गाउँमा बस्ने रोधीको झ-झल्को ‘गलबन्दी’

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७६, शनिबार

म्यूजिकखबर/काठमाडौं

यतिखेर ट्रेन्डिङ नं १ मा अड्डा जमाएको गीत हो ‘गलबन्दी’ । गलबन्दीका सर्जक हुन् प्रकाश सपुत । गायक प्रकाश सपुत र शान्ति श्री परियार हुन् । ‘गलबन्दी’को भिडियोको निर्देशन प्रकाश सपुत आफैंले गरेका छन् भने सह निर्देशन उनका भाइ देवेन्द्र बब्लुले गरेका छन् । भिडियोमा प्रकाश सपुत र अन्जली अधिकारीकै अभिनय ।

‘गलबन्दी’ बजारमा आइसकेपछि एउटा चर्चा चल्यो । ‘बोल माया’को कथामा केही जोडेर ‘गलबन्दी’ आएको छ । ‘बोल माया’ भन्ने वित्तिकै एउटा गाउँको प्रतिनिधित्व गरेर खाडी मुलुक जानेको यथार्थ कथा थियो । त्यसको श्रीमती पात्र थिइन् अन्जली अधिकारी । वैदेशिक रोजगारीमा विदेश गएका आफ्ना श्रीमान (पात्र प्रकाश सुपत)ले धन पैसा कमाएर ल्याउलान् भन्दा बाकसमा आएपछिको कथा थियो ‘बोल माया’ । गाउँमा घटना सुनाउने गाइने दाइको रुपमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीलाई प्रस्तुत गरेका थिए । त्यही ‘बोल माया’को श्रीमती पात्र अन्जली अधिकारीको गर्भबाट जन्मिएको छोरासँगको केही सम्वाद जोडिएर ‘गलबन्दी’ आएको छ । जहाँ आफ्ना विगत सम्झिएर सपना देखिरहेकी अन्जली अधिकारीले गाउँघरमा बसेको रोधीको यादलाई सपनामै भए पनि ताजा गराइदिएकी छिन् ।
आफ्नो पहिलो चर्चित गीत ‘दोहोरी ब्याटल’मा ठीकै प्रतिक्रिया पाए पनि उनलाई ‘दोहोरी ब्याटल’को दोस्रो भागबाट समाजप्रति उच्शृङ्लता प्रस्तुत गरेको आरोपसमेत लाग्न पुगेको थियो । ‘बोल माया’ जस्तो समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गीत ल्याउने प्रकाश सपुतको दोहोरी ब्याटलमा एउटा वर्गले नकारात्मक प्रतिक्रिय दिइरहे पनि युवा वर्गमा त्यसले कब्जा गर्न सफल भयो । तर उनले ‘बोल माया’को सिक्वेलमा ‘गलबन्दी’ या ‘बोल माया–’ सोचेका थिए वा थिएनन् । तर, एउटा गर्भवती श्रीमती छाडेर मरेको श्रीमानको कथाभित्र ‘छोरा भयो कि छोरी’ भन्नुको अर्थ दर्शकलाई बुझाउन उनले ‘बोल माया’ कै सिक्वेल सुरु गरेका होलान् ।

 

गाउँबाट शहर झरेकाहरु या विदेश गएकाहरुको माझमा गाउँको यथार्थ रोधीघरको ताजा याद गराइदिएको छ ‘गलबन्दी’ले । गाउँमा रोधी बस्दा केटा र केटी बीचको दोहोरी गायन शैली, रोधीघरमा जम्मा भएका दर्शक, स्रोताहरुको गतिविधिलाई यथार्थ रुपमा पस्किन सफल भएको छ ‘गलबन्दी’ले । ‘गलबन्दी’भित्र नयाँपन केही छैन भन्दा पनि हुन्छ । यसको अर्थमा नराम्रो भन्न खोजिएको हैन, गाउँमा रोधी बस्दाको सरलतालाई एकपटक विदेश जाने नेपाली या शहर हानिएका नेपालीहरुका बीचमा ‘पुनर्ताजगी’ गराइदिएका हुन् प्रकाश सपुतले । केटाको गायकीसँगै देखिएको अभिनय र केटीले गाउँदा देखाएको लजालुपन रोधीकै यथार्थ भाव हो । यही रोधीको भावसँगै ‘बोल माया’ले दिन खोजेको सिक्वेललाई उनले जोड्न पुगे ।

‘गलबन्दी’मा बोल मायाकै समूहलाई प्रस्तुत गरे । अन्जली अधिकारीलाई मैलो लुगा लगाएर बारीमा काम गरेको अवस्थामा छोराले आफ्ना बाबुप्रति राखेको जिज्ञासालाई विगत सम्झिँदै प्रस्तुत गरिन् । बाबुजस्तै चन्चले स्वभावको छोरोलाई ‘तेरो बाबुको हिरो बन्ने रहर, चन्चले स्वभाव गीत गाउने गरेको, जसले गर्दा आफूले पनि गीत गाउन जानेको’ कुरा व्यक्त गरेपछिको यथार्थता ‘गलबन्दी’बाट दर्शाएका छन् । एउटा सपनालाई ‘गलबन्दी’ मार्फत् प्रस्तुत गरेर ‘बोल माया’को सिक्वेलमा प्रवेश गरेका छन् गायक प्रकाश सपुत ।

 

‘बोल माया’कै समूहमा भएका गायक सपुत, गायिका शान्ति श्री र मोडेल अञ्जली नै ‘गलबन्दी’मा प्रस्तुत भएका छन् । यो आलेख तयार पार्दासम्म गीत सार्वजनिक भएको एक हप्तामै ४४ लाखभन्दा माथि हेरिएको छ भने यूट्यूबमा हुने गरेको ट्रेन्डिङलाई १ नम्बरमा कब्जा गरिरहेको छ । ‘टिकटक’ धेरै बन्ने गीतमा परेको छ । गाडी र एफएममा धेरै बज्ने गीत भएको छ । होटल तथा रेस्टुरेन्टहरुमा पनि यही गीत घन्कने गरेको छ । नेपाली लोकगीत, रोधीघरमा प्रयोग हुने ठेट शब्द, भाका र शब्दलाई सरलतामा प्रस्तुत गर्दा गीत कर्णप्रिय बन्न पुगेको हो । गीतको गायकी, भिडियोको अभिनय सबैमा सरलता प्रकट भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु