आज राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिँदै

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार
National-Film-Award-Nepal-2016-Dayahang-Rai

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर आज २७ असार, २०७६ मा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोह आयोजना गर्दैछ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन् ।

राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको छ । २०७३, ०७४ र ०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुनेहरुलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराएका छन् । समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने समेत उनले बताए । पुरस्कारमा नगद पनि दिईने प्रचलन रहेकाले पुरस्कृतलाई उहाँहरुको सम्मानका खातिर हरेक विधामा २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको बोर्ड अध्यक्ष भट्टराईले जानकारी गराए ।

अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ । यस्तै चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर यही २०७६, असार १६ मा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुनुहुने सबै विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय चलचित्र विकास बोर्डले गरेको छ ।

पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्ने भएका छन् ।
नृत्य निर्देशकहरु– बसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अहिले विभिन्न गीतमा नृत्य प्रशिक्षण गराइरहेका छन् । यसपटक पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नका लागि अग्रज अभिनेता अभिनेत्री सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिपिल रायमाझी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला के.सी., छुल्ठिम गुरुङले नृत्य गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु