म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएको पल र मलिकाको जोडीलाई अब फिल्ममा पनि हेर्न पाइने

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

यतिबेला नायक पल शाह र नायिका मलिका महत्तको जोडी दर्शकहरुले हदै मन पराएका छन् । लकडाउनको समयमा सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ गीतमा उनीहरुले पहिलो पटक काम गरेका थिए । यो गीतलाई यूट्युबमा अहिलेसम्म तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यसपछि ‘पिएम जोडी’ ले ‘टाढा भए पनि’ बोलको गीतमा अभिनय गरे, जुन अहिले चर्चाको शिखरमा छ ।

म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएको यो जोडीलाई अब फिल्ममा पनि हेर्न पाइने भएको छ । पल र मलिकाको जोडी बाँधेर ‘फुलबुट्टे साडी र टाढा भए पनि’ गरी दुईवटा म्यूजिक भिडियो बनाएको केन्द्र मोशन पिक्चरस्ले उनीहरुलाई लिएर फिल्म निर्माण गर्न लागेको हो । हाल पोखरामा फिल्मको स्क्रिप्टमा काम भइरहेको केन्द्र मोशनका सागर लामिछाने मगरले जानकारी दिए ।

उनका अनुसार, कलाकार तथा निर्देशक माओत्से गुरुङले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्म पनि उनले नै निर्देशन गर्न सक्नेछन् । यस विषयमा मगरले भने- ‘हामीले माओत्से दाईलाई नै निर्देशनको प्रस्ताव राखेका छौं । उहाँले स्क्रिप्ट तयार भएपछि सोच्नेछु भन्नुभएको छ ।’ अबको ६ महिनाभित्र स्क्रिप्टलाई ‘लक’ गरेर छायांकनमा निस्कने तयारीमा निर्माण टिम छ ।

केही दिनमा दुई/तीनवटा स्क्रिप्टको वानलाइन पल र मलिकालाई सुनाइने सागरले बताए । उनले थपे- ‘ती स्क्रिप्ट भएन भने कलाकार, निर्देशक, स्क्रिप्ट राइटर र क्यामेरा म्यानको टिम बसेर अरु स्क्रिप्टमा काम गर्नेछौं । ६ महिनाभित्र ४/५ वटा स्क्रिप्ट तयार पार्नेछौं । त्यसमा जुन स्टोरी ‘ए वान’ लाग्छ त्यसैलाई फाइनल गर्नेछौं । स्क्रिप्टलाई बलियो बनाउन कुनै कसर छाड्ने छैनौं ।’

मलिकाले अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । तर, फिल्म भने चलेन । यसपछि दोस्रो फिल्मको रुपमा उनले ‘पानीफोटो’ मा काम गरेकी छन्, जुन प्रदर्शनको पखाईमा छ । फिल्मबाट सफलता चाख्न नपाएकी उनलाई म्यूजिक भिडियो भने राम्रै फापेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु