‘लेख्ने विषयको खोजी’ लिएर आए कवि मोदनाथ मरहठ्ठा

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७७, बुधबार

काठमाडौं । प्रगतिवादी धाराका स्थापित कवि मोदनाथ मरहट्टा यसपठक निबन्ध सङ्ग्रह लिएर पाठक सामू उपस्थित भएका छन् । उनको निबन्ध कृति ‘लेख्ने विषयको खोजी’ पुस्तकको एक कार्यक्रमका बिच सार्वजनिक भएको हो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा उक्त पुस्तक सार्वजनिक तथा परिचर्चा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने समीक्षकहरुले ‘लेख्ने विषयको खोजी’ निबन्ध सङ्ग्रहले समाजशास्त्रीय, लैङ्गिक, वैचारिक, राजनीतिक तथा वर्गीय हिसावले अध्ययन गर्नेहरुका लागि प्रसस्त सामग्री दिएको बताए । उपभोक्तावादी तथा कर्पोरेट साहित्यले बजार छाएको समयमा समाजवादी यथार्थवादी साहित्यका माध्यमबाट आएको प्रस्तुत कृति सबैका निम्ति पठनीय रहेको टिप्पणीकारहरुको धारणा थियो ।

निबन्ध लेखनको ढाँचा बस्तुपरक र आत्मपरक हुने बताउँदै वरिष्ठ माक्र्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेले पुस्तकको चर्चा गर्दै मोदनाथको यस कृति वस्तुपरक र आत्मपरकताको राम्रो संयोजन भएको बताए । उनले निबन्धमा गन्थन बढि आउने बताउँदै प्रस्तुत पुस्तकमा त्यस्तो गन्थन नभएको र यसले प्रगतिवादी निबन्धलाई माथि उठाएको छ भने ।

पुस्तकबारे चर्चा गर्दै प्रगतिवादी आख्यानका इस्मालीले आम मान्छेलाई सरोकार राख्ने विषय प्रस्तुत सङ्ग्रहमा समेटिएको बताए । उनले यस निबन्ध सङ्ग्रहमा विशेषतः गोरखा र चितवनको भौगोलिक परिवेस तथा जनजीवनको चित्र अङ्कित भएपनि यसले समग्र नेपाली जनताको परिवेस औँल्याएको बताए ।

त्यसैगरि पुस्तकको चर्चा गर्दै डा.गीता त्रिपाठीले पुस्तकको लेखन शैली निकै आकर्षक रहेको र कवितात्मकता एवम् बिम्बात्मकता प्रचुर मात्रामा रहेकोले ‘लेख्ने विषयको खोजी’ सबैका निम्ति उपयोगी रहेको बताइन् । निबन्धहरुले वर्गीय पक्षधरता लिएता पनि केही निबन्धहरु आदर्शवादी धाराबाट प्रभावित रहेको टिप्पणी समीक्षक यादव देबकोटाको थियो । पुस्तकमा विषयको गहिराई तथा अनुभूतिको गाम्भीर्यता र चित्रात्मक प्रस्तुती रहेको अर्का टिप्पणीकार मित्रलाल पंज्ञानीको थियो ।

यसरी पुस्तकमाथि टिप्पणी गर्ने समालोचकहरुमा नविन विभास, प्रा.डा. जगदीशचन्द्र भण्डारी, गौरी दाहाल, हिरामणि दुःखीसमेत रहेका थिए । उनीहरु सबैले अत्यन्तै गहन र सवल शिल्प पक्ष रहेको पुस्तक सबैका निम्ति पठनीय रहेको बताए । कार्यक्र महासङ्घका उपाध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको अध्यक्षता तथा महासचिव हिरामणि दुःखीको सञ्चालनमा भएको थियो । सो कार्यक्रम इच्छुक सांस्कृतिक प्रतिष्ठानको ‘चन्द्रागिरी कक्षमा’ सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु