बलिउडको ‘दादा साहब फाल्के आइकन अवार्ड’ मा नेपाली अभिनेत्री नीतु कोइराला मनोनित

म्यूजिक खबर
प्रकाशित: २८ आश्विन २०७७, बुधबार

काठमाडौं । नीतु कोइराला पछिल्लो समयमा आफ्नो कलाकारिता र परिचयलाई विस्तार गरीरहेकी छिन् । नेपाली कलाकार भैकन पनि उनले भारतमा आयोजित विभिन्न अवार्ड र सम्मान कार्यक्रमहरुमा आफूलाई सम्मानपूर्वक उभ्याउँदै आएकी छिन् । पछिल्लो समयमा नीतु मुम्बईमा वितरण गरिने ‘दादा साहब फाल्के आइकन अवार्ड फिल्म्स’ को आयोजक समितिमा समेत मनोनित भएकी छिन् । हाल मुम्बईमै रहेकी मोडल तथा अभिनेत्री नीतु कोइरालालाई नोभेम्बरमा मुम्बईमै आयोजना हुने उक्त अवार्ड समारोहको उपाध्यक्षमा मनोनित भएकी हुन् ।

उक्त अवार्ड आगामी २४ नोभेम्बरमा मुम्बईमा आयोजना हुने आयोजक संस्थाले जनाएको छ । समारोहमा बलिउडमा २० वर्षदेखि सक्रिय कलाकारहरुलाई सम्मान गरिने उक्त कार्यक्रममा अभिनेत्री कोइराला पनि सम्मानित हुने छिन् ।

उक्त अवार्डको हालै मुम्बईमा आयोजित एक समारोहमा पहिलो पोस्टर सार्वजनिक गरिएको छ । अवार्डको पोस्टर सार्वजनिक गर्ने समारोहमा जगतगुरु आचार्य कृष्णादेवनन्द गिरी महाराज मुख्य अतिथिको रुपमा उपस्थित थिए । उक्त समारोहका बलिउडका नाम चलेका कलाकारहरुको समेत उपस्थिति रहेको नेपाली कलाकार नीतु कोइरालाले जनाएकी छिन् ।

बलिउडकर्मी डा.कल्याणजी जानाले उक्त अवार्ड समारोह आयोजना गर्न लागेका हुन् । गत शनिबार मुम्बईमा आयोजित एक समारोहमा कल्याणजी जानाको ओटीटी प्लेटफर्म के.जे.टाकीज, के.जी.किड्स, के.जे.टिकटक तथा दादा साहब फाल्के आइकन अवार्ड फिल्म्सको पोस्टर सार्वजनिक गरिएको हो ।

एसकेएमएच फिल्म्स प्रोडेक्सन, दार्शनिक मुम्बई न्यूजपेजर तथा श्रुती इन्टरटेन्मेन्टले केजे टाकीज ओटीटीको सहकार्यमा दोस्रो पटक यो अवार्ड समारोह आयोजना गर्न लागेको हो ।

हामीसँग कुरा गर्दै नीतुले अवार्डका लागि नेपालबाट मनोनित हुन सफल भएकोमा जीवनकै अद्भूत उपलब्धी पाएको बताइन् । खुशी हुँदै उनी भन्छिन् ‘यो सहभागीले नेपाली कलाकारिता क्षेत्रकै साख बढ्ने छ । सबैले गौरब गर्नुपर्ने कुरा हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु