• मीरा गोतामेको पहिलो कृति ‘नीति’

    म्यूजिक खबर
    प्रकाशित: २ आश्विन २०७८, शनिबार

    काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा असोज २ गते भएको एक विशेष कार्यक्रममा मीरा गोतामेको उपन्यास नितीको लोकार्पण भयो । कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली लगायतले पुस्तक लोकार्पण गर्नुभएको थियो । स्रष्टा मीरा गोतामेको यो पहिलो कृति हो । ३५ अध्यायमा लेखिएको यो उपन्यास अनेसास एसिया च्याप्टरको प्रकाशन संयोजनमा धर्मराज बोगटीले प्रकाशित गर्नुभएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि भागीरथी श्रेष्ठले उपन्यास कुतूहलपूर्ण भएकोले पढ्न थालेपछि नसकिएसम्म तानिरहने बताउनुभयो । विषय, घटना, पात्र र भाषा सबै दृष्टिबाट पुस्तक राम्रो रहेको बताउँदै उहाँले उपन्यासको अन्त्यले न्याय गरेको धारणा राख्नुभयो । अर्का वक्ता हिरण्यकुमारी पाठकले महिला साहित्यकारहरूको संस्था गुन्जन १० जनाबाट सुरु भएकोमा आज १०० भन्दा बढी सदस्य भएको जानकारी दिदै महिला साहित्यकारको सङ्ख्या बढ्नु सुखद् भएको बताउनुभयो । उहाँले लोकार्पित पुस्तकका स्रष्टालाई बधाई दिदै भन्नुभयो, “पहिलो कृति नै उपन्यासका रूपमा लेख्नु पनि महत्वको कुरा हो ।“

    प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले उपन्यासमा नेपाली नारीले भोग्नुपरेका विभिन्न समस्यालाई सचेततापूर्वक उठाइएको र त्यसलाई न्यायपूर्ण तरिकाले निरूपण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपन्यासमा नारीका समस्या उठाइए पनि पुरुष चरित्रप्रति पनि न्याय गरिएको छ ।“ अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेतले पहिलो उपन्यासमा नै दह्रो रूपमा प्रस्तुत भएकोमा स्रष्टालाई बधाई ज्ञापन गर्दै नारी सम्बद्ध थुप्रै उपन्यासले सम्बोधन गरेको बताउनुभयो ।

    कार्यक्रमको अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले सङ्घका गतिविधिमाथि प्रकाश पार्दै मीरा गोतामेको साहित्यिक यात्राका लागि हार्दिक शुभकामना दिनुभयो । उहाँले प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुलाई संघको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो भने लोकार्पित कृतिका सर्जक मीरा गोतामेलाई सम्मान पनि गरिएको थियो ।

    उपन्यासकार मीरा गोतामेले आफूले समाजवरपर नेपाली नारीले भोगिरहेका अनेकन् समस्या देखेको र ती समस्याहरूले आफूलाई सधैं भावुक बनाउने गरेको बताउनुभयो । त्यही भावुकताले घच्घच्याएपछि लकडाउनको समयको सदुपयोग गरेर उपन्यास तयार गरेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा उपन्यासकारका जीवनसाथी एवम् प्रकाशक धर्मराज बोगटी, उपन्यासकारका बाल्यकालका साथी रक्षा अधिकारी, साहित्यिक पत्रकार सङ्घका सदस्य डा. दामोदर पुडासैनी किशोर र साहित्यकार गीता सापकोटाले पनि बोल्नुभएको थियो ।

    कार्यक्रममा संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, शब्दार्थ प्रकाशनका विनय नेपाल, सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिलको पनि उपस्थिति रहेको थियो ।
    चर्चित गायिका रितु कडेलले गीतहरु गाउनु भएको सो कार्यक्रममा चर्चित कलाकार नितु कोइराला, गायिका रिता के. सी., कवि एवं चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कवि एवं पत्रकार मणि लोहनी, समालोचक डा. रमेश शुभेच्छुक, चेतन कार्की प्रतिष्ठानका महासचिव मुरारी सिग्देल आदिको उपस्थिति रहेको थियो ।

    यसैगरी सो कार्यक्रममा साहित्यकारहरु कमल ढकाल, डा. शान्तिमाया गिरि, रमेश दहाल, वीणा सिह, रन्जना निरौला, सुमन बर्षा, पारु तिमिल्सिना, कमला शाक्य, उमेश पाण्डे, हरिराम पौडेल, यशोदा अधिकारी, इलु ढुंगाना, अनिल अनल, कल्ब फिप्टीका अध्यक्ष दमन बस्नेत, शोभा कार्की, सरिता दाहाल, बबिता ढुङ्गेल, सुमना कडेल, उर्मिला सुब्बा, रेबिना महर्जनलगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु