संस्कृतीलाई सम्मान गर्दै मन्जुले गरिन् जन्मदिनमा केक नकाट्ने निर्णय

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७८, शुक्रबार
manju-poudel मन्जु पौडेल

सविता पोखरेल
काठमाडौं । आज लोकप्रिय गायिका तथा उद्घोषिका मन्जु पौडेलको जन्मदिन हो । चालिस बसन्तकोे नजिक पुगिरहेकी मन्जुको जन्मदिनको उपलक्ष्यमा सामाजिक सञ्जालका भित्ताहरुमा हिजो देखी नै शुभेच्छा र शुभकामनाको ओइरो लागेको छ । तर, गायिका पौडेलले आज आफ्नो जन्मदिनमा केक काटेर नमनाउने जानकारी गराएकी छिन् । उनले यो वर्षबाट जन्मदिनमा केकनै नकाट्ने निर्णय लिएको पनि बताइन् । मिडिया र आफन्तहरुले सप्राइजमा राखेका कार्यक्रमलाई समेत उनले अस्विकार गरिन् ।

उनले खर्चको मितव्ययिता र आफ्नो संस्कृतीलाई सम्मान गर्दै ‘वर्थ डे’ मा केक नकाट्ने निर्णय गरेकी हुन् । हामीसँग कुरा गर्दै गायिका पौडेलले भनिन् – ‘जन्मदिनमा दर्शकको माया र शुभेच्छा भए मलाई पुग्छ । अचानक मनबाटै यस्तो भावना आएको हो । अब आगामी कुनै पनि जन्मदिन विशेषमा केक काट्ने छैन । तर जन्मदिन विशेषमा सामाजिक कार्यमा सक्दो निहित हुने छु । मन्दिर जानेछु । घरमै पुजाअजा गर्छु ।’ मेरो मनले मेरै मनलाई विविध प्रश्न सोधेपछि यस्तो अठोट लिएकी हुँ । मनभित्र सकारात्क प्रेरणा जगाउने भगवानलाई जन्मदिनको यो घडीमा कोटी कोटी नमन टक्र्याउँछु ।’

यस अघिका जन्मदिनमा मन्जुलाई निकै ठाउँबाट निमन्त्रणा आउँथे । मिडियाहरुसँग समेत उनले जन्मदिन मनाएकि छिन् । ८–१० वटा त केक नै काट्थिन् । उनका अनुसार यो वर्ष पनि केक र जमघटका लागि निम्तो आइरहेको छ । सबैलाई यो सब नगर्न अनुरोध गरिरहेकी छिन् ।

आफू जन्मदिन मनाउने कुरामा खासै उत्साहित नहुने भए पनि छोरी स्नेहा, दिदी बिमला र बहिनी इन्दुले जन्मदिनलाई विशेष बनाउने प्रयास गर्ने समेत मन्जुले बताइन् । मन्जुका अनुसार यसअघि छोरी स्नेहा र बहिनी इन्दुले नै पारिवारीक रुपमा जमघटको व्यवस्था गर्दै जन्मदिन मनाइदिने गरेका थिए । यो वर्ष पनि पारिवारीक रुपमा जमघट गर्ने र केक काट्ने तयारीलाई रोकिन् । छोरीलाई भने सम्झाउन निकै गार्हो भयो । गाउँले परिवेशमा हुर्किएकाले र बाल्यकालमा केक काटेर जन्मदिन नमानएकाले पनि होला जन्मदिनमा केक काट्दा सन्तुष्टि कहिले मिलेन । साथीभाइ र आफन्तको खुशीको लागि भने काट्दै आएकी थिएँ । केक काट्नु या नकाट्नु कुनै ‘बिग डिल’ होइन । कुनै इश्यु पनि बनाउन चाहन्न । मेरो लागि माया र शुभेच्छा नै ठुलो कुरा हुन् ।

प्रसंगलाई नै निरन्तरता दिंदै मन्जु भन्छिन् – तर, जन्मदिनको चर्चा यति विघ्न चलेको राम्रो या नराम्रो हामीले समीक्षा गर्नुपर्छ । केही वर्षअघिसम्म उच्च घरानियाँ र बालबालिकाको इच्छा पूरा गर्न जन्मदिनमा बत्ती निभाएर केक काट्ने चलन थियो। हिजोआज बालबालिका, युवायुवती र वृद्धवृद्धासम्म, हुनेखानेदेखि हुँदा खानेसम्म, शहरदेखि गाउँसम्म यो चलन पुगेको छ । यसले हाम्रो संस्कृतीमा असर पु¥यायाईरहेको छ । रमाइलो मात्र होइन, आरोग्यता पाइयोस्, कर्मशील हुन पाइयोस्, परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीबोध होस्, संस्कृति नमरोस् भन्ने ध्येयले जन्मदिन मनाउने हो । जन्मेर अहिलेसम्म के गरेँ, अब के गर्नुपर्छ भन्ने कर्तव्यबोध गराउने दिन हो ।’ यहि कुरा छोरीलाई भनेपछि छोरीले पनि बुझिन् । अर्डर गरेको केकलाई रिजेक्ट गरिन् ।

हेर्नुहोस् दुई वर्ष अघि मन्जुले नजिकका सांगीतिक साथीभाइ र मिडियासँग मनाएको जन्मदिनको भिडियो :

आज जन्मदिन भनिरहँदा कसको सम्झना आइरहेको छ भन्ने प्रश्न पुरा हुन नपाउँदै मन्जुले यसरी सुनाइन् – ‘मेरो आमा र वुवालाई सम्झन चाहन्छु । वुवा आज यस धर्तिमा हुनुहुन्न । तथापि वुवाको आशिर्वाद र वुवाले देखाएका बाटा र सिकाएका शिक्षालाई कदापि भुल्ने छैन । छोरी स्नेहालाई उचित संस्कार र ममता दिन सकुँ । भगवानरुपी दर्शक श्रोताको सदैव माया पाउँ भनेर भगवानसँग प्रार्थना गरें ।’ मन्जुले अगाडि भनिन् –‘फोन, एसएमएस र सामाजिक सञ्जाल मार्फत् दिएका जन्मदिनको आर्शिवाद ग्रहण गर्दै, सबै सबैमा आभार प्रकट गर्दछु । तपाईंहरुले दिएका शुभकामना मेरो जीवनका उर्जा र उत्साह हुन् । बाँचुन्जेली यस्तै अपेक्षा गर्दछु । केक काट्न सरिक नहुने मेरो निर्णयका लागि भने माफी चाहन्छु । ’

‘तिमी लाईटर म भाको चुरोट, धुवाँसरी फैले छ कुरो त‘’ मञ्जु पौडेलको निकै नै चर्चित लोक दोहोरी गीत हो । त्यस्तै उनले ‘पिरतीमा हानेको मैले गोल, नखोल हैन सानुले गाउँमा पोल, तलतल लाग्यो मलाई’ लगायतका दजर्नौ लोक गीतहरु सांगीतिक बजारमा हिट छन् । हरेक वर्ष तीजमा उनका गीतले राम्रो चर्चा पाउने गरेका छन् ।

कोरोनाको कहर बढिरहेका बेला आफ्नो जन्म दिनका अवसरमा मन्जुले सबै कुरा छिटै सामान्य होस् भनेर कामना गरेको बताइन् । सकारात्मक सोचकी सबैकी प्रिय गायिका मन्जु पौडेललाई म्यूजिक खबर परिवारको तर्फबाट पनि जन्मदिनको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु