• ठूलो लगानीमा बलिउड फिल्म बनाउँदै नेपालकी पुनम

    म्यूजिक खवर
    प्रकाशित: १ आश्विन २०७८, शुक्रबार

    काठमाडौं । संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो ।
    बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ ।
    केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि छाडेका छन् ।
    तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै मात्र छन् ।
    किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन ।

    तर, एक नेपाली महिला बलिउड फिल्म निर्माण गर्न कस्सिएकी छन् ।
    देशसँगै विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय फैलाइसकेकी पुनम यादवले ठूलो बजेटमा बलिउड फिल्म बनाउन लागेकी हुन् ।
    नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन् ।
    अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिइन् ।

    आफूले बनाउन लागेको पहिलो बलिउड फिल्ममा नेपाली कलाकारहरुलाई पनि अवसर दिने पुनमको भनाई छ ।
    नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो उद्देश्य रहेको उनी बताउँछिन् ।
    पुनम बलिउडसँगै नेपाली फिल्म निर्माणको तयारीमा समेत रहेकी छन् ।
    उनको पहिलो नेपाली फिल्मलाई ‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

    पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ ।
    दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको गीतलाई पुनमले निर्माण गरेकी हुन् ।
    गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर रहेको छ ।

    यूट्युब रिलिजको दुई हप्तामा चार लाखभन्दा बढी भ्यूज बटुल्न सफल भएको गीतलाई दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको छ ।
    गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ ।
    रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ ।

    ‘इबादत’ गीतलाई दर्शकले रुचाएपछि पुनमले अर्को पनि हिन्दी गीत निर्माण गरेकी छन्, जुन दशैंको छेकोमा भारतको ‘टि सिरिज’ कम्पनीको यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।
    मनोरञ्जन क्षेत्रमा मधेशका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर फिल्म र गीत निर्माणमा होमिएकी पुनम नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन् ।
    उनी एक सफल ‘विजनेश वुमन’ पनि हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु