चलचित्र निर्देशक समाजमा रक्षा सिंह राणाको नेतृत्व, एक मतको अन्तरले सुचित्रा पराजित

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७६, शनिबार

काठमाडौं । चलचित्र निर्देशकहरुको साझा संगठन चलचित्र निर्देशक समाजमा निर्देशक रक्षा सिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । निकटतम प्रतिद्वन्दी सुचित्रा श्रेष्ठलाई एक मतले उछिन्दै राणा अध्यक्षमा विजयी बनेकी हुन् । चलचित्र विकास वोर्डको हलमा भएको निर्वाचनमा सहभागी हुनुपर्ने जम्मा २१७ मतदातामा १३५ मत खसेको थियो । राणाले ४५ मत प्राप्त गरिन् भने श्रेष्ठले ४४ मत प्राप्त गरिन् । त्यस्तै, अध्यक्षका अन्य प्रत्यासीहरु लक्ष्मण रिजाल र शेखर खनालले क्रमशः १९ र ३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा राजु अधिकारी (५८ मत), राजेन्द्र कुमार उप्रेती (६२ मत) विजयी बने भने उपाध्यक्षका अन्य दुई प्रत्यासीहरु विजय रत्न तुलाधर (५७ मत) र आरबिके शरद (२१ मत) पराजित हुन पुगे ।
महासचिवमा ६१ मत ल्याएर जनकदीप पराजुली विजयी भएका छन् । महासचिवका अन्य दुई प्रत्यासीहरु समीर बलामी र दिनेश लिंगदेनले क्रमशः ४० र ११ मत प्राप्त गरी पराजित भएका थिए ।

सचिवमा ५९ मत ल्याएर अरुण कुमार प्रधान विजयी बने भने अन्य दुई प्रत्यासीहरु जनक खड्का र बिश्वमणि घिमिरेले क्रमशः ३६ र १७ मत प्राप्त गरे ।


कोषाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरु भने सबै निर्विरोध भएका थिए । कोषाध्यक्षमा समुन्द्र भट्ट, सह कोषाध्यक्षमा हरी सिलवाल साथै सदस्यहरू किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे र नविन अवाल निर्विरोध निर्वाचित भए । त्यस्तै, थमन सिंह पुर्जा र सुरेश न्यौपाने मुख्य सहायक निर्देशक तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् ।
म्यूजिक खबर परिवार निर्देशक समाजको नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु