अरुलाई झुक्याउँदै आफू मालामाल म्युजिक नेपाल

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७१, सोमबार

काठमाडौं, ३० असार । म्यूजिक नेपाल प्रालि पुरानो म्यूजिक कम्पनी हो, यसमा कसैलाई द्विविधा छैन । तर पुरानो भन्दैमा खानदानी रुपमा ठगी गर्ने प्रवृत्तिमा भने म्यूजिक नेपाल अगाडि छ । भर्खरै स्वर्गीय भइसकेका स्रष्टाका परिवारलाई रोयल्टी नदिएको भनी संचार माध्यममा समाचार आइरहेको बेला उसको अर्को ठर्गीका श्रृंखला सुरु भएको हो ।

म्यूजिक नेपालले गीतसंगीतको क्षेत्रमा आफूलाई हालीमुहाली गरिरहेको अवस्था छ भने स्रष्टा र उत्पादक कम्पनीहरु भने आँखा चिम्लिएर सही गरेकै भरमा ठगीको शिकार भइरहेको अवस्था छ । पछिल्लो समय आफूलाई कलाकार बनाउनका निम्ति हिंडेका केही स्रष्टा र कम्पनी संचालक बन्ने धूनमा दौडिरहेका संगीत व्यवसायीका बीचमा देखिएको अध्ययनका कमीकै कारण म्यूजिक नेपालले एक कामको लागि करारनामा गर्दा सम्पूर्ण अधिकार आफूमा हत्याउन सफल भएको छ ।

पछिल्लो समय संगीतको बजार रिलबाट टाढिएर सीडी हुँदै मेमोरी कार्ड र पेनड्राइभमा सीमित बनाउन पनि म्यूजिक नेपाल निकै अग्रसर देखिएको छ । केही वर्ष पहिला म्यूजिक नेपालकै व्यवसाय प्रबद्र्धनका लागि खटिएका केही संगीत उद्यमीहरुले संगीत उद्योग संघको अग्रसरता देखाएको झैं गरी संगीतमा चोरी पाइरेसीको अधिकारलाई केही रकम तिरेपछि हुने नियम बनाउन सफल भएका थिए । संगीत उद्योगले एउटा गीत कपी गर्ने पसललाई २५देखि ३० हजार रुपैयाँ तिरेर कपी गरी बेच्ने अधिकार दिएका थिए । त्यसको लगत्तै म्यूजिक नेपालले आफू मात्र नेपालको पेनड्राइभ र मेमोरी कार्डको आधिकारिक विक्रेताजस्तै गरी गीतहरु धमाधम बेच्दै स्रष्टा ठग्ने अभियानमा लागेको थियो ।

त्यस्तै म्यूजिक नेपालकै आड लिएर आफूलाई संगीत उद्योग संघको उच्च पदमा रहेको बताउनेहरुले केही समय स्रष्टाको लगानी डुबाउने खेलमा लागिरहे भने त्यसपछि पुनः म्यूजिक नेपालकै दूत बनेर यतिखेर सिआरबीटी दर्ता गर्न आउँदा सम्पूर्ण डिजिटल अधिकार आफ्ूमा हत्याउने हर्कत देखाउन पछि परेका छैनन् ।
एउटा स्रष्टा या कम्पनी संचालक आफ्नो गीतको सिआरबीटी लिनको लागि म्यूजिक नेपाल पुग्यो भने यतिखेर उसको सम्पूर्ण डिजिटल अधिकार जफत भइरहेको उसले थाहा नै नपाईकन करारनामा गरेको पाइन्छ । कुरो यति हो हाम्रा गीतसंगीतका व्यक्तिहरुमा अशिक्षाकै कारण ल्याप्चे प्रवृत्ति बढेको हो भन्दा फरक पर्दैन । एउटा करारनामामा लेखिएको व्यहोरा राम्रोसँग नपढिकनै सिआरबीटी दर्ता गरेँ भनेर हतार हतारमा रिङ्ग ब्याक टोन मोबाइलमा डाउनलोड गर्न दौडने कलाकारहरु पछि हुने प्राविधिक समस्याका बारेमा भने सोच्न नै भ्याएका छैनन् । यतिखेर भने एक दुई कम्पनी संचालक र स्रष्टाहरु म्यूजिक नेपालले आफूलाई ठगेको हो भन्ने थाहा पाएकै कारण अन्य संघसंस्थातिर दौडन थालेका छन् । म्यूजिक नेपालको करारनामामा लेखिएको व्यहोरा यस्तो छ ः ‘दोश्रो पक्षद्वारा उत्पादित एवं बिक्री बितरण हुँदै आएका र यस करारनामाको अवधिभित्र उत्पादन तथा बिक्री बितरण हुने गीतसंगीत लगायतका श्रव्य तथा श्रव्यदृश्य सामग्रीहरु अनलाईन, मोबाइलफोन, कम्प्युटर, इन्टरनेट, पेनड्राइभ, मेमोरी चिप्स, डाउनलोड सेन्टरबाट बिक्री लगायतपछि विकसित हुने सम्पूर्ण नयाँ प्रविधिको माध्यमद्वारा अन्तर्राष्ट्रिय बजारमा बिक्री बितरण गर्न प्रथम पक्षले चाहेको र सो कार्य गर्न दोस्रो पक्षलाई प्रस्ताव राखेकोमा दोस्रो पक्षले सो प्रस्ताव स्वीकार गरेकाले दोस्रो पक्षद्वारा उत्पादित एवं बिक्री बितरण हुँदै आएका र यस करारनामाको अवधिभित्र उत्पादन तथा बिक्री बितरण हुने वा द्वितीय पक्षको स्वामित्वमा भएका गीतसंगीत लगायतका श्रव्य तथा श्रव्य दृश्य सामग्रीहरु अन्तर्राष्ट्रिय बजारमा प्रथम पक्षद्वारा बिक्री बितरण गर्नु नै यस करारनामाको उद्देशय हुनेछ ।’
म्यूजिक नेपालको उद्देश्य आफैंमा सफा छ, तर सिआरबीटी राख्न जानेले भोलि यूट्यूब आफ्नै एकाउन्टबाट राख्न पाउनु पर्छ भन्ने कुरामा भने बाँधिएको छ । त्यस्तै यूट्यूब बाहेक आइट्यून, अटोट्यून, मेमोरी कार्ड, पेनड्राइभमा गीत बेचेवापत कति रोयल्टी पाउने वा नपाउने भन्नेमा पनि म्यूजिक नेपालको उद्देश्य क्लियर हुन सकेको छैन । म्यूजिक नेपालजस्तो पुरानो र व्यवसायिक दायरामा आएको कम्पनीले दुई चार वटा म्यूजिक व्यवसायीको मिलेमतोमा स्रष्टाको बौद्धिक अधिकारमाथि ठगीको श्रृंखला बढाइरहेको छ । अहिलेसम्म स्रष्टा वा कम्पनीले म्यूजिक नेपालबाट सिआरबीटी र यूट्यूबको मात्र पैसा लिइरहेका छन् । तर पैसा लिनु एउटा पाटो हो करारनामा अर्को पाटो हो । करारनामा गर्दा दुवै पक्षको मन्जुरीमा गरिने हुँदा दुवैलाई मान्य हुने नीति नियम बनाउनु जरुरी छ । एउटा स्रष्टाले म्यूजिक नेपालबाट सिआरबीटी मात्र दर्ता गर्न चाहेको खण्डमा उसको अन्य डिजिटल अधिकार खोसिनुमा भने म्यूजिक नेपालको ठग्ने प्रवृत्ति नै हो भन्ने बुझिन्छ ।
म्यूजिक नेपालको ठगीका विषयमा संगीत उत्पादक समाज नेपालका उपाध्यक्ष कस्तु पन्त यसो भन्छन्, म्यूजिक नेपालले स्रष्टाहरुलाई सरासर ठगीरहेको छ तर हाम्रा स्रष्टा भने सिआरबीटी लिएर कहिले मोबाइलमा डाउनलोड गर्ने भन्ने हतारमा दौडिरहेका छन् । आफ्नो अधिकारका लागि म्यूजिक नेपालसँग गरेको करारनामा नपढीकन हस्ताक्षर गर्ने र घरमा लगेर थन्काउने कामा मात्र भएको छ । करारनामामा लेखिएका बुँदाहरुमा आफ्नो अधिकार कति छ भन्ने पनि नसोचीकन उनीहरुले सिआरबीटी दर्ता गर्दा सम्पूर्ण डिजिटल अधिकार जफत भएको पत्तै पाएका छैनन् । पछिल्लो समय सिआरबीटी दर्ता गरेकै भरमा यूट्यूब आफ्नो एकान्टबाट राख्न नपाउने प्रावधान हो ।
त्यस्तै म्यूजिक कम्पनी संचालन गर्दै आएका सुत्र इन्टरटेनमेन्टका केशव खड्काका अनुसार म्यूजिक नेपालले सिआरबीटी दर्ता गरेकै भरमा धेरै गीतसंगीतबाट लाखौं ठगी गरिरहेको छ । एक चलचित्रको गीतको भिडियो यूट्यूबमा अपलोड गर्दा सिआरबीटी दर्ता गरेकै भरमा म्यूजिक नेपालले थर्ड पार्टी देखाएर आफ्नो कब्जामा राख्ने काम गरेकोबाट पीडित बनेका छन् । यूट्यूबको अधिकार आफूलाई दिए पनि सिआरबीटी म्यूजिक नेपालको भएकै कारण लफडामा फसेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु