रहेनन् वरिष्ठ निर्देशक किशोर राना

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०७६, बुधबार

काठमाडौं । बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको ६४ वर्षको उमेरमा बुधबार निदान हस्पिटलमा निधन भएको हो । ‘राँको’ बाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । रानाले ‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’, ‘एक नम्बरको पाखे’ सन्तानको माया, कब हुई मिलन हमार, मिस्टर मंगले, चक्र आदि चलचित्र निर्देशन गरेका छन् ।

पछिल्लो समय फिल्म ‘प्रतिबिम्ब’ निर्माणको क्रममा निर्देशक रानामा स्वास्थ्य समस्या देखा परेको थियो । मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गरेका थिए । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्षदेखि उनले नियमित डाइलिसिस गर्दै आएका थिए ।

आर्थिक अभावका कारण रानाले मृगौला प्रत्यारोपन गर्न सकेका थिएनन् । उनको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउने अभियान पनि थालिएको थियो । निर्देशक रानाले स्वास्थ्य अवस्थामा सुधार भए चाँडै फिल्म निर्माणमा फर्किने आशा व्यक्त गरेका थिए । २०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका निर्देशक रानाको पूर्खौली घर गुल्मी हो ।

बलिउडमा करीब १५ वर्ष विताएका उनले नेपाली फिल्ममा पहिलो पटक विएस थापाको फिल्म ‘कान्छी’ मा सहायक निर्देशकको रुपमा काम गरेका थिए । उनी पहिलो भोजपुरी फिल्मको लेखक तथा निर्देशक समेत हुन् । उनकी श्रीमती वरिष्ठ गायिका संगीता राना प्रधान हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु