
संक्षेपमा
काठमाडौं । गजल विधाको उन्नयन र प्रवद्र्धनका लागि हुँदै आएको कार्यक्रम ‘गजल यात्रा’को छैटौं सस्ंकरण हुने भएको छ । अमेरिकाको बोस्टनमा यो वर्षको गजल यात्रा – ६ हुने भएको हो । गजल यात्रा र अनेसास बोस्टन च्याप्टरको आयोजनामा हुने कार्यक्रमलाई ब्लड डोनर्स एसोसिएसन अफ अमेरिका अमेरिकाले सहकार्य गर्ने भएको हो । विगतमा अमेरिकाको डेनभर राज्यमा हुँदै आएको कार्यक्रम गजल यात्रा यो वर्ष अमेरिकाको बोस्टनमा हुने भएको छ । यो वर्ष अमेरिकाको बोस्टनस्थित नेपाली कम्युनिटी सेन्टर, ५९४ वाशिङ्टन स्ट्रीट, ब्रेन्ट्री म्यासाच्युसेट्समा हुने छ ।
जुलाई १९ र २० दुई दिनसम्म कार्यक्रम हुने कार्यक्रम पूर्णतया सांगीतिक माहोलमा सम्पन्न हुनेगरि तयारी तीब्र पारिएको छ । पहिलो दिन जुलाई १९ मा बेलुकी ५ बजेदेखि विशेष गजल गायन तथा सहभागी परिचयात्मक कार्यक्रम हुने छ । भोलिपल्ट, जुलाई २० का दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म विशेष गजल वाचन कार्यक्रम हुने छ । अमेरिका बस्दै आएका नयाँ पुराना गजलप्रेमी तथा गजलकारले कार्यक्रममा गजल वाचन गर्दैछन् । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका संगीत, साहित्य र कलाका सबैजसो क्षेत्रका नेपाली स्रस्टाहरू वाचनका लागि, गजल सुन्नका लागि बोस्टन आउने छन् ।
कार्यक्रममा सुप्रसिद्ध संगीत साधक गायक तथा संगीतकार मनोजराज सिवाकोटी पनि गजलमा गुञ्जिने भएका छन् । नेपाली शास्त्रिय संगीत र गजल गायनमा समेत कहलिएका सिवाकोटीको कार्यक्रममा प्रस्तुतिका लागि आयोजक, गजलप्रेमी र संगीतप्रेमी निकै प्रतिक्षित छन् ।
नेपाली गजललाई गेयात्मक विधामा स्थापित गराउन महत्वपूर्ण भुमिका खेलेका गायक सिवाकोटीले प्रस्तुतीका लागि आफू पनि उतिकै उत्साहित भएको हामीलाई बताए । उनी भन्छन् – ‘रेकर्ड नभएका नेपाली तथा नयाँ ताजा गजलहरु प्रत्यक्ष गायन गर्ने तयारीमा छु ।’
उनी आफू बैठकी गायनमा रमाउँछन् आफ्नो गायकीले धेरैलाई एकाग्र बनाउँछन् । लोक, आधुनिक, पप, शास्त्रीय, चलचित्र जुनसुकै गायनमा पनि उनको गायकीले मोहित बनाउँछ । २५ वर्ष लामो समय देखि सांगीतिक क्षेत्रलाई पोषित गर्दै आएका छन् ।
शास्त्रिय संगीतमा कहलिएका उनी हाल अमेरिकाको डेनभर राज्यमा बस्दै आएका छन् ।