एक हजार डलरको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता हुने

म्यूजिक खबर
प्रकाशित: १६ भाद्र २०७७, मंगलवार

काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता’ गर्ने जनाएको छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०७७ मङ्सिर मसान्तसम्म दर्ता गरिसक्नुपर्ने प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले बताए ।
अमेरिकामा बसोबास गर्दै आउनु भएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको ब्यवस्था गरेका हुन् । यसअघि पनि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ घोषणा भइसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको पनि संयोजक लेकालीले जानकारी दिए ।

यस हेम सरिता पाठक फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिता आयोजना गर्ने बताएका छ ।
प्रतियोगिताका लागि दर्ता गर्ने गीत भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ । गीत रेकर्ड गरेर पाठउनुपर्नेछ । कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वतः अस्वीकृत हुने समेत आयोजक पक्षले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् । गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीत पठाउँदा गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि उल्लेख गरेको बायोडाटा पठाउनुपर्नेछ ।

प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ । प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ । गीत रेकर्ड गराएर २०७७ मङ्सिर मसान्तसम्म hemsaritapathak@gmail.com
इमेलमा पठाइसक्नुपर्नेछ । गीतको पुरस्कार राशि नगद एक हजार अमेरिकी डलर प्रमाणपत्रसहित सम्मान गरिने संयोजक लेकालीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु