७ औं राष्ट्रिय रनिङशिल्ड दोहोरीगीत प्रतियोगितामा दिलिप र बिमाले चुमे प्रथम पुरस्कार, तारा र टेकराज बने उपविजेता

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार
Lokdohori Running Shield Charaudi Dhading

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौंदीमा भएको “ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” मा दिलिप थापा मगर र विमा अनुरागीले उपाधि चुमेका छन् । प्रतिष्ठानको उपत्यका समन्वय समिति अन्तर्गतको बानेश्वर–कोटेश्वर समितिको तर्फबाट प्रतियोगितामा भाग लिएका दिलिप थापा मगर र विमा अनुरागीले उपविजेता कोरिया शाखालाई हराउँदै विजयी बनेका हुन् । प्रथम भएका समूहले तीन लाख नगदराशिसहित शिल्ड सहितको पुरस्कार प्राप्त गर्न सफल भएका थिए । द्वितीय स्थान हासिल गरेको कोरिया शाखाको तर्फबाट प्रतिस्पर्धी तारा थापा र टेकराज भण्डारीले दुई लाख नगद राशिसहित पुरस्कार चुम्न सफल भएका थिए ।

त्यसैगरी जापान शाखाले तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको थियो भने अनामनगर समितिले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो । जापान शाखाको तर्फबाट प्रतिस्पर्धी निशान विश्वकर्मा र सपना रोकाले १ लाख नगद राशिको पुरस्कार चुम्न सफल भए भने अनामनगर समितिको तर्फबाट प्रतिस्पर्धी विजय बानियाँ र सबिता परियारले ५० हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सहभागी ४८ समुहमध्ये जुम्ला शाखाको तर्फबाट सहभागी गीता सेजुवाल उत्कृष्ट नव गायिका बन्न सफल भइन् भने पाल्पा शाखाको तर्फबाट सहभागी रबिन नेपाली उत्कृष्ट नव गायकको पुरस्कार चुम्न सफल भए । त्यसैगरी बसपार्क समिती रातोको तर्फबाट प्रतिस्पर्धी जमुना बिक उत्कृष्ट प्रतिभावान गायिका बन्न सफल भइन् । त्यस्तै बसपार्क समिती सेतोको तर्फबाट सहभागी रत्न श्रेष्ठ र बागमती प्रदेशबाट सहभागी आशा केसीले उत्कृष्ट भेषभुषाको पुरस्कार चुम्न सफल भए । लुम्बिनीको तर्फबाट सहभागी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशिल गायिका बन्न सफल भइन् भने उपत्यका समन्वय समितीको तर्फबाट सहभागी शर्मिला श्रेष्ठ र काठमाडौं जिल्लाका अनिल सुनार उत्कृष्ट अनुशासित गायिका र गायकको पुरस्कार चुम्न सफल भए । यी सबै पुरस्कारको राशि १५ हजार नगदराशि रहेको थियो । त्यस्तै बागलुङ जिल्लाशाखाको तर्फबाट सहभागी सुमन खड्का र सुन्धारा समितीको तर्फबाट सहभागी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायक गायिकाको पुरस्कार चुम्न सफल भए । उनीहरुले २५ हजार नगदराशि सहितको पुरस्कार प्राप्त गरेका थिए ।

धादिङ जिल्लाको रोराङ–बेनीघाट गाउँपालिका वडा नं. ७ स्थित चरौंदीको मैदानमा आयोजित “ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता –२०८०” फागुन ५ मा प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको उक्त कार्यक्रम नेपाल सरकारका नागरिक उड्यन, पर्यटन तथा संस्कृती मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन कार्यक्रममा बेनीघाट गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, प्रतिष्ठानका पुर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी आदिको बिशेष आतिथ्यता रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा भएको “ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” को समापन कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष पशुपती शर्माले स्वागत मन्तब्य राखेका थिए । “ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” मा प्रतियोगीताको संयोजक प्रशासनिक उपाध्यक्ष दिपक खड्का, कार्यक्रम संयोजक प्रशासनिक सचिव जीवन दाहाल रहेका थिए भने केन्द्रिय सहकोषाध्यक्ष ईश्वरी प्रसाद भुसालले बाद्यवादन संयोजकका भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा लोकदोहोरीको रौनकतामा रमाउने दर्शकहरुको बाक्लो घुइँचो नै लागेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव शिब हमालले गरेका थिए भने दोहोरी प्रतियोगिताको कार्यक्रम सञ्चालन पुर्व अध्यक्ष प्रजापती पराजुली र कार्यक्रमका सहसंयोजक भरत बराकोटीले गरेका थिए कार्यक्रममा प्रमुख अतिथि माननीय सुदन किराँती, बेनीघाट गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया लगायत विविन्न क्षेत्रबाट सहयोग गर्ने एवं कार्यक्रम सम्पन्न बनाउने दाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु