अब नीता पनि निर्मात्री, बनाउँदैछिन् ‘माया’

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७६, सोमबार

काठमाडौं । नेपाली अभिनेत्रीहरु धमाधम फिल्म निर्माणमा हात हालिरहेको अवस्थामा अभिनेत्री नीता ढुंगाना पनि यो भीडमा थपिएकी छिन् । गएको तीन वर्ष अगाडि फिल्म निर्माण गर्ने घोषणा गरेकी उनले यस वर्ष एक लभस्टोरी फिल्म बनाउने भएकी छन् । फिल्मको नाम ‘माया’ जुराइएको छ । फ्लोरमा निस्कँदा फिल्मको नाम परिवर्तन हुनसक्ने नीताले बताएकी छन् ।

समुन्द्र भट्टले निर्देशन गर्ने फिल्ममा अभिनेत्री नीता स्वयंको प्रमुख भूमिका रहनेछ । उनको अपोजिटमा गायक, संगीतकार, लेखक तथा अभिनेता कोशिश क्षेत्री फाइनल भएका छन् । फिल्मको कथा कोशिश स्वयंले तयार पारेका छन् । उनलाई पटकथा तथा संवादमा निर्देशक भट्टले सघाएका छन् । ‘माया’ मा संगीत पनि कोशिशको नै रहनेछ ।

योभन्दा अगाडि अभिनेत्री नीता हरर फिल्म ‘मःम हन्टिङ’ निर्माण गर्ने तयारीमा थिइन् । तर, फिल्ममा अभिनय गर्ने कलाकारको तत्काल समय नमिलेपछि उनले लभस्टोरी फिल्म अगाडि बनाउन लागेकी हुन् । उनका अनुसार, अर्को वर्षको मध्यतिर ‘मःम हन्टिङ’ को छायांकन सुरु हुनेछ । यो फिल्मका लागि नीता निर्माता पनि खोजिरहेकी छन् । ‘माया’ मा भने उनको एकल लगानी रहने बुझिएको छ ।

केही वर्ष अगाडि फिल्म ‘आधा पेज’ बाट निर्देशनमा डेब्यू गरेका निर्देशक समुन्द्र यो बीचमा क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैलीलाई फिल्मले बोल्नेछ । भदौ दोश्रो साताबाट फ्लोरमा जाने बताइएको ‘माया’ का अन्य कलाकार र प्राविधिक लाइनअप पुरा हुन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु