• साधना सरगमसँग सन्तोष र हेमको सहकार्य, विश्व शान्ति दिवसको अवसरमा ल्याए ‘शान्ति’

    म्यूजिक खबर
    प्रकाशित: ४ आश्विन २०८०, बिहीबार

    काठमाडौं । चर्चित भारतीय गायिका साधना सरगमको स्वरमा सजिएको नेपाली गीत ‘शान्ति’को भिडियो सार्वजनिक भएको छ ।

    थुप्रै नेपाली गीतमा स्वर दिएकी सरगमले लामो समयपछि नेपाली गीतमा स्वर दिएकी हुन् ।

    नेपाली साहित्यमा लोकप्रियता हासिल गरिसकेका साहित्यकार हेम प्रभासको शब्द रचना रहेको गीतमा प्रसिद्ध संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
    राजु कार्कीले संगीत संयोजन गरेको गीतमा प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

    विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    कार्यक्रममा उपस्थित अतिथिलाई गीतकार तथा निर्देशक हेम प्रभासले शब्दद्वारा स्वागत गरेका थिए ।

    त्यस्तै सम्पूर्ण अथिथिलाई धन्यवाद दिंदै संगीतकार सन्तोष श्रेष्ठले भाषा र भुगोलले कलालाई नबाँध्ने जिकिर गर्दै भने प्रख्यात गायिका साधना सरगमसँग सहकार्य गर्न पाउँदा छुट्टै खुसी मिलेको छ । भाषा र भुगोलको कुनै सीमा हुँदैन जसको प्रतिफल हो – ‘शान्ति’ ।’

    कार्यक्रमका विशेष बक्ता संविधानविद् डा. भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए ।

    त्यस्तै पहिलो नेपाली महिला छायांकार तथा नेपाल टेलिभिजनकी बोर्ड मेम्बर सबनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको बताइन् ।

    गीतको भिडियोमा रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायांकन, टेकेन्द्र शाहको दृश्य सम्पादन र हेमप्रभासकै निर्देशन छ ।

    विश्वभरका मानिसहरूबीच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले बताए ।
    एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतको भिडियोलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु