श्रीमान श्रीमतीबीचको इगो प्रवृत्ति ‘सल्युट’

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७६, शनिबार

काठमाडौं । चलचित्र विकास बोर्ड, महिला चलचित्रकर्मी सशक्तिकरण समितिले निर्माण गरेको करिब ३० मिनेटको सर्ट फिल्म ‘सल्युट’ प्रिमियर शो गरिएको छ । प्रमुख अतिथि गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वली लघु चलचित्र हेरिसकेपछि ‘अझै घर–घर पुरुषहरुवीच यस्तो इगोको समस्या भएका बताइन्। समाजलाई समृद्ध बनाउने हो भने यस्ता फिल्म गाउँगाउँमा लगेर देखाइनुपर्छ र त्यो समस्या चिर्नलाई यसले महत्वपूर्ण भूमिका खेल्नेछ, वलिले भनिन् ।’
सल्युट लघु चलचित्रमा श्रीमान्–श्रीमती दुवै प्रहरी पेशामा आबद्ध छन्। दुवै प्रहरी हवल्दार छन् । तर, राम्रो काम प्रदर्शनका कारण श्रीमतीको लगातार दुईपल्ट बढुवा हुन्छ– असईहुँदै सईसम्म हुन्छ तर श्रीमानको तह भने बढुवा नहुँदा श्रीमतीलाई सल्युट गर्न भएको कठिनाइलाई प्रस्तुत गरिएको छ ।

फिल्म हेरिसकेपछि फिल्मप्रति टिप्पणी गर्दै फिल्म निर्देशक विनोद पौडेलले भने– ‘फिल्मले उठाएको कथा राम्रो छ तर प्रस्तुतिकरणमा धेरै मिहनेत गर्नुपर्ने बताए । उनले कथा र पात्रहरुलाई स्वभाविक देखाउन र फिल्मको न्यारेटिभ स्थापित गराउन अझै मेहनत गर्नुपर्ने बताए ।
सल्युटमा ओस्कर फिल्म कलेजका आशुका अर्याल, नेपाल फिल्म एकेडेमीका अम्बिका भण्डारी र मेरोन राजभण्डारी सँयुक्त रुपमा निर्देशन गरेका हुन्। सब्बु सुवेदीको पटकथामा भनेको फिल्ममा एभरेष्ट फिल्म एकेडेमीका संजिता लामा र प्रिया राजकर्णिकारको छायांकन रहेको छ।

आभाष इन्स्टिच्युटकी मनीषा धमालले सम्पादन गरेको फिल्ममा महिला सशक्तिकरण समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले निर्देशनमा सहयोग गरकी छिन्। त्यस्तै जया ओझाले सब्बुलाई स्क्रिप्ट लेखनमा सहयोग गरेकी छन् भने फिल्ममा मोहन चाम्लिङ र शेसुका राई प्रहरी श्रीमान–श्रीमतीको भूमिकामा छन्। उनीहरु अलावा बसन्त रिजाल, चन्द्रा थापा,ओमकृष्ण भण्डारी, विष्णु ठकुरी, भरत रौनियार, एन्जल श्रेष्ठ लगायतको अभिनय छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले महिलालाई फिल्म निर्माणमा सक्रिय बनाउन आफूले महिला शसक्तिकरण समितीमार्फत पहल गरिरहेको बताए।

छायाँकार शबनम मुखिया संयोजक रहेको यस महिला चलचित्रकर्मी सशक्तिकरण समितिमा निर्देशक संगीता श्रेष्ठ, फिल्म लेखक जया ओझा, अभिनेत्री पनाह अधिकारी, रंग पत्रकारहरु रीना मोक्तान, सबिता पोखरेल र गीता अधिकारी सदस्य छन्। त्यस्तै बोर्डका तर्फबाट अधिकृत निर्मला चौलागाई सहभागी छिन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु