‘कठपुतली’ हेरेर धिरजले जिते ‘आइफोन १२’

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७९, मंगलवार

काठमाडौं। गत बर्षको पुष १६ गते प्रदर्शनमा आएको व्यावसायिक सफल फिल्म ‘कठपुतली’ले दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि उपहार योजना अगाडि सारेको थियो । फिल्म हेर्नका लागि सिनेमा हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गर्ने घोषणा गरिएको थियो ।

सोही घोषणा बमोजिम निर्माण टिमले ‘आइफोन १२’ जित्ने विजेताको नाम गोला प्रथाबाट छानेको छ । फिल्मको टिमले जारी गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमध्ये धिरज थापाले १ लाख ३० हजार मुल्यको ‘आइफोन १२’ जितेका छन् । मंगलवार फिल्मका अभिनेता कार्म शाक्यले गोला प्रथाबाट विजेताको नाम घोषणा गरेका हुन् । सेल्फी पोष्ट भएको फेसबुक अकाउन्टबाट थापा बुटवलको भएका र उनले त्यहांको क्युएफएक्स हलमा फिल्म हेरेको बुझिएको छ ।

विजेता थापाले ७ जनवरीमा साथीहरु गएर बुटवलको हलमा ‘कठपुतली’ हेरेका थिए । उनले साथीहरुसहितको टिकटसँग सेल्फी खिचेर फेसबुकमा पोस्ट गरेका थिए । फिल्मकी कार्यकारी निर्मात्री तथा लेखक सम्पदा मल्लले विजेता थापासँग सम्पर्क गरेर उपहार हस्तान्तरण गर्ने बताइन् । उनले विजेता थापालाई उपहार ग्रहण गर्नका लागि आफूहरुसँग सम्पर्क गर्न पनि आग्रह गरेकी छन् ।

फिल्मको प्रिमियर र रिलिजमा नेपाल हुन नपाउँदा खल्लो महशुस भएको बताउँदै कार्मले फिल्मबाट मिलेको प्रतिक्रियाले उत्साहित भएको बताए । उनले भने, ‘म स्क्रिप्ट पढ्दा नै उत्साहित थिएँ । फिल्म हेरिसकेपछि झन् आशा जगायो । मलाई घिसिपिसी लभस्टोरी र फर्मुलाको फिल्म गर्नु छैन । म सधैं फरक फिल्म गर्न चाहन्छु । भोलीका दिनमा पनि ‘कठपुतली’ जस्तो फिल्म गर्ने मन छ ।’

पृथ्वी राना मगरद्वारा निर्मित तथा भिमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका फिल्मका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा बनेको फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु