‘स्वाधीनता’को रक्षा गर्दै नीरभिम र भूपेन्द्र

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७६, शनिबार १७:२८

काठमाडौं । गीतकार नीरभिम र संगीतकार भूपेन्द्र रायमाझीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरुको सङ्ग्रह ‘स्वाधीनता’ बजारमा ल्याएका छन् । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्वाधीनतालाई सार्वजनिक गरिएको हो । वरिष्ठ संगीतकार दिपक जंगम, वरिष्ठ गीतकार रत्नशमशेर थापा, वरिठ संगीतकार शुभबहादुर सुनाम र गीतकार प्रमोद ढुङ्गानाको हातबाट उक्त एल्बमलाई सार्वजनिक गरिएका हो ।

वरिष्ठ संगीतकार दिपक जंगमको सभाध्यक्षमा वरिष्ठ गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यतामा, वरिठ संगीतकार शुभबहादुर सुनाम र गीतकार प्रमोद ढुङ्गानाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गीतकार नीरभिमले अतिथिहरुलाई फूलको गुच्छा दिएर स्वागत गर्दै आफ्ना मन्तव्य राखेका थिए । विभिन्न कालखण्डमा देश र विदेशमा भएका राष्ट्रियताका पक्षहरुलाई केलाउँदै आफूले राष्ट्रिय भावका गीतहरु सिर्जना गरेको गीतकार नीरभिमले बताएका थिए । मुलुकभित्रको जातीयताको नाममा राष्ट्रियता कमजोर बनाउने काम होस् या इराक हत्याकाण्ड यी सबै विषयले उनलाई राष्ट्रिय भावका सिर्जना गर्न प्रेरित गरेको बताउँदै गीतकार नीरभिमले भने– ‘पछिल्लो समय राष्ट्रियताप्रति सबैको ध्यान जानुपर्ने आवश्यकता महसुसु गर्दै ‘स्वाधीनता’ ल्याएको छु ।’

त्यस्तै संगीतकार भूपेन्द्र रायमाझीले अतिथिहरुको सिर्जनालाई गिटार बजाएर गाएर सांगीतिक स्वागत गरेका थिए । रायमाझीसँगै गायक प्रदीप निरौलाले पनि सांगीतिक स्वागतका लागि साथ दिएका थिए । संगीतकार रायमाझीले पछिल्लो समय देशको राष्ट्रियताप्रति धेरैको चासो बढ्दै गएको हुँदा ‘स्वाधीनता’ले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एल्बमका गीतमाथि गीतकार प्रमोद ढुंगानाले समीक्षा गर्दै राष्ट्रियता बचाउन सके मात्र ‘स्वाधीनता’ अर्थ राख्ने हुँदा सबै नेपाली जनता सचेत हुनुपर्ने बेलामा यो गीतिसंग्रह ‘स्वाधीनता’ले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा प्रमुख अतिथि रत्नशमशेर थापाले आफ्ना विगत स्मरण गराउँदै राष्ट्र र राष्ट्रियताप्रति सबै नागरिक सचेत भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष वरिष्ठ संगीतकार दिपक जंगमले मुलुकमा नीरभिम जस्ता गीतकार र भूपेन्द्र रायमाझी जस्ता संगीतकारको आवश्यकता रहेको बताउँदै भने– ‘राष्ट्रिय भावको गीत भन्दा सुन्नेहरुले नाक खुम्च्याउने गरे पनि पछिल्लो समय राष्ट्रियता जगाउन कलाकारहरु जुटेकोमा खुशी लागेको छ ।’ राष्ट्रिय भावका गीतहरुलाई प्राथमिकतामा राखेर एल्बम बजारमा ल्याउनु अझै कठिन चुनौति भएको संगीतकार जंगमले बताए ।

कार्यक्रममा गायक प्रमोद खरेल, शिव परियार, सुमित खड्का, वरिष्ठ गायिका चन्द्रकला शाह, संगीतकार मदनसिंह नेपाली, संगीत संयोजक अमूल कार्की ढली, गायिका सरिता शाही, वानिका प्रधान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गीतकार तथा पत्रकार सुमन पण्डितले गरेका थिए ।

सरस्वति लामिछानेको प्रस्तुतिमा तयार भएको ‘स्वाधीनता’ एल्बमभित्र सगरसम्म चन्द्र सूर्य, नेपाली छोरो स्वाभीमान, आफ्नै चिनारी बनाई राखौं, विदेशी माटो स्वर्ग नै होस्, आकाश छ साझा सबैको लागि जस्ता पाँचवटा गीतहरु समावेश रहेका छन् । जसमा शिव परियार, आशिष गुभाजु, प्रमोद खरेल, जगदीश समाल, प्रदीप निरौला, अन्जु पन्त, मधु गुरुङ, जुनु रिजाल, हरिशंकर चौधरी, मनोज शिवाकोटीको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु