• चलचित्र ‘आरुसी’ बन्दै ! उदयको निर्देशनमा इशकको डेव्यु !

    म्यूजिक खबर
    प्रकाशित: १० मंसिर २०७५, सोमबार

    काठमाडौं । झण्डै १ करोड लागतमा चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । गणपति फिल्मस्का लागि उदय सुब्बाको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्र यहि मंसिर १५ गते सुटिङ फ्लोर जादैछ ।

    त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले हिरोको रुपमा डेव्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो । पेशाले यि तिनै जना व्यापार व्यवसायमा संलग्न छन् ।

    फिल्मको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम मोफसल निस्कन लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । यो फिल्मको झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभा लगायतका स्थानमा छायांकन गरिनेछ ।

    फिल्मको शीर्ष रोलमा नयाँ अनुहारलाई राखिने भएको छ । निर्देशक सुब्बाले कलाकारको विषयमा अगाडि थप्दै भने, ‘अहिले फिल्म मार्केटमा पुराना कलाकारको विकल्पको रुपमा नयाँ कलाकार देखिएका छन् । नयाँ कलाकार राखेसि केही नयाँपन उनीहरुले दिन सक्छन् ।

    यो समयको माग हो । जसरी अनमोल केसी, प्रदीप खड्का र पल शाह जस्ता नयाँ कलाकारले अहिले मार्केट लिएका छन् त्यसरी नै आरुसीमा पनि अब्बल क्षमता भएका नयाँ कलाकारले स्थान पाउनेछन् ।’ उदयले ३ वर्ष पहिले ‘रेफ्युजी’ दर्शकमाझ दिएका थिए ।

    चलचित्रमा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्मलाई विक्रम डिसीले खिच्नेछन् ।

    बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत चलचित्रमा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने यस फिल्मको गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुशन लिम्बु र सुम्निमा इङ्नामको स्वर सुन्न सकिन्छ । फिल्मको तीन वटा गीत रेकर्ड गरिसकिएको छ ।

    आगामी नयाँ वर्ष अर्थात २०७६ सालको वैशाख १ मा ‘आरुसी’ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु