जेष्ठ पत्रकारलाई चलचित्र पत्रकार संघले मासिक ६ हजार सामाजिक सुरक्षा भत्ता दिने

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७९, शुक्रबार
film journalist association of Nepal

काठमाडौं । चलचित्र पत्रकार संघले ६० वर्ष उमेर पुगेका आफ्ना सदस्यलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमितिको निर्णयद्वारा ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकारलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता वापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

संघका सचिव विशाल राईद्वारा जारी विज्ञप्ती अनुसार उक्त सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गर्नुका साथै यो सुविधा प्राप्त गर्ने सदस्यको पहिचान कार्यसमिति र कल्याणकारी कोष सञ्चालक समितिले गर्ने निर्णय भएको छ ।

यसैगरी, बैठकले यही माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ । यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन यही फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ ।

अधिवेशन प्रायोजनका लागि संघका सदस्यहरुले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नविकरण गर्नुपर्ने निर्णय समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु