‘गाली’ गर्नेहरुबाट ताली र ‘रिप’ लेख्नेहरुबाट सहासी नारीको संज्ञा पाउन थालेकी समिक्षा

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार

समिक्षाको गायनमा जुर्मुराहट, कमेन्टमा सहासी नारीको संज्ञा
सबिता पोखरेल
काठमाडौं । चार वर्षअघि स्वरका माध्यमबाट भाइरल भएकी गायिका हुन् समिक्षा अधिकारी । चलचित्र ‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ गाएपछि उनले व्यावसायिक गायन यात्रा सुरु गरेकी थिइन् । योसँगै समिक्षाको कलाकारिता क्षेत्रले पनि फड्को मा¥यो । त्यतिबेला उनी १४ वर्षकी मात्र थिइन् । पहिलो गीतबाट नै चर्चामा आएकी समिक्षाले त्यसपछि पछाडी फर्केर हेर्नु परेन ।

छोटो समयमा नै गायनको क्षेत्रमा आफ्नो छुट्टै विशेष पहिचान गराउन सफल भइन् । थुप्रै लोकगीत, आधुनिक गीत, दोहोरी गीत तथा तिज गीतहरुमा आफ्नो आवाज दिइन् । ती मध्ये चौतारीमा सोल्टीज्यू, माया मारेर, नबोली नबोली, पछ्यौरी लिस्यो, तिम्रै मायाले, माया देकै हो, हङकङको साडी– २ जस्ता थुप्रै गीतहरु हिट बने । रेकर्डकै हाराहारीमा स्टेज कार्यक्रमहरु पनि गाउन भ्याइन् ।

दुई वर्षअगाडिसम्म नम्बर वान गायिकाको दौडमा थिइन् उनी । उनको गायन यात्रा उत्कर्षमा थियो । भर्सटायल गायन क्षमता भएकाले उनको करिअरले अझ गति लिनेमा सबै ढुक्क थिए । सायद समिक्षाले पनि यस्तै सोचिरहेकी थिइन् । तर यथार्थमा भइदियो उल्टो । गायनमा चम्किरहेकै बेला अचानक उनको करिअरमा मात्र होइन, जीवनमा आँधीबेहरी चल्यो । एकजना चर्चित मोडल तथा नायकसँग उनको नाम जोडियो ।

गायनसँगसँगै मोडलिङमा समेत कौशलता देखाइरहेकै बेला त्यो नाम जोडाईले यति चर्चा पायो कि यो विषय केन्द्रीय समाचार नै बन्यो । अदालतसम्म पुग्यो प्रकरण । पक्ष–विपक्षमा जनताका मत विभाजित भए । अझ भनौं समिक्षाको विपक्षमा अधिकांश जनताले आफ्ना मत जाहेर गरे । यसअघि फ्यान भएकाहरुले समेत उनलाई तथानाम गाली गर्न थाले । पीडितले न्याय पाउन् भन्ने कामना गर्नु त कता हो कता ! क्रुर, अश्लिल र मन खलबलाउने कमेन्ट आउन थाले । समिक्षा नै दोषी हुन् भन्ने ठोकुवा गर्दै ‘रिप’सम्म लेखे । यो विषयलाई सामाजिक सञ्जालमा काण्डकै रुपमा आज पनि चर्चा गरिन्छ । बहस हुने गरेको छ ।

उत्कर्षमा पुगेको उनको करिअरमा सन्नाटा छायो । मेलामहोत्सवका लागि रोजाईमा पर्दै आएकी उनको त्यस्ता प्रस्तुति पनि ठप्प भए । गीत रेकर्ड गर्ने क्रम रोकियो । करिब डेढ वर्ष उनले आफ्नै फ्यानहरुबाट समेत गाली खाइन् । भलै त्यसबखत केहि गीत सार्वजनिक नभएका र नजिकबाट माया गर्नेहरु नपाएकी पनि होइनन् । यहि क्रममा बरिष्ठ गीतकार राजेन्द्र थापाको शब्दमा ‘यस्तो नहोस् कसैलाई’ गीत पनि गाइन् । जसका शब्दमा समिक्षाको मनोभावनालाई केन्द्रीत गरिएको छ । यो गीत सार्वजनिक भएपछि थोरैले कुरा बुझे । उनलाई ढाढस दिनेहरु पनि बढे । तर अश्लिल गाली गर्नेहरु भने रोकिएनन् ।

यो सब भइरहँदा कतिले अब समिक्षाको करिअर सकियो भनेर लख काटे त धेरैले ठोकुवा नै गरे । यस बिचमा उनी अष्ट्रेलिया सुटुक्क उडिन् । तर मिडियामा यो प्रसङ्गले पनि स्थान पायो । पलायन नै हुने भइन् भनेर धेरैले टिप्पणी गरे । तर करिब डेढ महिनाको बसाई पछि नेपाल फर्किन् । यद्यपी गाली खाने क्रम रोकिएन ।

यस घटनाले अवश्य उनी टुटिन् नै । एकातिर आफ्नै फ्यानको समेत गालि अर्कातिर गीतसंगीतको भोक थियो उनीमा । परिस्थितिले संगीतबाट टाढा गराउँदाको भोगाई नमिठो भइरहेको थियो, त्यसैले त उनी फेरि जुर्मुराएकी छिन् गीतसंगीतमा । पछिल्ला दिनहरुमा उनको सक्रियतालाई नियाल्ने हो भने उनी फेरि जुर्मुराउँदैछिन् भन्न सकिन्छ । एक चर्चित टिभी सोमा अन्तर्वार्ता दिएपछि उनको करिअरले पुनः लय समात्न थाल्यो ।

अहिले समिक्षाको गीत रेकर्डिङ गर्ने कर्मले तिब्रता पाएको छ । पछिल्ला दिनहरुमा एकै दिनमा धेरै गीतहरु रेकर्ड भयो भनेर उनले गरेका पोष्टबाट पनि यो प्रमाणित हुन्छ । उनले एकै दिन पाँचवटासम्म गीत रेकर्ड गराउँन थालेकी छन् भने दिनहुँ जसो उनको स्वर रहेका म्यूजिक भिडियोहरु सार्वजनिक हुन थालेका छन् । नाम चलेका र स्थापित संगीतकर्मीहरु समेत सहकार्य गरिरहेका छन् । अहिले उनीलाई नराम्रो कमेन्ट गर्न डराउनेहरु समेत सहकार्य गर्न प्रतिक्षामा छन्, आतुर छन् ।

‘आफ्नो आफ्नो दुःख’, ‘रानी महल’, ‘लैजा सन्देश’ ‘पागल’ ‘भावीले नी’ लगायत उनका पछिल्ला गीत हुन् । गीतमा उत्साहजनक भ्यूज बटुलिरहेकी छिन् । पनि यी गीतहरुको कमेन्टबस्समा उनको विपक्षमा कमेन्ट भेटिंदैन । त्यति मात्र कहाँ होर गालि गर्नेहरुनै ताली बजाउन थालेका छन् । ‘रिप’ लेख्नेहरुले नै सहासी नारीको संज्ञा दिइरहेका छन् । धेरैले लेखेका छन्– ‘समिक्षा बहिनी, तिमी सहासी नारी हौ, उठ्नु पर्छ शुभकामना’ । फेरि आफ्नै लयमा फर्केकी समिक्षालाई यहाँ कलम चलाईरहेको लेखकको तर्फबाट पनि मुरी–मुरी बधाई, तथा आगामी दिनको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु