नेपाली लघुचित्र ‘आइसक्रिम’ ले जित्यो दुई अन्तराष्ट्रिय अवार्ड

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७७, आईतवार

काठमाडौं । निर्देशक संगीता श्रेष्ठको शर्ट फिल्म ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई विधामा अवार्ड जितेको छ । शनिबार घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट बाल कलाकार र सम्पादन गरी दुई विधामा अवार्ड जितेको निर्देशक श्रेष्ठले जानकारी दिइन् । नोभेम्बर ३ देखि ८ सम्म आयोजना भएको फेस्टिभलको पहिलो दिन नै यो फिल्म स्क्रिनिङ भएको थियो ।

‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा बेस्ट फिल्म, बेस्ट डाइरेक्सन र बेस्ट स्क्रिनप्ले विधामा पनि ‘आइसक्रिम’ मनोनयनमा परेको थियो । निर्देशक श्रेष्ठले फिल्मले दुई अवार्ड जितेकोमा खुसी व्यक्त गरेकी छन् । बाल यौन शोषणमाथि आधारित फिल्मले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोल्छ । संगीताका अनुसार, फिल्म २ लाखको बजेटमा निर्माण भएको हो ।

फिल्ममा छोरीहरु यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको र यस किसिमको अपराधबाट बचाउने उद्देश्यले फिल्म बनाएको संगीता बताउँछिन् । यो फिल्म अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल’ मा पनि छनोट भइसकेको छ ।

नौ मिनेट लामो फिल्ममा योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । संगीता श्रेष्ठले फिल्म समेत निर्देशन गरिसकेकी छन् । ‘कथा काठमाण्डू’ बाट उनले फिचर फिल्म निर्देशनमा हात हालेकी थिइन् । यसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । उनी सञ्चारकर्मी समेत हुन् । उनले फिल्मसँगै सयौँ म्यूजिक भिडियो, वृत्तचित्र तथा शर्ट फिल्महरु निर्देशन गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु