‘दबंग टुर’का बारेमा सुपरस्टार खान र मन्त्री आलेबीच भर्चुअल संवाद

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७८, बुधबार

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच संवाद भएको छ । आगामी जेठ १४ आयोजना हुन लागेको ‘दबंग टुर’का बारेमा सुपरस्टार खान र मन्त्री आलेबीच भर्चुअल संवाद भएको हो ।

संवादका क्रममा मन्त्री आलेले सुपरस्टार खानलाई ब्रेकफास्टका लागि सगरमाथा लोकप्रिय रहेको बताउँदै माउन्टेन फ्लाइटमार्फत् हवाइ सयर गराउने प्रस्ताव गरेका थिए । जानकारी अनुसार मन्त्री आलेले कोरोनापछि नेपाल पूर्ण रुपमा खुला भइसकेको र पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै सुपरस्टार खानलाई सगरमाथा चढ्नका लागि प्रस्ताव समेत गरेका थिए ।

जवाफमा सुपरस्टार खानले धन्यवाद दिदै आफू पनि नेपालमा पहिलोपटक फिल्म ‘बुलन्द’को सुटिङका क्रममा आएको स्मरण गराएका थिए । उक्त फिल्म दर्शकमाझ रिलिज हुननसकेको पनि उनले बताए । त्यस्तै ‘दबंग टुर’ पनि विभिन्न कारणले स्थगित हुन पुग्दा आफू दुखित् भएको सलमानले बताएका थिए ।

यसैबीच मन्त्री आलेले सुपरस्टार खानलाई नेपालमा आएर फिल्मको सुटिङ गर्नसमेत आग्रह गरेका थिए । जवाफमा सुपरस्टार खानले फिल्मको माग र कथाबस्तु अनुकूल मिलाएर नेपाल आउने बताएका थिए ।
यसका अतिरिक्त सुपरस्टार सलमान खानले आफ्नो आगामी फिल्म ‘टाइगर–३’को बारेमा जानकारी समेत गराएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु