• साहित्यको सागरभित्र गीतकार ‘युवराज अधिकारी’

    म्यूजिक खबर
    प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार
    Ubaraj Adhikari

    सुमन पण्डित÷म्यूजिक खबर


    आफ्नो आफ्नै जीवन हुन्छ
    भोगाइ आफ्नो आफ्नै
    बाटो एउटै भए पनि
    हिंडाई आफ्नो आफ्नै
    ……………..

    जीवन र जगतसँग नजिक रहेर लेखिएको माथिका शब्दहरुले पनि गीतकारको लेखनलाई मापन गरेको छ । २०६४ सालतिर रेकर्ड भएको यो गीत प्रकाश श्रेष्ठका स्वरमा बजारमा आएको थियो । गीतकार थिए युवराज अधिकारी । युवराज अधिकारी गीति लेखनका हिसाबले पुराना हुन् तर रेकर्डका हिसाबले पनि उनी डेढ दशकको यात्रामा छन् । उनको लेखनमा जीवन, जगतभित्रका अनुभवका सिद्धान्तहरु भेटिन सक्छन् । मायाप्रेमभित्र पनि भूगोल हुन्छ, भूगोलसँगै सिर्जनाको मुहान हुन्छ । गीतकार अधिकारी पनि त्यही भूगोलसँगको सामिप्यतामा साहित्यिक व्यक्तित्वका रुपमा परिचित थिए । त्यही साहित्यको अनुयायी बन्दै गर्दा आज गीतकारको पंक्तिमा दर्ज भएका छन् ।


    गीतकार अधिकारी इलामको आइतबारे बजारमा जन्मिएका हुन् । बुबा स्व.गोपीनाथ अधिकारी र आमा इन्दिरादेवी अधिकारीको कोखबाट जन्मिएका अधिकारीले आइतबारे बजारकै वीरेन्द्र प्राथमिक विद्यालयमा उनले प्राथमिक शिक्षा हासिल गरेका थिए । त्यसपछि माध्यमिक शिक्षा भने करफोक विद्या मन्दिरमा भएको हो । जुन विद्यालयमा पहिलोपटक राष्ट्रि कवि सम्मेलन भएको थियो । बाल्यकालदेखि नै साहित्यिक र खेलकूदमा रुचि राख्ने व्यक्तित्व हुन् गीतकार अधिकारी । स्कुले जीवनदेखि नै साहित्यिक प्रतियोगितामा भाग लिन्थे उनी । प्रतियोगिताहरुमा पुरस्कारसमेत जितेको अनुभव छ उनीसँग ।

    Yubaraj Adhikari
    कवि बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविता पढेपछि लेखनमा झन् प्रेरित भएका थिए अधिकारी । स्कुले जीवनमा धेरै कविताहरु लेखे, वाचन गरे । अधिकारीले दार्जिलिङका सुप्रसिद्ध कथाकार रुपनारायण सिंह प्रधानको ‘नवरत्न’ कथासंग्रह, करफोक विद्या मन्दिरको वार्षिक प्रकाशन ‘जूनेली’, दार्जिलिङबाट नै प्रकाशित भएको पुरानो तर चर्चित साहित्यिक पत्रिका ‘भारती’को लेख कविताहरुलाई उनी राम्रोसँग अध्ययन गर्ने गर्थे । उनलाई इलामको भूगोलले पनि साहित्यिक बनाइदिएको थियो । रमणीय डाँडाकाँडा, नागबेली पहाडले पनि सिर्जना नगरी नहुने बनाएको थियो उनको मनमा । त्यसैले नै उनी स्कुले जीवनदेखि नै साहित्यिक बनेका थिए ।

     


    २०३५ सालतिर इलाममा रहँदा ‘कन्दरा’ साहित्यिक प्रकाशन गरेको अनुभव छ गीतकार अधिकारीसँग । कृष्ण धराबासी, केशवराज पौडेल, पदम नेपाल, लेखनाथ भट्टराई, प्रकाश बुढाथोकीको साथमा सम्पादन मण्डलमा थिए युवराज अधिकारी पनि । कन्दराको प्रमुख सम्पादकको रुपमा गणेश निरौला थिए । त्यही ‘कन्दरा’ साहित्यिक प्रकाशन सुरुमा भित्ते पत्रिकाका रुपमा आए पनि पछि त्यसलाई छापाको रुपमा पनि प्रकाशित गरेका थिए । त्यस्तै इलामकै विष्णु नवीनको स्मृतिग्रन्थ ‘चियाबारी’को पनि सम्पादक भएर उनले काम गरेका थिए । संरचना द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन गर्दै आएका गीतकार अधिकारीले २०३६ सालतिर ‘मेरा चित्कारहरु’ कवितासंग्रह नै बजारमा ल्याएका थिए । कविका रुपमा परिचित हुँदै आएका युवराज अधिकारीले साहित्यिक पत्रकार संघको २०४५ सालतिर प्रकाशन भएको ‘सिर्जना’ कोसमेत सम्पादन गरिसकेका छन् ।

    कवि तथा गीतकार युवराज अधिकारीका सिर्जनाहरु बजारमा धेरै प्रकाशन भइसकेका छन् । मधुपर्क, गोरखापत्र, नेपाल लगायतका पत्रिकाहरुमा कविता, गीतहरु दर्जनौं प्रकाशन भएका छन् ।

    अक्षता र जमरामा आमा बाबु देख्छु
    एक्लै बसी आँसु झार्दै तस्विर पल्टाइ हेर्छु
    दिदीबहिनी दाजुभाइ भेला भए होलान्
    आज धेरै टाढा छु म सम्झी रोए होलान्
    ………………….

    पछिल्लो समय विदेसिएकी युवा पुस्तालाई समेटेर गीतकार अधिकारीले गीत सिर्जना गरेका होलान् तर हिजोको पुस्तामा लाहुर जाने वा मुग्लान पस्नेहरुको कथा पनि यसैभित्र समेटिएको छ । आफ्नो जन्मभूमी छोडेर बाध्यता र बिवशताले परदेशमा बस्नु परेको र दसैं तिहारमा घर आउँन नपाउँदा पोखिएका पीडाहरु यस गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । चाडपर्वहरु मनाउँदा सम्पूर्ण परिवार सागसँगै हुन नपाउँदा साच्चै पीडाको अनुभूती हुन्छ । वियोगान्त भावको यो गीतलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ । गीतकार अधिकारीको रचना र सुरेश अधिकारीको संगीत रहेको गीतमा पुराना गायक दीप श्रेष्ठको स्वरमा रेकर्ड भएको यो गीत ‘देउरालीको फूल’ एल्बमको पहिलो नम्बरमा राखिएको गीत हो । उक्त एल्बमभित्र आकाशको माथि माथि रामकृष्ण ढकालको स्वरमा रहेको गीत पनि उत्तिकै गहिराईमा लेखिएको देखिन्छ । आँसु आफैं पिउनु पर्छ स्वरुपराजको स्वर रहेको गीतलाई पनि धेरैले मनपराईदिएका छन् । एक्लै एक्लै प्रमोद खरेल, विहानीको शीत टेकेर दीप श्रेष्ठ र देउरालीको फूल गीतमा मीना निरौला र दीप श्रेष्ठको स्वर रहेको छ । एल्बमका सबै गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । उनका गीतहरुले अवार्ड समेत चुमिसकेका छन् भने धेरै अवार्डमा उत्कृष्ट पाँचभित्रको मनोनयनमा पनि परिसकेका छन् । स्टार इन्टरनेशनल अवार्डमा उत्कृष्ट एल्बम सावित भएको ‘देउरालीको फूल’को गीतबाट ८ औं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डमा गायिका मीना निरौलाले उत्कृष्ट गायिकाको अवार्ड चुमिसकेकी छन् ।

    Yuvaraj Adhikari
    यो एल्बमबाहेक उनका गीतहरु धेरै नै रेकर्ड भइसकेका छन् । विश्वास गर आफूलाई नै पूजन प्रधानको संगीतमा कुवेर राईले गाएका छन् । नयाँ गीतिसंग्रह पुस्तकका रुपमा प्रकाशन गर्ने क्रममा रहेका गीतकार अधिकारी अलि गम्भीर प्रकृतिका सिर्जना गर्न रुचाउँछन् । पुराना पुस्ताका नारायण गोपाल, दीप श्रेष्ठ, अम्बर गुरुङ, अरुणा लामा, तारादेवीहरुलाई रुचाउने गीतकार अधिकारी त्यसपछिका रामकृष्ण ढकाल, यम बराल, स्वरुपराज आचार्य, शिव परियार, प्रमोद खरेल, मीना निरौला, अन्जु पन्त लगायतका स्वरमा झुम्ने गर्छन् । वियोगान्त र संयोगान्त जे भए पनि गीत सदाबहार हुनुपर्छ भन्ने मान्यता राख्ने गीतकार अधिकारीले गरेका सिर्जनाहरुमा विम्व र प्रतिकहरुको सुन्दरता भेटिने गर्छ । गीतभित्र प्रकृति र मानवीयताको चित्रण राम्रोसँग गर्न सक्ने क्षमता भएका गीतकारका रुपमा चिनिन्छन् अधिकारी । गीतमा मानविय संवेदनाको अभिव्यक्ति पोखिएको छ । मानिसको जीवनमा हाँसो आँसु सागसँगै जोडिएका हुन्छन् । तर, भित्री मन रोए पनि बाहिर अरुलाई देखाउन जरुरी छैन् । तर आफूले आँसु पिएर अरुलाई हाँसो देखाउनु पर्छ भन्ने खुबी गीतकारभित्र हुनुपर्छ भन्ने मान्यता राख्छन् उनी ।

    ‘डिपार्टमेन्ट स्टोरले सबै सामान उपलब्ध गराएजस्तै गीतकारले पनि सबै स्वादका सिर्जना पस्किनुपर्छ’ गीतकार अधिकारी भन्छन्– ‘साहित्य र संगीत कुनै पनि समाजभित्र सरल र सहज रुपमा स्वतन्त्रपूर्वक रहन सक्नुपर्छ । समाज र देशसँग जोडिएका सिर्जनाले समृद्ध समाजको निर्माण गर्न सक्छ ।’


    २०३६ सालतिर काठमाडौं प्रवेश गरेका गीतकार अधिकारी आफ्ना दाजु मुकुन्द अधिकारी र भाउजु गायिका उषाकिरण अधिकारीको अभिभावकत्वमा पढाईलाई अगाडि बढाएका थिए । उच्च शिक्षा हासिल गर्न राजधानी छिरेका उनी पढाइसँगै जागिरे जीवनलाई पनि व्यति तगर्दै थिए । २०४३ सालबाट नेपाल वायु सेवा निगममा स्थायी जागिरे भएका उनी अहिले निर्देशकका रुपमा सोही ठाउँमा नै कार्यरत रहेका छन् । २०४८ सालमा विनिता न्यौपानेसँग वैवाहिक जीवनमा बाँधिएका गीतकार अधिकारी अहिले पनि सरकारी सेवामा नै समर्पित छन् । यतिबेला जागिरे भए पनि अवकास पछिको जीवन भने सामाजिक सेवामा नै लगाउने सोच उनीभित्र छ । समाजसेवाभित्र नै राम्रा राम्रा सिर्जना गर्दै स्वदेश र विदेशका विभिन्न ठाउँहरुमा भ्रमण गर्ने उनको लक्ष्य छ । कथा, कविता र गीत संग्रह प्रकाशनको क्रममा रहेका छन् । जति स्थानमा भ्रमण गर्न सकिन्छ उत्ति नै सिर्जना पनि अब्बल बन्दै जान्छ भन्नेमा उनी विश्वस्त छन् ।

    विडम्बना
    उ हारेको थियो
    र निराश थियो
    तिमीले
    आशा र भरोसा दियौ

    उठायौ, हिंडायौ
    र, शीरमाथि पनि राख्यौ
    समय हो
    उसले रङ्ग फे¥यो
    सायद सत्य यही हो
    समयभन्दा बलवान
    कोही र केही हुनै सक्तैन
    तिम्रो शीरमाथि
    फोहोर गरेर
    ऊ दुर्जन हाँसो हाँस्यो
    अट्टहास गरेर
    तर टेकेको धर्ती बिर्सेर
    कर्तव्यच्यूत बिचरा
    आफैं दुर्दशाको यात्रामा लम्किरहेछ
    आफ्नै स्वाभिमानको शीरमाथि
    फोहोर गर्ने उसलाई
    अझै आँखा देखोस् भनेर
    दियोको बत्तीजस्तै
    आफैं जलेर पनि
    उज्यालो छरिरहेछौं÷बाटो देखाइरहेछौ
    सायद,
    मानवताको देदीप्यमान ज्योति
    तिम्रो स्वच्छ र निस्कलंक
    मुस्कुराहट सित पनि
    ऊ आफैं जलेर मरिरहेछ
    ऊ आफैं जलेर मरिरहेछ ।

    • म्यूजिक खबर पाक्षिकबाट
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु