पढाउन थालेकी थिइन् । तारिणीप्रसाद कोइराला, हियालाल मण्डल, कालूरामको प्रेरणाले संगीतमा लागेकी गायिका रानूदेवी आज पनि एक असल गुरुआमाका रूपमा चिनिन्छिन् ।
रानूदेवी प्रजातान्त्रिक रेडियो नेपालमा आवद्ध हुँदा नै रेडियोमा प्रवेश गरेका गायक संगीतकार ज्ञानबहादुर श्रेष्ठ पनि शिक्षण पेशासित जोडिएको एउटा नाउँ हो । हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई गायनमा मौका दिने ज्ञानबहादुर रेडियो नेपालको जागीरे कलाकार भए पनि काठमाडौं उपत्यकाका धेरै स्कूलमा संगीत पढाउँथे ।
गायिका दीपा गहतराजका पिता दलसिंह गहतराजसित पढेका डा. तारानाथ शर्माले गहतराजको जस्तो अंग्रेजी हस्तलेखन अहिलेसम्म कसैको नदेखेको सम्झ्ना गर्छन् । पछि शिक्षण छाडेर प्रहरी सेवामा प्रवेश गरेका दलसिंह गहतराजले शुरूमा संगीत र शिक्षणलाई एक साथ अपनाएका थिए ।
गहतराजकै समयका संगीतकार अम्बर गुरुङले पनि पश्चिम बंगाल सरकारको लोकमनोरञ्जन शाखाको जागीरबाट अलग्गिएपछि कालिम्पोङको डा. ग्राहम्स् होम नामक स्कूलमा संगीत नै पढाएका थिए ।
नेपाली संगीत जगतका धेरै प्रसिद्ध गायक गायिका एवम् संगीतकार अहिले पनि विभिन्न स्कूल कलेजमा अध्यापन गर्ने गर्दछन् । गायिका कुन्ती मोक्तान र उनका पति शिलाबहादुर मोक्तान विवाह गरेर नेपाल आएदेखि स्कूलतिरै पढाउनमा व्यस्त छन् । गायक संगीतकार जंगम लामो समयदेखि पद्मकन्या कलेजमा संगीत नै पढाउँथे । संगीतकार दीपक जंगमकी पत्नी बेनी जंगम रावललाई रत्नराज्य लक्ष्मी कलेजबाट संगीत पढाउने काम शुरु गराएकी थिइन् शास्त्रीय गायिका शकुन्तला प्रधानले ।
पद्मकन्या कलेजमा नेपाली र अमर आदर्श विद्यालयमा अंग्रेजी पढाउँदै आएका मनबहादुर मुखिया दार्जीलिङबाट अनि देउराली रुन्छ नाटक मञ्चन गर्न २०१८ सालमा आफ्नो गुरु अगमसिंह गिरीसँग काठमाडौं आएका थिए । गीत लेखन, संवाद लेखन र अभिनयमा पोख्त मुखियाले अनि देउराली रुन्छ, क्षितिजका शहीदहरू, फेरि इतिहास दोहोरिन्छ जस्ता नाटकको निर्देशन गरेका छन् । एल्मिरा भट्ट अभिनीत क्याक्टस उनको पछिल्लो लेखन र निर्देशनको एउटा सफल नाटक हो, जुन गोदावरी एलुम्नाई एसोसिएसनको ह्याम्स् शिल्ड प्रतियोगितामा सर्वाधिक चर्चित नाटक थियो । अभिनेत्रीका रूपमा रंगमञ्चमा प्रवेश गरेकी मनबहादुर मुखियाकी पत्नी नीना प्रधानले रंगमञ्चपछिको समय अध्यापनमा नै विताइन् ।
नृत्य पढाउन र सिकाउनमा ख्याति कमाएका मृगेन्द्रमान सिंह प्रधानले त पाठ्यपुस्तकका निम्ति नृत्य भन्ने पुस्तक पनि लेखे । मृगेन्द्रमानसिंहकी पत्नी कृष्णा प्रधान पनि एक लोकप्रिय अभिनेत्री एवम् नृत्यांगना हुन् । उनी केही वर्ष अघिसम्म स्कूल र कलेजमा नृत्य नै सिकाउँथिन् । मृगेन्द्रमान जस्तै नृत्य पढाउँदै विद्यालय र कलेजका निम्ति पुस्तक लेख्ने एक अध्येता भैरवबहादुर थापाले पनि धेरै स्कूल कलेजमा नृत्य नै पढाए ।
तीसको दशकपछि नेपालका स्कूल विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विशेष विषय नै शुरू भएपछि कलाकारले गायन, संगीत वा नृत्य पढाउने थप अवसर पाए । त्यसमध्ये गायक भक्तराज, संगीतकार दिव्य खालिङ, गायक ल्हाक्पा शेर्पा, गायिका संगीता प्रधान राना, गायिका शारदा क्षेत्री प्रमुख हुन् । अभिनेत्री मिथिला शर्माले आफ्नी साथी गायिका विमला राईसित विभिन्न स्कूलमा गएर नृत्य सिकाइन् । पूर्ण नेपाली र जयनन्द लामा पनि विभिन्न स्कूलमा संगीत र नृत्य सिकाउँथे ।
संगीतलाई विधिवत् सिकाउनुपर्छ र यो स्कूल तहदेखि नै अध्यापनको विषय हुनुपर्छ भन्ने धारणा राख्ने गीतकार एवम् संगीतकार दिव्य खालिङ महेन्द्र भवन, ज्ञानोदय माविमा संगीत शिक्षण गर्दथे । संगीतकार खालिङले संगीत शिक्षालाई थप आकर्षक तुल्याउन महत्वपूर्ण योगदान पु¥याएका छन् । उनले स्कूलमा बाहेक आफ्ना सहकर्मी चलचित्रकर्मी प्रताप सुब्बासित मिलेर काठमाडौंको बिजुलीबजारमा संगीत, अभिनय र नृत्यको स्कूल डायमन्ड एकेडेमी अफ् पर्फर्मिङ आर्टस् नै खोले ।
दिव्य खालिङ भन्दा एकदशक अघि २०२१ सालमा नौजनाको डफ्फामा नेपाल पसेका पिटर जे कार्थक दार्जीलिङमा अम्बर गुरुङको टोलीमा गितार बजाउँथे । उनीसित नेपाल पसेका लई ब्यांक्स् र रञ्जित गजमेर भारतको मुम्बई पसे भने अनुराधा कोइराला र उनी मात्र यहाँ टिकेको सम्झ्ना गर्छन् पिटर ।
पिटरले सन् १९७१ देखि पाटन बहुमुखी क्याम्पसमा अंग्रेजी पढाउन थाले । एक शिक्षकका रूपमा आफ्नो नयाँ जीवन नेपालमा शुरू गरेका ती दिन सम्झ्ँदै पिटर भन्छन्, “शुरूमा पाटन क्याम्पसमा अंग्रेजी पढाएँ । र, मैले नै त्यहाँ अंग्रेजी विभाग शुरू गरें । त्यही वर्षको अन्त्यमा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पढाउन शुरू गरें ।” उनी आफूले इन्जिनियरिङ कलेजमा पढाएका केही विद्यार्थीमध्ये साहित्यकार किशोर पहाडी, सञ्चारकर्मी विजयकुमार आदिलाई सम्झ्न्छन् ।
अध्यापनका हिसाबले पढाउन दार्जीलिङबाट नेपाल आउने कवि कलाकार बाहेक नृत्य निर्देशक देवदत्त ठटाल पनि एक प्रमुख पात्र हुन् । नेपालका स्कूलमा विधिवत् रूपमा नृत्य सिकाउने र स्कूलले नृत्य प्रतियोगितामा भाग लिने परम्परा नहुँदा नै देवदत्त ठटाल नेपालमा आएका थिए । उनले लिटिल एञ्जल्स, अमर शिशु माध्यमिक विद्यालयमा नृत्य सिकाए । स्कूलमा नृत्य सिकाउनु अघि उनी परालको आगो नामक चलचित्रमा कोरियोग्राफरका रूपमा आवद्ध थिए । परालको आगो को धेरै चुलबुल नगर बहिनी बोलको गीत स्व। ठटालको विशिष्ट प्रस्तुति मानिन्छ ।
ठटाल नेपाल आउनुभन्दा अघि यहाँका स्कूलमा हास्यकलाकार राजपाल थापा, ध्रुव हाडा, बसन्त श्रेष्ठ आदिले नृत्य सिकाउँथे । राजपाल थापा र हास्यकलाकार ध्रुव हाडा ‘पाल–हाडा’ नामबाट हास्य जोडीका रूपमा विख्यात थिए । ‘पाल–हाडा’कै समयमा मास्टर केशव र गुप्त सेनको जोडी पनि रंगमञ्चमा प्रख्यात थिए । केशव मानन्धर नामबाट कुमारी, जीवनरेखा, जुनी चलचित्रमा अभिनय गर्ने केशवले लामो समय ल्याबोरेटरी स्कूलमा अभिनय र संगीत सिकाए । उनलाई ल्याबोरेटरी स्कूलका पूर्व विद्यार्थीहरू अहिले पनि ‘मास्टर केशव’ नामबाट सम्झ्न्छिन् । मास्टर केशव वाहेक रंगमञ्चमा सक्रिय अन्य कलाकारमा रीताराज गुरुङ, तीर्थ शेरचन, नारायणी प्रधान आदि पनि विद्यालयहरूमा पढाउँथे । भारतको दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयबाट डिप्लोमा गरेर आएका प्रथम विद्यार्थी तीर्थ शेरचनले स्कूलमा नृत्य, अभिनय बाहेक भेषभूषा आदि पढाए । पछि उनी नेपाल प्रज्ञा प्रतिष्ठानको भेषभूषा शाखामा आवद्ध भए । त्यस पछिका प्रवेशीहरू वान्तवा, राजेन गुरुङ, कमल राई आदिले पनि स्कूलमा नृत्य सिकाए भने राजकपूर रनपहेली, श्रीकृष्ण श्रेष्ठ पनि विद्यालय जगतमा ‘डान्सर मास्टर’का रूपमा चर्चित थिए ।
अध्ययन र अध्यापनका दृष्टिले प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, रेडियो नेपालका कलाकार शिक्षकका रूपमा वैतनिक रूपमा आवद्ध हुने चलन भए पनि कैयन् कलाकारले मोफसलमै हुँदा शिक्षण पेशालाई अपनाएर आएको देखिन्छ । त्यसमध्ये गायिका एवम् कथाकार माया ठकुरीले पोखराको गण्डकी बोर्डिङ स्कूलमा अंग्रेजी पढाइन् भने कवि भीमदर्शन रोका पनि पोखरामा ‘रोका सर’का नामबाट प्रसिद्ध थिए । पछि उनले बालाजुको सिद्धार्थ वनस्थलीमा पढाए । पश्चिमाञ्चलमै बसेर संगीत सिकाइरहेका लोक गायक प्रेमदेव गिरी एक चर्चित मादलवादक पनि हुन् । उनले नारायणगोपालका धेरै राम्रा गीतमा वाद्यवादन गरेका छन् भने लोक संगीतको अध्येताको रूपमा उनका आफ्नै योगदान छ ।
पूर्वाञ्चलमा लोक गायक एलपी जोशी, कामेश्वर झ, केवल सुब्बा शिक्षण पेशामा आवद्ध थिए । विराटनगरमा भानु कला केन्द्र स्थापना गर्नमा अतुलनीय योगदान पु¥याउने स्वर्गीय चतुर्भुज आशावादीलाई धेरैले गुरुबाका रूपमा सम्झ्ना गर्छन् ।
नृत्य, संगीत, अभिनय वा गायनका माध्यमबाट नेपालभित्र मात्र होइन नेपालबाहिर पनि अहिले धेरै कलाकारहरू प्रभाव विस्तार गरिरहेका छन् । त्यसमध्ये, चर्चित गायिका सरला गुरुङ, संगीतकार दिनेश सुब्बा र संगीतज्ञ आमोद राई हङकङमा भएका नेपालीका छोराछोरीलाई संगीत पढाउन उतै समर्पित छन् ।
अहिलेका चर्चित संगीतकार राजु सिंह विद्यालयमा संगीत पढाउन व्यस्त छन् भने गायिका लासिमित राई पनि संगीत अध्यापनमै सक्रिय देखिन्छिन् । नयाँ पुस्तामा संगीत सिक्ने र सिकाउने क्रम झ्नै बढ्दो छ । यसलाई अभिमुखीकरण गर्नमा सक्रिय शास्त्रीय गायिका शारदा क्षेत्री र जीवनकुमार राई अहिलेका चर्चित संगीत शिक्षक मानिन्छन् । गायिका संगीता प्रधान राना, प्रदीप बम्जन आदि पनि संगीत अध्यापनमा सक्रिय छन् ।
संगीता राना केही समयदेखि ललितकला क्याम्पसमा संगीत अध्यापन गर्दै आएकी छन् । धनबहादुर गोपाली कलानिधि संगीत विद्यालयमा नयाँ पुस्ता तयार पार्नमा व्यस्त छन् । भारतको भोपालबाट ध्रुपद्को विस्तृत अध्ययन गरेर आएका दुई युवा विशाल भट्टराई र इनोय सान पनि प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकालाई शास्त्रीय संगीत सिकाउन व्यस्त छन् । किराँतेश्वर विद्यालयमार्फत संगीतलाई शिक्षा पद्धतिमा जोड्ने तबला वादक सरिता मिश्र पनि संगीतलाई जीवन र शिक्षासित जोड्नमै लागिपरेकी छन् । रविनदास श्रेष्ठ, श्री केसी, चन्दन श्रेष्ठ, तीर्थराज अधिकारी आदि पनि सिक्ने र सिकाउने कार्यमा सक्रिय छन् ।
पोखरामा स्थापना भएको जोजिजू संगीत विद्यालयबाट अहिले आफैं गुरुकुल शुरू गर्न पुगेका तीर्थराज अधिकारी अर्का आदरणीय संगीत शिक्षक हुन् । पोखरामा अधिकारी भन्दा पहिला विष्णु आचार्य, राम राईले संगीतको विधिवत् शिक्षाको थालनी गरेका हुन् ।
अध्यापनकै क्रममा तराईमा आफ्नो गायन यात्रा शुरू गरेर आएका गुरुदेव कामत पनि अध्यापनमा व्यस्त छन् । गुरुदेव कामतका समकालीन मैथिली गायक नसीबलाला गुप्ता मध्य नेपालमा मैथिल संगीत जाटजटिनीको गायन विकास गराउने महत्वपूर्ण व्यक्ति हुन् । रेडियो नेपालको फूलबारी कार्यक्रममार्फत गायनमा चर्चामा आएका गुप्ताले उदीतनारायण झ जस्ता गायकलाई अघि ल्याउने महŒवपूर्ण योगदान पु¥याए ।
यसअघि रामप्रसाद रायले पनि नेपाली संगीतलाई एक विशिष्टता दिनमा अहम् भूमिका निर्वाह गरेका थिए । संगीतकार एवम् गायक दीपक जंगमका गुरु रामप्रसाद रायको जन्म बारामा भएको हुनाले उनले वीरगञ्जमा एउटा संगीत विद्यालय खोल्न अथक् प्रयास गरे । वि।सं। २००९ मा वीरगञ्जको कीर्ति सिनेमा हलमा बृहत् शास्त्रीय संगीत सम्मेलन आयोजना गरेका राय विसं २०३० सम्म रत्नराज्यलक्ष्मी क्याम्पसका संगीत विभाग प्रमुख पनि रहे । रायको जस्तै रंगराव कादम्बरी, पद्मा कादम्बरीको पनि संगीत शिक्षामा अतुलनीय योगदान छ ।
विसं २०१४ सालदेखि पद्मा कादम्बरी श्री ५ को सरकारको अधिकृत स्तरमा पद्म कन्या क्याम्पसमा संगीत प्राध्यापक भइ सेवा गरिन् भने उनका पति रंगराव कादम्बरीले विस २०२० मा कलानिधि विद्यालयमा प्राचार्य अनि पछि २०२२ देखि २०३० सम्म रत्न राज्यलक्ष्मी क्याम्पसमा त्यसपछि पद्म कन्या क्याम्पसमा संगीत शिक्षक रहे ।
संगीतमा मिथिला संस्कृति र यसको जगेर्ना महत्वपूर्ण पाटोको रुपमा जनकपुर पनि रही आएको छ । जनकपुर मिथिला संस्कृतिको राजधानी भएको हुनाले त्यहाँ हुने विविध किसिमका नाटक, रंगमञ्च गतिविधिमा सरिक हुने कलाकर्मी सुनिल मिश्र, रामनाथ चुहा, मदन ठाकुर आदिलाई प्रशिक्षित गर्ने महेन्द्र मलंगिया र राजेन्द्र विमल दुवै शिक्षकको भूमिकामा लोकप्रिय छन् । जगदम्बाश्रीबाट सम्मानित डा। विमल मिथिलाञ्चलका एक मानिएका गुरु हुन् ।
जनकपुरको जटजटिनी गायन जस्तै पश्चिमाञ्चलको देउडालाई व्यापकता दिनमा धेरैको योगदान छ । नेपाली संगीतमा पश्चिमेली नेपाली लोक संगीतलाई एक विशेष परिशिष्टका रूपमा अघि बढाउन पश्चिमाञ्चलमा प्रेमदेव गिरीको योगदान अपार छ भने देउडा गायक नन्दकृष्ण जोशीको आफ्नै भूमिका छ ।
संगीत र शिक्षाको अन्योन्याश्रित सम्बन्धलाई एक जिम्मेवारीका रूपमा स्वीकार गर्दै अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, संगीत नोटेशन मात्र होइन, नोटेशन मात्र भइदिएको भए यो रुखो विषय हुने थियो । यो जीवनसित जोडिएको उत्साहप्रद विषय हो शिक्षासित संगीतलाई जोड्ने हो भने यो बोझिलो हुने छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु