इलाममा पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना हुने

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७८, बुधबार

आगामी २०७८ साल मंसिर १८ र १९ गते इलाममा साहित्यिक पत्रकार संघ, काठमाडौ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको छ ।

दुई दिवशीय सो सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारहरुको उपस्थिति रहनेछ । साहित्यिक पत्रकार संघ र इलाम नगरपालिकाले वि. स. २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो । जसमा भूपि शेरचन, केशवराज पिडाली, शंकर कोइरालालगायतका स्रष्टाहरुको विशेष उपस्थिति रहेको थियो ।

यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने र इलामको पर्यटनमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

सो सम्मेनलनमा कार्यपत्रहरु प्रस्तुति, पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसंग साक्षात्कार, साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, कवि सम्मेलन तथा इलाममा पर्यटकीयस्थलहरुको प्रदर्शनीलगायतका कार्यक्रमहरु हुनेछन् ।

इलाम नगरपालिकाले हालै स्रष्टापार्कको निर्माण गरिसकेको छ । भौतिक उपलब्धिमा अग्रस्थानमा रहेको इलाम नगरपालिका साहित्यिक र सास्कृतिक विकासको लागि साहित्य, कला, सङ्गीत प्रतिष्ठानको स्थापना गरेर काम गर्दै आएको छ । यस्तै इलामको पर्यटन विकासको लागि पनि इलाम नगर पर्यटन सरोकार समितिमार्फत काम गर्दै आएको छ ।

इलाम अहिले आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । सम्मेलनमा सहभागी स्रष्टाहरुले सम्मेलनको अवसरमा विभिन्न पर्यटकीयस्थलहरुको भ्रमण पनि गर्नेछन । यस सम्मेलनमार्फत इलामको पर्यटन र साहित्यको अझ प्रचार हुने पनि विश्वास लिइएको छ ।

साहित्य, कला, सङ्गीत प्रतिष्ठानले इलाममा पारिजातको प्रतिमा स्थापना, अरनिको सास्कृतिक सङग्राहालयको व्यवस्थापन र संचालन, वरिष्ठ सङ्गीतकार कोमल निरौलाको राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण, चर्चित साहित्यकार विष्णु नविनको अप्रकाशित तीन कृतिहरुको प्रकाशन, वरिष्ठ इतिहासविद एवं लेखक प्रा. युद्धप्रसाद बैद्यको “इलाम इतिहास र विकास” कृतिको प्रकाशन र बालसाहित्यको कृति प्रकाशनलगायत विभिन्न साहित्यिक र सास्कृतिक गतिविधिहरु सम्पन्न गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु