‘घर आउ’ लघुचलचित्र विभिन्न देशका चलचित्र महोत्सवमा छनौट

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७८, आईतवार

काठमाडौं । कम होम अर्थात् घर आउ। यो पुकार गर्छिन् एक आमा। आमाको भूमिका निर्वाह गरेकी छिन् उमादेवी विश्वकर्माले। आमा नेपालमा,छोरा अमेरिकामा। छोराको भूमिका निर्वाह गरेका छन् सौरमराज तुलाधरले। घर आउ फिल्ममा आमा र छोराको भिडियो कल सँगै कथा अगाडि बढ्छ। कथालाई एक वाक्यमा भन्न सकिन्छ– कोभिडको व्यथा।

कोभिडले विश्व आक्रान्त बनेको बेला नेपालमा आमाको चिन्ताको कुनै सीमा हुँदैन,छोराले सुरक्षित छु भन्दै आमालाई आश्वस्त बनाउँछ। छोरालाई पनि चिन्ता छ– कतै नेपालमा आमा र परिवारलाई पनि कोभिड संक्रमण हुने त होइन रु घरघरको चिन्ता,घरघरको कथा अनि घरघरको यस्तो व्यथालाई सर्लक्कै फिल्ममा उतारेकी छिन् किर्तना बान्सकोटा ।

छोराछोरी विदेशमा,बाआमा नेपालमा। कोभिड महामारी बीच नेपाली समाजमा चिन्ताको महामारी पनि फैलियो। चिन्ताको त्यो महामारीलाई ‘घर आउ’मा जिवन्त बनाएर उतारेका छन् कलाकारहरुले।‘घर आउ’ फिल्म टोली अहिले दंग छ। किनभने विश्वका चर्चित फिल्म फेस्टिभलमा ‘घर आउ’ चयन भएको छ।

‘स्नेही काख’ वृत्तचित्र बनाएर फिल्म निर्देशनमा किर्तनाले आफूलाई अब्बल सावित गरिसकेकी छिन् । ‘घर आउ’ले उनको निर्देशकीय क्षमता, गहिरो दृष्टिकोण र कलात्मक शैलीलाई अझ प्रखर रुपमा उजागर गरेको छ।

अमेरिकामा बसेर फिल्म बनाउनु सजिलो छैन। झन्,सर्ट मुभि अर्थात् छोटो फिल्म बनाउन अत्यन्त चुनौतीपूर्ण हुन्छ। ‘घर आउ’ को यति वयान गरिसकेपछि चित्त नबुझ्ने एउटा कुरा छ।

यो फिल्म सर्वसाधारणले सजिलै हेर्न पाउँदैनन्। फिल्म फेस्टिभलहरुमा मात्र हेर्न पाउँछन्।अस्टिन लिफ्ट अप फिल्म फेस्टिभलमा ‘घर आउ’ ले अडियन्स च्वाइस अवार्ड हात पारिसकेको छ।

‘घर आउ’ भ्यान्कुभर इण्डिपेन्डेन्ट फिल्म फेस्टिभलमा छनौट भएको छ। त्यसैगरी न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल, टोकियो लिफ्ट अफ फिल्म फेस्टिभलमा पनि छनौट भएको छ। त्यसैगरी टर्कीमा हुने फिल्म फेस्टिभलमा पनि छनौट भइसकेको छ। आगामी दिनमा ‘घर आउ’ टोली फिल्म फेस्टिभलहरुमा प्रदर्शनमा व्यस्त हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु