–प्रकाश सायमी
मलाई यो स्वीकार गर्दै गर्दा काफी शरम लाग्छ, म कहिले लामो उपन्यास पढ्न सक्दिनँ । म कहिले लामो उपन्यास पढ्न सक्दिनँ, मैडम बाभोरी वा वार एन्ड पीस जस्ता महान उपन्यास पनि । अवश्य डन क्विजोट बारम्बार पढेको छु किनकि त्यो साँचो उपन्यास होइन, त्यो केवल एक कहानी हो जो बराबर चलिरहन्छ ।
–म उपन्यास पढ्दिनँ– ती झूठा हुन्छन् । यी दुई महान् अभिव्यक्ति उपन्यासका वारेमा पोखिएका गत शताब्दीका तरंगहरू हुन् । पहिलो उद्गीत वाक्य अर्जेन्टिनाका महाकवि होर्खे लुई बार्खेसको हो भनें दोस्रो भनाई पोल्याण्डका कवि ज्बीग्नीयेव हेर्बेतको हो । शायद दुवैले आफ्नो समयमा कुनै उपन्यास लेखेनन् । तर चर्चा सदैव साहित्यिक भएकै कारणले पाइरहे । यी उपन्यासका विरोधी होइनन्, साहित्य बेचिनुका लागि लेखिने विधा उपन्यास बनेकोमा दुखेसो मात्र होइन ।
सन् २००० मा भारतमा एउटा वहार नै आएको थियो जो पनि साहित्यकारहरु आजकाल के गरिँदैछ भन्दा उपन्यास लेख्दैछु भनेर धाक दिन्थे । मानौँ, उपन्यास नलेख्ने मान्छे साहित्यकार नै नमानिएला भन्ने डर भएको थियो । त्यतिवेला हामी नेपालमा उपन्यासको एक शताब्दी मनाउने तयारी गर्दै थियौँ र संयोगले नेपाली उपन्यासको शतावार्षिकी मनाउँदै गर्दा त्यसका आयोजकमध्ये पंक्तिकार पनि एक थिए । त्यतिवेला नेपाली उपन्यास विक्रीका आधारले भन्दा सम्मानका आधारले हेरिने चलन थियो, त्यही क्रममा पाँच उपन्यासकारलाई सम्मान गरिएको थियो, गोविन्द गोठाले, धुँस्वा सायमी, ध्रुबचन्द्र गौतम, गीता केशरी र सरुभक्त ।
यी चारमध्ये धुँस्वा सायमी नेवारभाषाका प्रथम उपन्यासकार थिए भनें गीताकेशरी पारिजात पछि दोस्रो चर्चित नेपाली उपन्यासकार थिइन् । नेपाली भाषामा उपन्यास लेख्ने कम थिए त्यसमा पनि महिला उपन्यासकारको गणना त्यतिवेला औँला बराबर पनि थिएन ।
आज वाह्रपन्ध्र वर्षमा उपन्यास बेस्ट सेलिँगको आरेखमा आइसकेको छ लेख्नेको संख्या र छाप्नेको संख्या पनि अपार भएको छ तर त्यसका वीच ती उपन्यासकार हराए वा विकेनन् जो वास्तवमा उपन्यासमै काम गर्थे । अहिले नेपाली उपन्यास लेखकले होइन, प्रकाशकले वेच्छ । अन्तर्राष्ट्रिय बजार पनि आजकाल यसरी नै धावा बोल्न थालेको छ ।
जे एम् क्लेज्, ओरहान पामुक, जे एम कोएत्जीलाई पन्छाएर आजकाल विदेशी उपन्यासमा पनि फरक नाम अगाडि आएका छन्, एलिजावेथ गिल्बर्ट, जे के रोलिँग, खालेद होस्सेनी, पाउलो कोहेलो, हारुकी मुराकामी आदि । यी शायद बुक स्टल प्रतीक्षा गरिने नाममध्ये हुन् ।
उपन्यास विकाउनका लागि अनेक धन्दा गरिन्छ , त्यसैले आजकाल उपन्यास प्रकाशन क्रिकेटको कन्ट्रैक्ट जस्तै हास्योद्रेक हुँदै गएको छ । राम्रो नराम्रो दुवै अर्थमा ।
यसै वर्ष उपन्यासको वीरसिक्कामा एउटा नयाँ घटना घटेको छ, प्रकाशकले कहिले छाप्न नमानेको किताब पचास वर्ष पछि छापिएको छ यही महिना । त्यो उपन्यास आगामी असार २९ गते बजारमा आउँदैछ तर त्यो बजारमा आउनु अगि नै चर्चित भइसकेको छ , त्यो उपन्यास हो हार्पर लीको गो सेट अ वाचम्यान् ।
यस उपन्यासका वारे समीक्षक लेभ ग्रसम्यानले लेखेका छन्, वीसौँ शताब्दीका सबभन्दा प्रभावशाली मानिएकी उपन्यासकार लीको टू किल अ मकिँग बर्ड आज सम्म चार करोड प्रति विक्री भइसेको छ । लाइब्रेरी जर्नलको सर्वेक्षण अनुसार यो अहिले पनि सबभन्दा पढिने उपन्यास मध्ये एक हो । लीको यो पहिलो प्रकाशित उपन्यास हो तर यो तिनले लेखेको पहिलो उपन्यास अवश्य होइन । पहिलो हो, गो सेट अ वाचम्यान् जुन तिनले सन् १९५० को मध्य हिउँदमा न्यू योर्कको फ्ल्याट्मा लेखेकी थिइन् त्यतिवेला तिनी विमान सुपरिवेक्षकको पदमा कार्यरत थिइन् । उनलाई यो उपन्यास नछाप्न उनको प्रकाशकले दबाब दिएपछि उनले दोस्रो उपन्यास आफ्ना वाल्यकालका हिरो झँ लुई फिञ्च माथि लेखे ।”
त्यो उपन्यास थियो, टु किल अ मकिँग बर्ड । यो उपन्यास प्रकाशन भएको लगत्तै हार्पर ली यति चर्चामा आइन् उनलाई विश्व साहित्यिक समाजले वेस्ट सेलरको रुपमा पढ्न थाले । मकिँग बर्ड प्रकाशन भएको दोस्रो वर्ष हलिउडmमा यसमाथि फिल्म बन्यो, बब मूलिगनको निर्देशनमा युनिभर्सल पिक्चर्सले बनाएको यो फिल्म अन्य साहित्यिक कृतिमा बनेका सिनेमो सूचीमा सबभन्दा माथि पर्न सफल भयो , होवार्ड फास्टको स्पार्टाकास, डा जिवागो, लस्ट फर लाइफ, द ग्रेट गाट्स्वी, जोरवा दी ग्रीक, अन्ना केरेन्निना, द प्राइड एन्ड प्रेज्युडासको इतिहासमा यो अग्र पंक्तिमै रह्यो । यो लेखिकाको निम्ति सामान्य कुरा थिएन । यसपछि उनले फर्केर हेर्नु परेन ।
यस उपन्यासमा नायकको भूमिका निर्वाह गरेर गेगरी पैकले त्यो वर्षको उत्कृष्ट अभिनेताको ओस्कार पुरस्कार पाए । उनको अभिनय मनपरेर लेखिकाले आफ्ना दिवंगत पिता अमासा लीको रिस्ट वाच गेगरीलाई उपहार दिए जुन घडी उपन्यासका नायक एटीकस फिञ्चले पनि लगाउँथे । यही उपन्यासका कारण दुवै लेखिका र अभिनेताका वीच लामो समय आत्मीय सम्बन्ध पनि रह्यो ।
सन् २०१२ को ११ जुलाई मा व्हाइट हाउसमा आयोजना गरिएको उपन्यासको ५० औँ वार्षिकीमा गेगरीकी विधवा विरोन्कीले लेखिका हार्पर लीलाई राष्टिय धरोहर भन्दै आफ्नो र आफ्ना देशवासीका तर्फबाट अभिवादन गरेकी थिइन् ।
एक उत्कृष्ट उपन्यासमाथि बनेको टु किल अ मकिँग बर्ड फिल्मलाई सम्मान गर्दै त्यसै वर्ष तीनओटा हुलाक टिकट प्रकाशन गरिएका थिए, पहिलो ः उपन्यासको प्रथम संस्करणको टाइटल, दोस्रोमा मेनरोबिलको टाउन ताल र तेस्रो हुलाक टिकटमा चलचित्रका नायक ग्रेगरी पैकले अदालतमा बहस गर्दैै गरेको दृश्य ।
इतिहासमा यस्तो घटना विरलै हुन्छ, उपन्यास प्रकाशनको पचासौँ वर्षमा आयोजित त्यस कार्यक्रममा कृतिलाई सम्मान गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले टेक्स्ट बुक अफ लाइफ भनेर संज्ञा दिए । एउटा राष्ट्र प्रमुखले आफ्नो देश चिनाउने कृति पाउनु र त्यो कृतिलाई चिन्नु कति ठूलो संयोग हो ।
तर यस्ता प्रसंगमा हामीले हाम्रा कालजयी कृतिलाई कति सम्झियौँ, कति दुःखद् पाटो छ । हार्पर लीको उपन्यास प्रकाशन भएको केही वर्ष पछि नेपाली भाषामा प्रकाशित पारिजातको पहिलो उपन्यास शिरीषको फूल को पनि यस्ता धेरै प्रसंग छन् जसलाई जोड्दा हामीसित पनि हाप्नै नसकिने इतिहास छ भनेर गर्व गर्न सकिन्छ ।
– नेपाली भाषामा महिलाले लेखेको पहिलो सफल उपन्यास ।
– मदन पुरस्कार द्वारा सम्मानित पहिलो महिलाको पहिलो उपन्यास ।
– अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक चर्चित नेपाली उपन्यास ।
– भूमिकाको कारणले सर्वाधिक चर्चित उपन्यास ।
– चर्चा र विवादमा उपनिवद्ध एक मात्र उपन्यास ।
पारिजातको पनि यो पहिलो उपन्यास होइन, यसअघि उनले दुई उपन्यास लेखेर च्यातिसकेकी थिइन् । शिरीषको फूल पनि कुनै प्रकाशकले प्रकाशन गर्न तयार नभए पछि पहिलो संस्करण पारिजात आफैँले प्रकाशन गरेकी थिई । पुस्तक लेखिएपछि पढ्ने पहिलो पाठक निवन्धकार शंकर लामिछाने थिए भने यसवारे सुन्ने पहिलो स्रोता एक डेनिश चित्रकार थिए । यस उपन्यासलाई पुरस्कृत गर्दा नेपाल भाषाका महाकवि चित्तधर हृदय ले पारिजातलाई अगुवाएका थिए । यस उपन्यासले आजभन्दा ५० वर्ष पूर्व मदन पुरस्कार पाइसकको इतिहास छ । यो उपन्यास प्रकाशन भएको ४० वर्ष पछि यसमाथि चलचित्र पनि बनिसकेको छ जापानी निर्देशक ताकोस्की इतोहको निर्देशनमा ।
चलचित्र बन्नु भन्दा पहिले नै यो उपन्यास सर्वाधिक चर्चामा थियो । यो उपन्यासलाई पुरस्कृत गरेको केही वर्ष पछि समालोचक गोविन्द भट्टले यो कागजको फूल मात्र हो भनेर ठोकुवा गरेका थिए । कागजको फूल आफैँमा एक परिहासयुक्त व्यँग्य मानिन्छ । भारतमा बनेको पहिलो सिनेमास्कोप सिनेमा कागज के फूल उत्कृष्ट भइकन पनि त्यो सबैभन्दा नराम्रोसित फ्लप भयो, यसको क्षति व्यहोर्न निर्देशक गुरुदत्तलाई धेरै वर्ष लाग्यो । आज सम्झिँदा गोविन्द भट्टको संकेत त्यतैतिर पो हो कि जस्तो पनि बुझिन्छ ।
यस पुस्तकको पहिलो पटक आवरण बनाउने कलाकार मनुजबाबु मिश्रले उपन्यास पढ्नु अगि शिरीषको फूल देखेकै थिएन तर उनले त उपन्यासको पनि यति सुन्दर भविष्य देखेका थिएनन् । यो उपन्यास वर्सेनी विक्रीको आधारमा उपल्लो दर्जामा पर्छ यसले साहित्यिक पाठकलाई त बँचाएकै छ तर त्यो भन्दा वढी वीस दशकको त्यो साहित्यिक महतमलाई पनि कायमै राखेको छ ।
साहित्यकार शंकर लामिछानेको जापान भ्रमण पछि जापानमा पढेको ओसामा दजाईको द सेटिँग सन् बाट प्रभावित भएर लेखक पारिजातलाई चर्चा गरेका थिए र उनीबाट लामिछानेले भनेजस्तै उपन्यास जन्मेकोमा उनी मात्र होइन, सम्पूर्ण साहित्यिक जगत नै लाभान्वित भए ।
शिरीषको फूल माथि सिनेमा बनाउने क्रममा यस पंक्तिकारलाई पहिलो पटक निर्देशकको रुपमा चयन गरिँदा शिरीषको फूल कस्तो हुन्छ भनेर पर्यावरणविद्, वातावरणविद् र वनस्पतिशास्त्रीसित बुझ्न खोज्दा ठूलै हँगामा पनि भएको थियो, यसवारे समीक्षक सौरभले आफ्नो पुस्तक असहमति मा लेखेका पनि छन् । अर्का वनस्पति शास्त्री डा। तीर्थवहादुर श्रेष्ठले पारिजातलाई पनि शिरीषको फूल वारे अज्ञानता भएको हुन सक्ने जानकारी दिएका थिए ।
यस्ता सबै गोबरझ्याउला पछि पंक्तिकारले चलचित्र निर्देशन गर्ने अपजसी कामबाट विदा लिएको स्मरण हुन्छ ।
नौलाखमा बनाउने भनेर शुरु गरिएको यो फिल्म साठी लाखमा पूरा भएर पनि सफल हुन सकेन ।
लेखक पारिजातले यो कृतिमाथि निर्मित फिल्म हेरेको भएको निराशा वाहेक केही पाउने थिइनन् तर पनि हामीसित एउटा बहुपठित पुस्तकको सिनेमा अर्काइभ भयो जुन सार्थक त भएन । सार्थक नुहुनुका धेरै कारण होलान् तर ती कारण मध्ये एक प्रमुख कारण हो यस कृतिमाथि सिनेमा बनाउने निर्णय नै पारिजात स्मृति केन्द्रको आत्मघाती निर्णय हुन पुग्यो । प्रसिद्ध उपन्यासकार ग्राबिएल गार्सिया माख्र्वेजले म उपन्यासमाथि जति खर्च गरे पनि सिनेमा बनाउन दिन्नँ भनेका थिए उनले त्यसो भन्नुका पछाडि उनका पाठक नै उनको उपन्यासका दिग्दर्शक एवम् परिकल्पनाकार हुन् । उनी चाहँदैनथे कुनै एक निर्देशकले आफ्ना पाठकमा रहेको त्यो कल्पनाको संसार खोसीदेओस् ।
माख्र्वेज मात्र होइन उनी भन्दा धेरै पछि आएका जापानी लेखक हारुकी मुराकामीले पनि आफ्नो उपन्यास नर्वेजियन ऊड मा सिनेमा बनाउन निकै मुश्किलले अनुमति दिए तर चाल नपाउने गरी दुई पटक उनले सिनेमा बन्नबाट रोक लगाए । यस्ता इतिहासका वीच पारिजातको उपन्यास शिरीषको फूल बन्यो , राम्रो नराम्रो जे सुकै बने पनि पारिजातका अक्षरलाई पर्दामा कोर्ने काम भयो । पारिजात स्वयम्ले यस उपन्यासलाई पछि आफ्नो चयनमा राख्न मनपराएनन् । मदन पुरस्कार पाएको वारे पनि उनले असन्तुष्टि नै जनाइन् ।
सन्दर्भतः एउटा रमाइलो कुरा यहाँ जोड्न सकिन्छ, मदन पुरस्कार पाउनु अघि उनी मदन शम्सेर कै नाममा स्थापित मदन स्मारक स्कुलमा अध्यापन गराउँथिन् । यही स्कुलमा कार्यरत रहँदा उनले एउटा भजन पनि लेखिन् । सुन्दा अचम्म लाग्ने यो कुराको ज्वलन्त साक्षी अझै पनि मदन पुररस्कार गुठीमा सुरक्षित छ, ईश्वर माथि आस्था नराख्ने पारिजातले लेखेको त्यो सरस्वति वन्दना मा सर्दार रुद्रराज पाण्डेकी सुपुत्री श्री पाण्डे ले संगीत गरेकी थिइन् ।
श्री पाण्डे पछि निवन्धकार प्रा डा दुर्गाप्रसाद भण्डारीकी अर्धाँगिनीका रुपमा चिनिन्थिइन् , केही वर्ष अगि उनको पनि निधन भइसकेको छ ।
पारिजातल शिरीषको फूल वाहेक अनिँदो पहाडसँगै, वैँशको मान्छे, महत्ताहिन, तोरीबारी बाट र सपनाहरु आदि कृति लेखेकी छिन् तर चिनिन्छिन् यही कालजयी कृति शिरीषको फूलले । नेपाली साहित्यमा लीलध्वज थापा, युधीर थापा र प्रकाश कोविदका उपन्यासले बजार पिटीरहेको वेला पारिजातको यो उपन्यास आउनु पर्दामा एक धक्का थियो । नेपाली पाठकलाई उपन्यास पढ्ने लत लगाउने प्रकाशक रत्न पुस्तक भण्डारका रत्नप्रसाद श्रेष्ठले डायमन् शम्सेर राणाको वसन्ती भारतको दार्जीलिङ सम्म बोकेर लगेर बेचे ।
एक रुपैञामा किनेको एक रुपैञामै भारत लगेर बेच्ने रत्नप्रसाद श्रेष्ठका कारण पछि दार्जीलिङबाट एकसेएक उपन्यासकार जन्मिए, शिवकुमार राई, असीत राई, इन्द्रवहादुर राई, दलसिंह गहतराज, प्रकाश कोविद्, सुवास घिसिंग आदि । प्रकाश कोविद् र सुवास घिसिंगले नेपाली पाठकलाई उपन्यासको टेस्टामिन दिइरहे जसले गर्दा आजसम्म उपन्यासको पाठक घटेका छैैनन् । प्रकाश कोविद् उपन्यास लेखनका निम्ति ठाउँ ठाउँ घुमिरहन्थे, आराधना उपन्यास लेख्ने क्रममा यिनी लामो सयम काठमाण्डू पनि बसेक आफ्ना जीवनसंगिनी रुपा राईका साथमा । त्यतिवेला नै प्रकाश कोविद् र पारिजातलाई पंक्तिकारले एकसाथ भेटाउँदा एउटा प्रश्न गरेका थिए, तपाइँ दुई आफ्नो उपन्यास कति पटक पढ्नु हुन्छ रु
जवाफमा पारिजातले प्रकाश कोविद्को उपन्यास मनग्गे पढेको् बताइन् तर कोविद्ले आफूलाई पारिजातको सबभन्दा मनपरेको उपन्यास शिरीषको फूल भएको स्वीकारे ।
पारिजात र प्रकाश कोविद् दुई अलग ध्रुवान्तका लेखक हुन् तर दुवै एकअर्का प्रति सद्भाव राख्थे, समपेशीय भएको कारणले ।
प्रकाश कोविद्ले त्यस भेटमा भनेका थिए, मलाई शिरीषको फूलको पुस्तकको आवरण बनाउन दिइयो भनें त्यो जत्तिको ठूलो पुरस्कार अरु केही हुन्न ।
पारिजातले भनेकी थिइन्, प्रकाश त्यो तिम्रो भागमा अवश्य पर्छ । पर्ख । प्रकाश कोविद्ले पर्खन सकेनन् ।
पारिजातले वाचा पूरा गर्न सकेनन् । तर यी दुवैले नेपाली पाठकलाई उपन्यासको बाटोमा परसम्म लगिरहे जहाँसम्म रुद्रराज पाण्डेले लान भ्याएका थिएनन् ।
यी दुई एकअर्काका किताब यसरी पढ्थे जसरी बाँग्लाभाषाका चर्चित उपन्यासका शरत्चन्द्र गौरवले रवीन्द्रनाथ ठाकुरका हरेक कृति खोजी खोजी पढथे ।
सम्मान र सद्भाव दुई तिर छ । एउटा पाठक बढाउने अर्को लेखकलाई खुराक दिइरहने । हामीले प्रकाश कोविद् र पारिजातलाई यसरी नै यही सन्दर्भमा सम्झे कतै अन्याय नहोला तर शिरीषको फूलको प्रकाशनका अर्धशताब्दीको यो पावन अवसरमा यस किताबलाई राष्टीय स्तरमा कुनै कार्यक्रम गरेर सम्झन नसक्नु थोरै अर्थमा ठूलो अन्याय हो ।