कलाका साधक जन्माउने ‘खोटाङ’

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७४, बुधबार

सइन्द्र राई


‘‘टाढा–टाढा जानु छ साथी…’’, ‘‘कल्पनाको गगन…’’, ‘‘तिमले त होइन तिम्रा भाकाहरूले…’’ जस्ता थोरै तर, कालजयी गीत गाएका बच्चु कैलाशलाई सीमितता र गुणात्मकताको उपमा दिन्छन्, नेपाली संगीतकर्मीहरू । तिनै बच्चु कैलाशलाई अर्काे उपमा थपिदैछ, एउटै जिल्लाबाट धेरै संगीतकर्मी हुर्काएको ।

माँझकिरातको केन्द्र खोटाङबाट मात्रै पछिल्लो पचास वर्षको नेपाली साँगीतिक यात्रामा सवा सय संगीतकर्मीले त गीत रेकर्ड मात्रै गराएपछि उनको उचाई उचो नहुने कुरै भएन । आजभोलि खोटाङ्गे संगीतकर्मीको आवाज नगुञ्जिएको दिन र मिडिया सायदै नहोला । जस्तो – राजेशपायल राई, पार्वती राई, कला राई, सत्यकला राई, धिरज राई, महेश खड्का, शान्तिराम राई, टिका चामलीङ, बीरेन्द्र राई, कन्काईष्ट राई, बेनुका राई, सरला राई, राधा राई, राई नविन आदि खोटाङे संगीतकर्मी नेपाली मनले मन पराएका नाम हुन् ।

२०६१ को सर्वाेत्कृष्ठ रचनाकार टीका चामलीङको बुझाईमा खोटाङको छोरम्बु सापातेलमा वि.स.१९९४ मा जन्मिएर बच्चुबहादुर बस्नेत अर्थात् बच्चु कैशालले ०१५–०३० को अवधिमा चुमेको नेपाली साँगितीक आकाशलाई रंगीन बनाउन आफ्नै जिल्लाका संगीतकर्मीहरू डो¥याएर मजबुतीको ईटा थपिरहेछन् । नवसंगीतकर्मीहरुको प्रवेश उस्तै उत्साहजनक भएको उनी बताउँछन् ।

नेपाली संगीतमा रचना, गायन र संगीतगरी १ २५ बढी संगीतकर्मी खोटाङका मात्रै छन् । त्यी मध्ये दुई दर्जन बढी व्यावसायिक नै छन् । उनीहरू साँगीतिक क्षेत्रबाटै जिविकोपार्जन बाहेक राम्रै कमाउन कमाउँछन् पनि । राजेशपायल, धिरज, पार्वती, सरला, सत्यकला, कला, राधा, कन्काईष्ट राईलगायत पैसा कमाउनेमा अग्रस्थानमा छन् । पूर्वी नेपालको खोटाङबाट यतिका धेरै संगीतकर्मीहरू उदाउनुमा बच्चु कैलाशलाई नै श्रेय जाने टीकाको कथन छ । उनका अनुयायीहरू प्रसस्त हुर्किरहे पनि बच्चु कैलाश आफै भने मिडियामा आउन चाहँदैनन् ।

उनीपछिका खोटाङे संगीतकर्मीहरू भने नेपाली मिडियामा भरपुर छाएका छन् । त्यसो त सरकारको मूल्याङकनमा पनि खोटाङे संगीतकर्मीहरु अगाडि छन् । दर्जन संगीतकर्मीलाई त सरकारले राष्ट्रिय पुरस्कार दिइसकेका छन् । शान्तिराम राई, टीका चामलीङ, बीरेन्द्र राई, राजेशपायल राई, कन्काईष्ट राई, बेनुका राई, कला राई, पार्वती राई, सरला राई, राधा राई र राई नविन राष्ट्रिय पुरस्कार जित्ने खोटाङ्गे संगीतकर्मीहरू हुन् । यी मध्ये राजेशपायलले पाएको पुरस्कार र उनले संगीत क्षेत्रलाई दिएको योगदान उच्च छ ।

उसोत काठमाडौं सिंहदरवारभित्रको रेडियो नेपालमा गीत रेकर्ड गराउनुको बिकल्प नहुँदाको समयमा पनि बच्चु कैलाशलगत्तै खोटाङका दर्जन संगीतकर्मीले गीत गाएका थिए । राजबीर थुलुङ, बहादुर चामलीङ, धनराज राई, नरेन्द्र श्रेष्ठ, चतुरभक्त राई, पूर्ण तामाङलगायतले रेडियो नेपालमा गीत गाए । उसबेला नेपाली संगीतले व्यावसायिक रुप नलिएकाले उनीहरू धेरै टिक्न सकेनन् । गीत गाउन नै काठमाडौ पुगेका दुर्गमका यी ताराहरू गाउँ नै फर्किए र सन्तती संगीतकर्मीहरू हुर्काइरहे ।

संगीत क्षेत्रमा प्रवेश गर्नेको क्रम अहिले पनि रोकिएको छैन । खोटाङबाट साँगीतिक क्षेत्रमा प्रवेश गर्न लर्काे नै छ । साप्ताहिक, मासिक र कुनै पर्व अवसरहरूमा साँगीतिक प्रतियोगिताको लहर लाग्छ । यस्तै, प्रतिश्पर्धाबाट आएका पछिल्लो नाम हुन्, रेवत राई, सचिन राई आदि ।
पेशाले शिक्षण, राजनीति, सरकारी कर्मचारी, वकिल, पत्रकार जे भएपनि संगीतमा हात हाल्नेको लहर रोकिएको छैन । पेशाले ठूले राई प्रहरीका एसपी हुन् । उनको लागि संगीत रुचीको बिषय हो ।

राजन राई एमालेका केन्द्रीय कमिटीमा छन् । अनेरास्ववीयुबाट दोश्रो जनआन्दोलन परिचालन समितिको संयोजकको भूमिका निर्वाह गरेका राजन राजनीति मात्रै गर्दैनन्, उनको ‘किन–किन’ एल्वमको ‘जिन्दगी यो फुलैफुलको थुङ्गो हुँदैन….’ गीतले थुप्रै अवार्ड जित्यो । राजनजस्तै राजनीति गर्ने कांग्रेसका नेता बिष्णु आभुषण संगीतका पनि सारथी हुन् । पेशाले शिक्षणमा रहेका धेरै खोटाङे शिक्षकहरुले संगीतमा पनि मन जितेका छन् ।
रचना, संगीत र स्वरका धनी खोटाङेहरुको पछिल्लो प्रस्तुती हो, ‘नौ रङ्गी सपना’ । गायक पृथी जिम्बाको स्वर र संगीत रहेको सो एल्बममा खोटाङे जीवन र ठाउँको सुन्दर बर्णन खोटाङेले नै गरेका छन् ।

नेपाली चलचित्र जगतमा पनि जिल्लाको उपस्थिती रामै्र छ । दर्जन बढी खोटाङे कलाकार सिने जगतमा छन् । भिमबहादुर थापा, लक्ष्मी गिरी, टंक लम्साल, राजकुमार राई, सुचित्रा श्रेष्ठ, नवल खड्का, कल्याण राई, टिकादक्ष राई, पदमसुन्दर राई, सुनिल पोखरेल, डाक्टर सुबोधकुमार पोखरेल, सुवेदकुमार पोखरेल र उदय पोखरेल खोटाङे हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु