वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मसंस्मरण प्रकाशन हुने

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मसंस्मरण प्रकाशन हुने भएको छ । प्रकाशन संस्था वी रीडले गजमेरको सांगीतिक करिअरका भोगाइ र संस्मरणलाई समेटेर पुस्तक ल्याउन लागेको हो ।

शेखर खरेलले लेखिरहेको गजमेरको बायोग्राफीलाई दुई तीन महिनाभित्र प्रकाशन गर्ने तयारी छ । लेखक खरेलले पुस्तकमा गजमेरको निजत्वलाई समेटिने र दार्जिलिङदेखि सुरु भएको बाल्यकाल हुँदै बलिउड र नेपाली संगीतसम्मको यात्रालाई समेटिने बताए ।

प्रकाशन संस्थाका प्रमुख राजीवधर जोशीले सांगीतिक व्यक्तित्वका कृति नआएको र स्वर्णयुगका पात्रलाई पुस्तकमार्फत लिपिबद्ध गर्ने प्रयास स्वरुप पुस्तक ल्याइने लागिएको बताए । विदेशस्थित नेपालीभाषीलाई पनि पढ्न सजिलो हुने गरी पुस्तक प्रकाशन गरिने उनले जानकारी दिए । विदेशस्थित नेपालीलाई इ–बुक फम्र्याटमार्फत अध्ययनको सुविधा मिलाउने वी रीडको तयारी छ ।

सन् १९६० को दशकमा दार्जिलिङबाट सुरु भएर काठमाडौं हुँदै मुम्बईसम्म पुगेको गजमेरको सांगीतिक यात्रालाई पुस्तकमा उल्लेख गरिनेछ । अम्बर गुरुङ, गोपाल योञ्जन, नारायण गोपाल, शरण प्रधान, जितेन्द्र बर्देवा, तारादेवी, अरुणा लामाको समकालीन कालखण्ड पनि पुस्तकमा उल्लेख हुनेछ ।

प्रकाशोन्मुख पुस्तकका लेखक एवं वृत्तचित्र निर्माता खरेलले लामो समयको अनुसन्धानपछि गजमेरको निजत्वलाई पुस्तकमा उतार्न लागिएको बताए ।

नेपाली मौलिक बाजा मादललाई बलिउडसहित संसारभर चिनाउन गजमेरको योगदान छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु