• दशकपछि पुनः सँगै दमन र जितु

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

    काठमाडौं । दशकपछि हास्य कलाकार जितु नेपाल र दमन रुपाखेती पुनः सहकार्य गर्ने भएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’मा हाँस्य कलाकार जितु नेपालले दमन रुपाखेतीलाई भित्र्याउने भएका हुन् । ‘मुन्द्रेको कमेडी क्लब’को तयारी गरिरहेका जितुले अब दमनसँग सहकार्य गर्ने भएका छन् ।

    जितुले सामाजिक सञ्जालमार्फत दमनसँगको तस्वीर सेयर गर्दै ‘गठबन्धन’ बनेको उल्लेख गरेका छन् ।

    “उहाँ मेरो सिनियर पनि हो । साथी पनि हो । त्यसैले अब मुन्द्रेको कमेडी क्लब आउँदा उहाँसँग सहकार्य हुन्छ,” जितुले भने, “अहिले सेट डिजाइनको काम गरिरहेको छु । एजेन्सीसँग फाइनल भएपछि कलाकार सार्वजनिक गर्छु ।” एजेन्सीसँग छलफल चलिरहेको जितुको भनाइ छ ।

    लामो समय जितु र दमनले हास्य कलाकारको जोडीका रुपमा काम गरेका थिए । तर, केही वर्ष अगाडिदेखि उनीहरू छुट्टाछुट्टै काम गर्न थालेका थिए ।

    ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भएको थियो । त्यसलाई परिमार्जित गर्दै उनी सोही नाममा कार्यक्रम गर्ने तयारीमा छन् । दिनेश डीसीले कमेडी क्लबलाई निर्देशन गर्दैछन् ।

    डीसी प्रमुख कार्यकारी अधिकृत रहेको नयाँ टेलिभिजन ‘नेपाल नेटवर्क टेलिभिजन’मार्फत मुन्द्रेको कमेडी क्लब प्रसारण गर्ने तयारी भएको निकट स्रोत बताउँछ । वैशाख ४ गतेदेखि परीक्षण प्रसारण सुरु हुने बताइएको उक्त टीभी च्यानलले साउनदेखि नियमित प्रसारण आरम्भ गर्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु