काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले स्वदेश तथा विदेशमा हुने मेला महोत्सवमा अर्काको गीतको ट्रयाक प्रयोग गरी कमाइ गरिरहेका कलाकारहरुलाई ध्यानाकर्षण गरेको छ । स्रष्टा सर्जकको अनुमतीबिना अर्काको सिर्जनाको प्रयोग गरी आफूलाई कलाकार हुँ भन्दै देश तथा विदेशमा गएर मेला, महोत्सव, सांस्कृतिक कार्यक्रममा स्टेजमा प्रस्तुति दिएको भन्दै विज्ञप्ति जारी गरेको छ । केन्द्रीय अध्यक्ष रिता थापा, महासचिव शिव हमाल र सचिव घनश्याम रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छः स्वदेश तथा विदेशमा आयोजना गरिने सांगीतिक कार्यक्रमहरुमा विभिन्न स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुको स्वामित्वमा रहेको बौद्धिक सम्पत्ति (गीतको म्यूजिक ट्रयाक) अनाधिकृत रुपमा व्यवसायिक प्रयोग भएको जनगुनासो पाइएकोले उक्त कार्य गर्न, नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराइन्छ ।’
यो विज्ञप्ति अनुसार यदि कसैको गीतको ट्रयाक प्रयोग गर्नुपरेको खण्डमा सम्बन्धित अधिकार धनी स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुले समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको अवस्थामा मात्र प्रयोग गर्न गराउन सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यदि अनाधिकृत प्रयोग गरे गराइएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ को व्यवस्था अनुरुप सम्बन्धित अधिकार धनीको माग बमोजिम असुल उपर, जरिवाना, दण्डसजायँ हुन सक्ने कानूनी व्यवस्था रहेको समेत जानकारी गराइएको छ ।
यसरी नै केही वर्ष पहिले पनि रोयल्टी संकलन समाज नेपाल र यससँग सम्बन्धित सिएमओले पनि पत्राचार, विज्ञप्ति, ध्यानाकर्षण जस्ता काम गरेका थिए । तर उनीहरुको सुनुवाईलाई मेला महोत्सवमा हिंड्ने कलाकारहरुले नै वेवास्ता गरेका कारण कार्यान्वयन हुन सकेको थिएन । तर यतिखेर भने कलाकारहरुको सबैभन्दा ठूलो छाता संगठनले यो आवाज उठाउँदा पक्कै लागू हुनेछ भन्ने आशा सबैतिर छाएको छ ।
कुनै पनि स्रष्टा, सर्जकको गीत अनुमति बिना सार्वजनिक समारोह, मेला महोत्सवमा प्रयोग गरिनुन आफैंमा गैरकानूनी हो । तर कलाकारहरुबाट नै मेला महोत्सवमा अर्काको गीतको ट्रयाक प्रयोग गरी कलाकार हुँ भन्न खोज्नु लज्जास्पद कुरा हो । आफू सिर्जना नगर्ने र अर्काको सिर्जना प्रयोग गरेर व्यवसायिक रुपमा गायक, गायिकाको पगरी गुथ्नेहरु यहाँ धेरै छन् । जसको कारणले पछिल्लो समयको गीतसंगीतको क्षेत्रमा नैराश्यता, विचलनको साथमा व्यवसायिक उत्पादनमा पनि ह्रास आएको छ ।
मेला महोत्सवमा यसरी आयोजक र कलाकारहरुले यो विज्ञप्ति अनुसार लागू गर्ने हो भने पक्कै स्रष्टाहरु भोकै मर्ने छैनन् । अब मेला महोत्सव जस्तै लाइभ दोहोरी स्टुडियो एवं दोहोरी साँझ खोलेर अर्काको भाका प्रयोग गरी व्यवसाय संचालन गर्ने माथि पनि यसरी नै सबै एकजुट हुने हो भने नयाँ सिर्जना र व्यवसायिक गायक गायिका, गीतकार, संगीतकार, लगानीकर्ता उत्साहका साथ अगाडि बढ्ने सक्ने स्थिति आउँथ्यो कि !